सङ्खुवासभाः सङ्खुवासभाको भोटखोला गाउँपालिका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो । त्रिदेशीय नाकाको रूपमा लिइएको किमाथाङ्का नाकाका कारण भोटखोला गाउँपालिका राज्यको पहिलो नजरमा परेको छ ।

तर, विषयगत रूपमा रहेको आधारभूत विकासका कार्यहरू नहुँदा भोटखोलाबासी राज्यको पहुँचबाट टाढा बस्नुपरेको छ । विशेषगरी यहाँका स्थानीयहरू सडक सञ्जालले नजोडिँदा यातायात तथा ढुवानी सेवाबाट वञ्चित हुनु परेको त छ नै आधारभूत स्वास्थ्य सुविधा समेत नपाउँदा राज्यबाटै उपेक्षा गरिएको महसुस गर्ने गर्छन् ।

विभिन्न समयमा देशमा भएको व्यवस्था परिवर्तनले देशका कुनाकाप्चासम्म राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा व्यापक परिवर्तन आयो । तर भोटखोला गाउँपालिका क्षेत्रले यो परिवर्तनको अनुभव नै गर्न सकेको छैन । यहाँका बासिन्दाले न त छिमेकी राष्ट्र चीनबाट आधारभूत सेवा लिन सके । स्वास्थ्य सेवा लिन भोटखोलावासीले काठमाडौं पुग्नुपर्छ र लाखौं रुपैंया खर्च गर्नुपर्ने बाध्यताका कारण घरखेत बेच्नुपर्ने अवस्था रहेको डुक्पा थिकेपा भोटेले बताए ।

बिरामीले उपचार सुविधाका लागि स्वास्थ्य केन्द्रमा पुग्न हेलिकप्टरका लागि खर्च गर्नुपरेको छ । मौसम प्रतिकूल भएको बेला यो सेवा पनि भरपर्दो हुँदैन । मौसम अनुकूलता र आर्थिक क्षमताका आधारमा हेलिकप्टर सेवा लिन सकिन्छ । तर दुवैमध्ये एक मात्र अवस्था भएमा यो सेवा भरपर्दो हुँदैन, वाङ्जुक भोटेले बताए । आर्थिक क्षमता भएकाले बिरामी पर्दा हेलिकप्टर चार्टर गर्छन् ।


तर, यहाँ उडान निषेधित क्षेत्र भएकाले उडान भर्न अनुमति लिनुपर्ने प्रक्रिया भने झन्झटिलो छ । जसले गर्दा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको हेलिकप्टर व्यवसायी मिङ्मा शेर्पाले बताए ।
विगत ५ वर्षदेखि हवाई एम्बुलेन्सको रूपमा काम गर्दै आएका मिङ्माले हालसम्म यस क्षेत्रबाट ३० जनाभन्दा बढी बिरामीको उद्धार गरिसकेका छन् । सडक सञ्जाल नजोडिएका कारण स्थानीयहरूको हेलिकप्टर चार्टर गुर्नपर्ने बाध्यता छ । तर निषेधित क्षेत्रका कारण समयमा बिरामी उद्धार गर्न पनि समस्या भएको छ । तर उद्धार गर्ने कुरामा उडान अनुमति प्रक्रिया छिटो समयमा उपलब्ध गराउनुपर्ने हेलिकप्टर व्यवसायी बताउँछन् ।

किमाथाङका भ्रमणमा देशका प्रभावशाली नेता तथा निकाय पुगिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व अर्थमन्त्री रामशरण महत लगायतका दर्जनौं नेताले उक्त क्षेत्रको भ्रमण गरिसकेका छन् । उनीहरू आएर पटकपटक सडक र किमाथांका नाका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् जसलाई भोटखोलाबासीहरूले अझै बिर्सेका छैनन् ।

अहिले सङ्खुवासभाबाट प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी ६ जना सांसदहरू निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरूले भोटखोलामा स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुलीबत्तीलाई प्राथमिकता दिनेछौं भनेर निकै आशावादी बनाएका थिए । तर ती चुनावी एजेण्डा र नारामा मात्र सीमित भए ।