इटहरी / सेयरबजारमा प्रायःजसो लगानीकर्ताले एउटा मनोवैज्ञानिक रेखा बनाएका हुन्छन् । बजारको अवस्था हेरेर त्यस्तो मनोवैज्ञानिक रेखाको तय लगानीकर्ताले गर्ने गरेका हुन्छन् । बुधबारको बजारमा नेप्से सूचक र कारोबार रकम दुवैले लामो समयपछि मनोवैज्ञानिक रेखा पार गरेका हुन् ।
बजार तल्लो बिन्दुमा आएको समयमा लगानीकर्ताले बनाएको मनोवैज्ञानिक रेखा भनेको नेप्से सूचक १२०० र कारोबार रकम २० करोड रुपैयाँ हो । साउन महिनाभर नेप्से सूचक र कारोबार रकम यही रेखाकै वरीपरी घुमेको थियो । यो रेखा पार गरेकाले बजार बढ्ने अनुमान धेरै लगानीकर्ताको छ । तर, पुराना र अनुभवी लगानीकर्ता भने बजारको अवस्था हेर्न कम्तीमा पनि १ साताको बजारको प्रवृत्ति हेर्नुपर्ने बताउँछन् ।
साढे २ प्रतिशतले बढ्यो सूचक
नेप्से सूचक बुधबार २८.७३ अङ्कले बढेर १२०९.७१ अङ्कमा पुगेको छ । समग्रमा बजार २.४३ प्रतिशतले बढेको हो । कुल १ सय ६५ कम्पनीको ३६ करोड ४१ लाख ३३ हजार ९ सय ३५ रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो दिनको भन्दा झण्डै दोब्बर हो । मङ्गलबार १८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
साउनभरको औसत कारोबार दैनिक २० करोड रुपैयाँ हाराहारीमा थियो । बुधबार १० लाख ७९ हजार ६६ कित्ता सेयर ५ हजार ९ सय २ पटक किनबेच भएका थिए ।
सबै सूचकमा हरियाली
व्यापार बाहेका नेप्सेमा बुधबार १० वटा समूहको सेयर कारोबार भएकामा सबै समूहमा हरियाली छाएको हो । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ३.५६ प्रतिशतले बढ्दा सबैभन्दा कम बढ्ने फाइनान्स समूहको सूचक १.५१ प्रतिशतले बढेको थियो ।
कारोबारमा नबिल अघि
कारोबार रकममा नबिल बैंकले अग्रता लिएको छ । नबिलको १ करोड ६४ लाख ८१ हजार २ सय ९५ रुपैयाँको सेयर कारोबार हुँदा कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक सेयर १ करोड ६० लाख रुपैयाँको कारोबार हुन पुग्यो । तेस्रो स्थानमा रहेको निबल बैंकको संस्थापक सेयर १ करोड ५९ लाख ६७ हजार ५ सय ७८ रुपैयाँको किनबेच हुन पुग्यो । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीमध्ये ९ वटा बैंक समूहका कम्पनी हुँदा एउटा कम्पनी बीमा समूहको रहेको छ ।
धेरै कमाउने र गुमाउने दुवैमा लघुवित्त
बुधबारको बजारमा सबैभन्दा धेरै मूल्य बढ्ने र धेरै मूल्य घट्नेमा लघुवित्त कम्पनी परेका छन् । स्वरोजगार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.६६ प्रतिशतले बढ्दा वोमी माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
हिमालयन डिस्टिलरीको सेयरमूल्य ७.९७ प्रतिशतले बढ्दा तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.३१ प्रतिशतले बढेको छ । यसरी हेर्दा सेयरमूल्य बढ्ने मुख्य ३ कम्पनीमा लघुवित्त, उत्पादनमूलक र होटल समूह परेका छन् । मूल्य बढ्ने कम्पनीको चौथो नम्बरमा भने जलविद्युत समूहको हिमालय पावर पार्टनर परेको छ । सो कम्पनीको ६.४३ प्रतिशतले सेयरमूल्य बढेको छ ।
वोमीको १० प्रतिशत सेयरमूल्य घट्दा अर्काे लघुवित्त आरम्भ माइक्रोफाइनान्सको सेयरमूल्य २.११ प्रतिशतले घटेको छ । मल्टीपर्पाेज फाइनान्सको सेयरमूल्य २.०६ प्रतिशतले घट्दा खानीखोला हाइड्रोपावरको सेयरमूल्य १.८५ प्रतिशतले घटेको छ । मूल्य घट्ने कम्पनीतर्फ पहिलो र दोस्रो नम्बरमा लघुवित्त समूहका कम्पनी हुँदा तेस्रो नम्बरमा वित्त (फाइनान्स) समूह र चौथो नम्बरमा जलविद्युत समूहको कम्पनी परेका छन् ।
सेयर सङ्ख्याका ९ कम्पनी बैंकिङ समूहका
सेयर सङ्ख्याका आधारमा उत्कृष्ट १० कम्पनीमध्ये १० औं स्थानमा रहेको ओम डेभलपमेन्ट बैंकबाहेक सबै कम्पनी बैंकिङ समूहका रहेका छन् । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै ८० हजार कित्ता किनबेच हुँदा मेघा बैंकको सेयर ४७ हजार ७ सय ८१ कित्ता कारोबार भएको छ । ग्लोबल आइएमइ बैंकको सेयर ४१ हजार ८ सय २५ कित्ता कारोबार भएको छ ।
कारोबार सङख्यामा आरम्भ अघि
लगातार १० प्रतिशतले सेयरमूल्य बढ्दै आएको आरम्भ माइक्रोफाइनान्सको सेयरमूल्य बुधबार पनि केही बढे पनि अन्ततः झण्डै ९ प्रतिशतले घटेको थियो । पछि सम्हालिँदै जाने क्रममा सो कम्पनीको धेरै पटक कारोबार भएको छ । अधिकांशसँग आइपिओमात्रै रहेको र बिक्री चाप बढेको हुनाले सो कम्पनीको धेरै पटक कारोबार भएको थियो ।
आरम्भको ८ सय ३८ पटक कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको १ सय ९६ पटक र कृषि विकास बैंकको १ सय ७९ पटक कारोबार भएको थियो । धेरै पटक कारोबार हुने अन्य कम्पनीमा मेघा बैंक, रैराङ हाइड्रोपावर, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, प्रिमियर इन्स्योरेन्स र वोमी माइक्रोफाइनान्स परेका छन् ।
सूचक बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ३९ अर्ब कायम भएको छ । जुन अघिल्लो दिनको भन्दा ३४ अर्ब बढी हो ।