इटहरी/ अघिल्लो साता बढेको सेयर बजार मापक नेप्से सूचक आइतबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । सूचक १४ अङ्कले घटेर लगानीकर्ताको मनोवैज्ञानिक रेखाभन्दा तल झरेको छ ।
अघिल्लो साता बजार बढेकाले नाफा बुक गर्ने अल्पकालीन कारोबारी बजारमा हाब हुँदा सूचक घटेको अनुमान गरिएको छ । सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
बजार खुलेदेखि नै घट्न थालेको नेप्से आइतबार १४.०३ अंकले घटेर ११९६.२९ को बिन्दुमा आइपुगेको छ । नेप्से सचक १.१६ प्रतिशतले घटेको छ । आइतबार १ सय ६० कम्पनीको ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँको ४ हजार १ सय ६० कित्ता सेयरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका कुनै सूचकमा पनि हरियाली छाउन सकेन । ५० प्रतिशत हकप्रदको सूचना जारी गरेपछि सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ४५ लाख बराबरको कारोबार भयो । बजार खुल्नासाथ सो कम्पनीको सेयरमूल्य ८ प्रतिशतसम्म बढे पनि बजार बन्द हुँदा भने साढे १ प्रतिशतले मात्रै बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको सूचक १.५३ प्रतिशतले घट्दा सबैभन्दा कम अन्य समूहको सूचक ०.७९ प्रतिशतले मात्रै घटेको छ ।
ग्रामीण विकासको धेरै कारोबार
कारोबार रकममा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था अग्रस्थानमा छ । सो कम्पनीको ३ करोड ४५ लाख ७६ हजार ३ सय ४ रुपैयाँको सेयर किनबेच हुँदा ओम डेभलपमेन्ट बैंकको २ करोड ४९ लाख १५ हजार २ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ । नबिल बैंकको संस्थापक समूहको सेयर १ करोड ४६ लाख ८० हजार ४ सय ८५ रुपैयाँको किनबेच भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकको कारोबार रकमले पनि करोडको अङ्क नाघेको छ ।
कमाउनेमा खानीखोला
खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.७१ प्रतिशतले कमाउँदा स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.२१ प्रतिशतका दरले र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.१० प्रतिशतका दरले सम्पत्ति कमाएका छन् ।
नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५.३७ प्रतिशतले गुमाउँदा आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले र साइन रेसुङ्गाका लगानीकर्ताले ४.५६ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् ।
सेयर सङ्ख्यमा ओम विकास बैंक अघि
आइतबार सेयर सङ्ख्याका आधारमा ओम डेभलपमेन्ट बैंक अघि आएको छ । सो कम्पनीका १ लाख २७ हजार ३ सय ८४ कित्ता सेयर कारोबार हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५९ हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ । ओमको संस्थापक सेयर ४५ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएको थियो ।
कारोबार सङ्ख्यामा ग्रामीण विकास अघि
कारोबार रकममा पहिलो र सेयर सङ्ख्यामा दोस्रो स्थानमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था कारोबार सङ्ख्यामा अघि देखिएको छ । सो कम्पनीको २ सय ३५ पटक कारोबार भएको छ । कारोबार रकममा दोस्रो र सेयर सङ्ख्यामा पहिलो रहेको ओमको पनि २ सय ३५ पटक नै सेयर कारोबार भएको छ । नबिल बैंकको १ सय ३४ पटक कारोबार हुँदा मेघा बैंकको १ सय २३ पटक कारोबार भएको छ ।