झापाः झापाको मेचीनगरमा शनिबारबाट शुरु कला साहित्य उत्सवको चौथो संस्करण अन्तर्गत आइतबार विभिन्न शीर्षकम प्यानल डिस्कसन भएको छ ।
प्रणिका कोयुले सञ्चालन गरेको ‘काव्यमा विद्रोह’ शीर्षकको पहिलो प्यानल डिस्कसनमा अतिथिका रूपमा रहेका अभय श्रेष्ठ, गुरुङ सुशान्त र विनोदविक्रम केसीले खुलेरै बहस गरेका थिए । समाजका उत्पीडनमाथि प्रहार गर्नु कविको कर्तव्य भएकाले काव्यमा विद्रोह आवश्यक रहेको ठहर तीनै जनाको थियो ।
उनीहरूले कवितालाई हतियारका रूपमा व्याख्या गरे । काव्यात्मक विद्रोह महिला मुक्ति, दलितको मुक्ति, पितृसतात्मक शासन व्यवथाविरुद्ध भइरहेको ठम्याइ उनीहरूको थियो । १ घण्टाको बहसपछि कवि विनोदविक्रम केसीले लेखक खगेन्द्र सङ्ग्रौलाका विषयमा कोरेको कविता प्रस्तुत गरे ।
सांस्कृतिक र राष्ट्रवाद विषयमा राजेन्द्र महर्जन, डम्बर चेम्जोङ र अर्चना थापाले आ आफ्नो विचार व्यक्त गरेका थिए । उनीहरुले कुनै पनि एउटा जाति, धर्म र सम्प्रदायलाई लक्षित गरेर संविधान लेख्न नहुने तर्क प्रस्तुत गरेका थिए । राष्ट्रवाद निर्वाचनका बेला मात्र लगाइने नारामा मात्र सीमित रहेको उनीहरुको भनाइ थियो ।
त्यस्तै, ‘लोक चित्रकला विमर्श’ विषयक प्यानल डिस्कसनमा विचार राख्दै सरोजा खड्गी, एस सी सुमन र पवन राजवंशीले लोककला चित्र कोर्दा सामान्य चित्रकारका रूपमा हेर्ने संस्कारका कारण लोककला चित्र कोर्न प्रेरणा नमिल्ने गुनासो व्यक्त गरे ।
लोक कला फाटफुट रूपमा कोरे पनि हृदयभित्र प्रवेश नगराएको उनको भनाइ थियो । ‘पर्यावरणको खबर’ विषयक छलफलमा नारायण वाग्ले र रमेश भुसालले तर्क राखेका थिए ।
सरकार र राजनीतिक दलमा नैतिकताको खडेरी लागेका कारण दलालीको प्रभाव बढेको तर्क राम कार्की, विष्णु सापकोटा र अखिलेश उपाध्यायले राखे । निरोज कट्टेल प्रस्तोता रहेको ‘दलालीको दलदल’ शर्षिकको प्यानल डिस्कसनमा बोल्दै उनीहरूले हामीले नयाँ नयाँ संरचनाको आवश्यकता महशुस गरे पनि हामीले नयाँ संरचना भन्नेबित्तिकै नयाँ नयाँ राजनीतिक दल भन्ने मात्र बुझेको तर्क गरे ।
फोटोग्राफर देवेन खरेलले खिचेका चराहरूको उत्कृष्ट फोटो प्रदर्शनी, देही आर्टसले राखेको चित्रकला प्रदर्शनी तथा बुकबस समेत उत्सवको मुख्य आर्कषक बन्यो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले कविता वाचन गरेका थिए ।
उत्सवको तेस्रो दिन सोमबार आज ‘समृद्धि यात्राको सङ्कट’ विषयमा विश्व पौडेल र खगेन्द्र सङ्ग्रौलाले विचार राख्ने छन् । शिव गाउँले, सुबिना श्रेष्ठ र सङ्गीत स्रोताले ‘समाचार, झुटा समाचार र खरिद समाचार’का विषयमा विचार प्रस्तुत गर्ने छन् । सञ्जीव उप्रेती, भाष्कर गौतम र अमिना सिहंले ‘समाज विज्ञान र मानविकीको सङ्कट’का विषयमा बहस गर्ने छन् । प्रस्तोताका रूपमा सुप्रिया मानन्धर रहनेछिन् ।
सञ्जु साम्पाङले सञ्चालन गर्ने ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’का बारेमा सिके लाल र खगेन्द्र सङ्ग्रौलाले तर्क प्रस्तुत गर्ने आयोजक संस्थाका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताए । ‘पुरुषको मुक्ति कसरी’ भन्ने विषयमा प्रणिका कोयू, आहुति र सीमा आभासले विचार राख्नेछन् भने प्रस्तोताका रूपमा भावना ओली रहनेछिन् ।
अन्त्यमा ‘प्रेम र यौनः पहेली अनेक’ विषयमा प्रदीप गिरीले विचार राखेपछि यस वर्षको कला साहित्य उत्सव सम्पन्न हुने बताइएको छ ।



















