विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा पर्ने बर्जु तालको हिजो निरीक्षण गरेका छन् । बर्जु ताललाई प्रदेश नं १ को पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उनले त्यस क्रममा बताए ।

आगामी जेठ १५ गते अगाडि गुरुयोजना पेश गरी बजेट विनियोजन गर्ने उनले बताए । विश्वको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा बर्जु ताललाई विकास गरिने पनि उनले उद्घोष गरे ।

प्रधानमन्त्री ओलीले बर्जु तालसम्म पुग्ने सडक निर्माण गर्ने र ताल क्षेत्रमा हरियाली बनाई मनोरञ्जन स्थलका रूपमा विकास गरिने बताए ।

तालको वरिपरि रहेको ५१ बिघा जग्गा अधिग्रहण गरी प्रदेशको रमणीयस्थलको विकास गरी स्थानीय जनताको आर्थिक उन्नतिमा तालले सहयोग गर्ने उनको विश्वास थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य भगवती चौधरीले यस क्षेत्रलाई विशेष औद्योगिक क्षेत्र करिडोरको रूपमा गुरुयोजना तयार गरी जनतालाई रोजगारी उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गरेकी थिइन् । सो अवसरमा बर्जु ताल विकास समितिका अध्यक्ष वालिम चौधरीसहित ४ सय जना विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

बर्जु ताल विकास समितिका सचिव विबटसिंह श्रेष्ठले वि.सं २०७३ मा नेपाली सेनाले तालको समुचित व्यवस्थापनका लागि रु ३ करोड ६५ लाख खर्च गरेको बताए । सो ताल १ सय ५३ बिघामा फैलिएको छ । हिउँदमा दैनिक १ हजार बढी स्वदेशी विदेशी नागरिकले तालको अवलोकन गर्ने गरेका छन् ।

तालमा घुम्नका लागि १५ डुङ्गासहित बाल मनोरञ्जनस्थल, वनभोजस्थल आदिको व्यवस्था गरिएको छ । उक्त ताल विराटनगर महानगरपालिकाबाट १२ किलोमिटर पश्चिम सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ चिमडीमा रहेको छ । तालको एक फन्को लगाउन पैदल एक घण्टा लाग्छ ।