इटहरीः शुक्रबारबाट सङ्घीय राजधानी काठमाडौंमा शुरु भएको लगानी सम्मेलनमा प्रदेश १ बाट विभिन्न ५ परियोजनाहरूमा २ वटा पर्यटकीय प्रोजेक्ट परेको भन्दै प्रदेश १ का पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
लगानी सम्मेलनमा प्रदेश १ बाट ४१ मिलियन अमेरिकी डलरको इटहरीको तालतलैया थिम पार्क विथ होटल, ५ दशमलव ४५ मिलियन अमेरिकी डलरको उर्लाबारी मोरङको एकीकृत कृषि पूर्वाधार परियोजना र ३ सय ७३ मिलियन अमेरिकी डलरको ४ सय ३० दशमलव २४ बिघामा बन्ने विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
यस्तै, पूर्वी पहाडी जिल्लाबाट दुइ परियोजनाहरू सरकारले लगानीकर्तासँग प्रस्ताव गरेको छ । जलविद्युत क्षेत्रमा प्रस्ताव गरिएका यी दुइ परियोजनामा १ हजार २ सय १७ दशमलव ४ मिलियन अमेरिकी डलरको ७ सय २६ मेगावाटको तेह्रथुम र पाँचथरमा पर्ने तमोर जलाशययुक्त जलविद्युत परियोजना र १ हजार ३ सय मिलियन अमेरिकी डलरको ६ सय ७९ मेगावाटको सङ्खुवासभा र भोजपुरमा पर्ने तल्लो अरुण विद्युत् परियोजना रहेका छन् ।
सरकारले प्रस्तुत गरेका ७ क्षेत्रका विभिन्न ७७ परियोजनाहरूमा प्रदेश १ का ५ परियोजनाहरू परेका छन् । यी सबै ५ परियोजनाको एकमुष्ट रकम २ अर्ब ९३ करोड ६८ लाख ५० हजार अमेरिकी डलर रहेको छ । एक अमेरिकी डलर बराबर हाल १ सय १० दशमलव ९४ नेपाली रुपैयाँको विनिमय दर रहेको छ । जसको नेपाली बजेट ३ खर्ब २५ अर्ब ८१ करोड ४१ लाख ३९ हजार नेपाली रुपैयाँ हुन्छ ।
दुई पर्यटन परियोजना प्रस्ताव गएकोमा व्यवसायी उत्साहित
काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४१ मिलियन अमेरिकी डलरको इटहरीको तालतलैया थिम पार्क विथ होटल र ३ सय ७३ मिलियन अमेरिकी डलरको ४ सय ३० दशमलव २४ बिघामा बन्ने विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्ताव परेको भन्दै व्यवसायी उत्साहित भएका हुन् । यसरी विश्वभरका लगानीकर्तामा गरिएको प्रस्तावले नतिजा ल्याउनेमा आफूहरू आशावादी रहेको पनि प्रदेश १ का पर्यटन व्यवसायीहरूले बताएका छन् ।
धरानका पर्यटन व्यवसायी बासुदेव बरालले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पूर्वी एशिया र सार्क राष्ट्रका देशहरूसँग प्रदेश १ को सहज हवाइ पहुँच हुने बताए । भुटानको पारो विमानस्थल, सिक्किमको पाक्योङ तथा कोलकाता तथा पटनामा सहज उडान हुने र पर्यटमकीय चहलपहल बढ्ने उनले बताए ।
इटहरीका पर्यटन व्यवसायी तथा पर्यटन विषयमै स्नातकोत्तर गरेका सुनिल भुसालले इटहरीमा थिम पार्क सहितको होटल र विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्यटन क्षेत्रमा उत्साहित खबर भएको बताए । उनले भने, ‘हाम्रो प्रदेश १ मा पर्यटकीय चहलपहल ल्याउन यी दुवै परियोजना अपरिहार्य छन ।’ स्थानीय सरकार र अन्य कानुनी अड्चन तथा स्थानीय सरकारका कारणले लगानी गर्न असहजता नहुने हो भने लगानीको प्रतिफल भने यी दुवैबाट उठ्ने भुसालले बताए ।
विराटनगरका पर्यटन व्यवसायी तथा विराट असोसिएसन अफ ट्राभल एजेन्टका अध्यक्ष समेत रहेका फणिन्द्र अधिकारीले प्रदेश १ बाट दुई मेगा प्राजेक्ट लगानी सम्मेलनमा पर्नु राम्रो भएको बताए । विराटनगरबाट विदेशी उडान हुँदा प्रदेश १ मा धेरै पर्यटकीय चहलपहल हुने तथा माउन्टेन फ्लाइटको व्यापार पनि बढ्ने अधिकारीले बताए ।
केही महिनाअगाडि विराटनगरबाट व्यावसायिक माउन्टेन फ्लाइटको लागि यति एयरको जहाज चार्टर गरेर नेतृत्व गर्नेहरूका एक सदस्य अधिकारीले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि माउन्टेन फ्लाइटको व्यापार पनि बढ्ने बताए ।
उनले भने, ‘इटहरीको तालतलैयाको थिमपार्क र विराटनगरको अन्तर्राष्ट्रिय विमानस्थल दुवैले प्रदेश १ को पर्यटकीय आवागमन र गतिविधिहरूलाई बढावा दिनेछन् ।’