विराटनगरः चौतर्फी विरोध र आलोचनाका बाबजुद विराटनगरमा भ्यु टावर बन्ने पक्का भएको छ । विराटनगर विमानस्थलले अनुमति प्रदान गरेपछि कम उचाइमै भए पनि भ्यु टावर बन्ने निश्चित भएको हो ।
महानगरभित्र सञ्चालित एक दर्जन बढी ठूला योजनामध्ये टावरलाई महत्वकांक्षी योजनामा राखेर काम अघि बढाइएको मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार विराट राजाको दरबार निर्माणपछि भ्यु टावर मुख्य प्राथमिकतामा परेको छ । गत कात्तिक १८ गते सङ्घीय सरकारका मन्त्री लालबाबु पण्डित, प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले सामुहिक शिलान्यास गरेको १ सय १० मिटर अग्लो भ्यु टावर आलोचनाको शिकार भएको थियो ।

नगरले अतिआवश्यकीय क्षेत्रमा लगानी गर्नुको साटो कम प्राथमिकताको विषयमा ठूलो लगानी गर्न खोज्नु लोककल्याणकारी कार्य नभएको धेरैको तर्क थियो । विमानस्थलसँगको अनुमतिबिना नै बनाउन खोजिएको उक्त टावर बन्न हो कि नबन्ने भन्ने अन्योल पनि थियो ।
नागरिक उड्ययन प्राधिकरण विराटनगरले पनि विमानस्थलबाट नजिकैको दूरीमा बन्ने यति अग्लो टावरले प्रत्यक्ष असर पुग्ने भन्दै तत्काल निर्माण कार्य अघि नबढाउन लिखित पत्रचार नै गरेको थियो । क्षमता बिस्तारमा लागि परेको विमानस्थल प्रशासनले पर्याप्त समन्वय नगरी गरिएको शिलान्यासप्रति असन्तुष्टि राख्दै आएको छ । विमानस्थल प्रमुख टेकनाथ सिटौलाले भने, ‘एयर ट्राफिकमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गरेर नै हामीले महानगरलाई निश्चित उचाइ लिएर मात्र बनाउन भनिसकेका छौं ।’

विमानस्थललाई जानकारी नै नदिई संवेदनशील क्षेत्रमा अग्लो टावर शिलान्यास गरिएको बारे असहमति जनाउँदै विमानस्थलले माथिल्लो निकायलाई पत्रचार गरी जानकारी गराएको थियो । तत्काल उड्ययन प्राधिकरणले प्राविधिक रूपमा जाँचबुुझ गर्दा ४० मिटर नबढाई टावर बढाउन अनुमति प्रदान गरेको छ । १ सय १० मिटर बनाउने भनी शिलान्यास गरिए पनि मेयर पराजुलीले भने ४५ मिटर मात्र अग्लो हुने गरी बनाउने तयारी गरिएको जानकारी दिएका छन् ।

विराटनगर– ३ स्थित सत्यनारायण मन्दिरको १ बिघा ७ कठ्ठा जमिनमा बन्ने टावरको लागत झण्डै ४ अर्ब रुपैयाँ रहेको बताइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार, महानगरपालिका र व्यवसायीको समेत लगानी रहेको उक्त टावरबाट १० वर्षमा लगानी उठाउने महानगरको लक्ष्य छ ।

कमर्सियल भ्यु टावरमा विभिन्न वित्तीय संस्था, स्पोर्टस जोन, किड् जोन, सुविधा सम्पन्न रेस्टुरेन्ट, सांस्कृतिक सङ्ग्रहालय र सबैभन्दा माथिल्लो भागमा भ्यु टावर हुने बताइएको छ । जसका लागि अहिले डीपीआर निर्माणको कार्य शुरु भएको मेयर पराजुलीले जानकारी दिएका छन् ।