इटहरी / साउन महिनाको अन्तिम दिनको सेयर कारोबारमा नेप्से र कारोबार रकम दुवैमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक सामान्य बढेको छ भने कारोबार रकम अघिल्लो दिनको भन्दा २५ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स भने झिनो अङ्कले तल झरेको छ ।

नेप्से बढ्यो, सेन्सेटिभ घट्यो
बजार खुलेको १० मिनेटमा झण्डै ९ अङ्कले बढेको नेप्से इन्डेक्स त्यसपछि घट्न थालेको थियो । घट्ने क्रममा अघिल्लो दिनको भन्दा ६ अङ्क तल झरेको इन्डेक्स बिस्तारै सम्हालिँदै हरियो भए पनि पुनः रातो भएको थियो । बजार बन्द हुन १ मिनेट बाँकी छँदा झिनो अङ्कले बढेर सूचक हरियो भएको हो । नेप्से सूचक ०.६१ अङ्कले बढेर १२१०.३२ अङ्कमा पुगेको छ । समग्रमा बजार ०.०५ प्रतिशतले बढेको हो ।
सेन्सेटिभ इन्डेक्स भने ०.०२ अङ्कले घटेर २५५.३८ अङ्कमा अडिएको छ । बिहीबार १ सय ६६ कम्पनीको ४५ करोड ५२ लाख ४३ हजार ७ सय ८५ रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार १ सय ६५ कम्पनीको ३६ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार १३ लाख ६१ हजार ६ सय २७ कित्ता सेयर ६ हजार ४ सय ४१ पटक किनबेच भएका छन् । कारोबार सङ्ख्या र सेयर सङ्ख्या दुवै अघिल्लो दिनको भन्दा बढी हो ।

२ सूचकमा हरियाली
बैंकिङ र उत्पादनमूलकबाहेक बाँकी ९ समूहका सूचक ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.६० प्रतिशतले बढ्दा बैंकिङ समूह ०.०४ प्रतिशतले मात्रै बढेको छ । सबैभन्दा धेरै व्यापार समूह १.७८ प्रतिशतले तल झरेको छ ।

कारोबारमा इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर अघि
कारोबार रकममा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । सो कम्पनीको १ करोड ८९ लाख ९२ हजार ३ सय ५ रुपैयाँको सेयर किनबेच भएको छ । एनएमबि बैंकको १ करोड ६७ लाख ९१ हजार ७ सय ४ रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको १ करोड ६६ लाख ४८ हजार ६ सय ८७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीमध्ये ६ वटा बैंक समूहका ३ वटा बीमा समूहका र एउटा उत्पादनमूलक समूहको कम्पनी परेको छ ।

कमाउने र गुमाउनेमा उत्पादनमूलक समूहका कम्पनी
बिहीबारको बजारमा उत्पादनमूलक समूहका दुइटा कम्पनीको सेयरमूल्य ८ र ६ प्रतिशतभन्दा धेरैले बढ्दा एउटा कम्पनीको भने साढे ७ प्रतिशतले ओरालो लागेको छ । अघिल्लो आर्थिक वर्षको राम्रो वित्तीय विवरण सार्वजनिक भएपछि बोटलर्स नेपाल तराईको सेयरमूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ७५ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाली सेयरबजारको सबैभन्दा महङ्गो सेयरमूल्य भएको कम्पनी युनिलिभर नेपालको सेयरमूल्य पनि ६.११ प्रतिशतले बढेर प्रतिकित्ता २३ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ ।
त्यस्तै कर्पाेरेट डेभलपमेन्टको सेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता १ सय ६ रुपैयाँ हुँदा राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य ५.०८ प्रतिशतले बढेर १० हजार २ सय ९८ रुपैयाँ पुगेको छ ।
ललितपुर फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ९.५८ प्रतिशतले घटेर १ सय ५१ रुपैयाँ कायम हुँदा उत्पादनमूलक समूहको हिमालयन डिस्टिलरीको सेयरमूल्यमा ७.५२ प्रतिशतले गिरावट आएको छ । अघिल्लो दिन यो कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको थियो । नेपाली सेयरबजारको सबैभन्दा कम सेयरमूल्य भएको र आइपिओभन्दा तल मूल्य रहेको एक्लो कम्पनी नेशनल हाइड्रोपावरको सेयरमूल्य ४.७६ प्रतिशतले घटेर प्रतिकित्ता ८० रुपैयाँ सेयरमूल्य कायम भएको छ ।

बढी सेयर कारोबार हुने १० मा ९ कम्पनी बैंकिङ समूहका
सेयर सङ्ख्याका आधारमा उत्कृष्ट १० कम्पनीमध्ये ९ कम्पनी बैंकिङ समूहका परेका छन् । बुधबार दसौं स्थानमा रहेको ओम डेभलपमेन्ट बैंक भने धेरै कित्ता सेयर कारोबार हुने कम्पनी
मेघा बैंकको सबैभन्दा धेरै ५८ हजार १ सय ४५ कित्ता सेयर कारोबार हुँदा एनएमबि बैंकको ५१ हजार ३ सय ४१ कित्ता र जनता बैंकको ४७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार सङख्यामा आरम्भ अघि
बुधबार झैं कारोबार सङ्ख्याका आधारमा आरम्भ माइक्रोफाइनान्स नै बिहीबार पनि अघि आएको छ । आरम्भको ३ सय ६९ पटक कारोबार भएको छ । बुधबार भने सो कम्पनीको ८ सय ३८ पटक कारोबार भएको थियो । अघिल्लो दिनझैं नेपाल लाइफ इन्स्योरेन्स नै दोस्रो स्थानमा परेको छ । सो कम्पनीको १ सय ९० पटक कारोबार भएको थियो जुन अघिल्लो दिनको भन्दा ६ पटक कम हो । धेरै पटक कारोबार हुने कम्पनीको तेस्रो सूचीमा प्राइम कमर्सियल बैंक परेको छ । सो कम्पनीको १ सय ८७ पटक सेयर किनबेच भएको थियो ।
सूचक बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४० अर्ब कायम भएको छ । जुन अघिल्लो दिनको भन्दा १ अर्ब मात्रै बढी हो ।