विराटनगरः चालु हिउँदे अधिवेशनमा पर्यटन विधेयकमाथि छलफल जारी छ । प्रदेश १ संसदमा पेस भएको विधेयकमाथि बोल्ने सांसदले पर्यावरण जोगाउने कुरालाई महत्त्वको साथ उठाएका छन् ।
बिहीबारको संसद् बैठकमा बोल्ने सांसदहरूले हिमऋङखलाको महत्त्व झल्काउँदै सर्वोच्च शिखर सगरमाथामा फोहोरकाे थुप्राे लाग्दै गएकोप्रति ध्यानाकर्षण गराए । सांसद झलकसिंह दर्लामीले पर्यटन विधेयकमा हिमालको स्वच्छतालाई ध्यान दिने कुरा पनि समेट्न आग्रह गरेका छन् । ‘अहिले हिमालमा लास थुप्रिएको छ, सगरमाथाको वैभवलाई सामान्य नसोचौं ।’ उनले भने ।
सांसद दर्लामीले विग्रदो पर्यावरण जोगाउन सङ्घ, प्रदेश एवंम स्थानीय सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । सरकारको विशेष ध्यान जान नसकेको भन्दै यस्ता गम्भीर विषयमा विभिन्न समितिमा दफावार छलफल आवश्यक रहेको औँल्याए ।
सांसद शेखरचन्द्र थापाले हिमालको हिउँ पग्लेर रित्तिन लागेको भन्दै सरकारले यस बारे चिन्ता व्यक्त गर्नुपर्ने बताए । उनले कसरी प्राकृतिक सम्पदालाई जोगाइ राख्न सकिन्छ भन्ने बारे योजना बनाउनुपर्ने राय व्यक्त गरेका छन् । उनले प्राकृतिक स्रोतलाई खेर जान नदिन चिनेको ह्वाङ्गो नदीबाट सिक्नुपर्ने बताए । भने–‘अरूले नदीबाट पैसा कमाइरहेका छन्, हामीले कोसी जस्ता नदीको पानी खेर जान दिइरहेका छौँ ।’
विधेयकमाथि बोल्ने सांसदहरूले प्रदेश १ पर्यटनको अथाह सम्भावना बोकेको ठाउँ भएको हुँदा नियमनकारी नीति भन्दा पनि प्रवद्र्धनात्मक विधेयक आवश्यक रहेको औँल्याए ।
सांसदहरू शिवनारायण गनगाई र जयराम यादवले लोप उन्मुख भाषा, साहित्य, भोषभुुषालाई पनि संरक्षण गर्दै पर्यटन केन्द्रित गर्नुपर्ने राय राखे । विधेयकमाथिको छलफल अझै जारी छ । अर्को बैठक भोलि शुक्रवार १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् ।