इटहरीः सेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा १० अङ्कभन्दा बढीको गिरावट आए पनि अन्तिम ५ मिनेटमा भने ४ अङ्कले बजार बढेको थियो ।
कारोबार रकम र नेप्से सूचक दुवै तल झर्नुमा अल्पकालीन कारोबारी हाबी भएको अनुमान गरिएको छ । बजारको यस्तो गतिका कारण नयाँ र साना लगानीकर्ता अलमलमा परेका छन् ।
१ सय ६० कम्पनीको ६ लाख कित्ता कारोबार
नेप्से सूचक सोमबार ८.२२ अङ्कले घटेर ११८८.०७ अङ्कमा आउँदा समग्रमा बजार ०.६९ प्रतिशतले तल झरेको हो । कुल १ सय ६० कम्पनीको २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको सेयर सोमबार कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १० करोड कम हो । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक राताम्मे भएको बजारमा ६ लाख ३ हजार १ सय २ कित्ता सेयर किनबेच भएका थिए ।
उत्पादनमूलक समूह ०.५१ प्रतिशतले बढ्दा सबैभन्दा धेरै जलविद्युत समूह १.६९ प्रतिशतले झरेको छ । सबैभन्दा कम घट्ने सूचकमा होटल परेको छ । सो समूहमा ०.२८ प्रतिशतको मात्रै गिरावट आएको छ ।
कारोबार करोड नघाउनेमा इन्भेस्टमेन्टको संस्थापक सेयर
कारोबार रकममा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । सो कम्पनीको १ करोड ८९ लाख ६६ हजार ६ सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक परेका छन् । इन्भेस्टमेन्ट बैंकको सोही कम्पनीको संस्थापकभन्दा झण्डै १ करोड कम अर्थात् ९१ लाख १० हजार ५ सय ३७ रुपैयाँको सेयर किनबेच भएको छ । नबिलको ८६ लाख ९७ हजार १ सय ४ रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर सङ्ख्यामा २ कम्पनीका संस्थापक सेयर अघि
धेरै कित्ता कारोबार हुनेमा २ वटा कम्पनीको संस्थापक सेयर अघि परेका छन् । सेन्चुरी कमर्सियल बैंकको ३३ हजार ३ सय ११ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ३३ हजार २ सय ३३ कित्ता सेयर किनबेच हुँदा ग्लोबल आइएमइ बैंकको २२ हजार ५ सय कित्ता सेयर कारोबार भएको छ ।
आरम्भको कारोबार धेरै पटक
सोमबार आरम्भ माइक्रोफाइनान्सको सबैभन्दा धेरै १ सय ४६ पटक कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्सको १ सय ८ पटक किनबेच हुँदा नबिल बैंकको १ सय ६ पटक सेयर किनबेच भएको छ ।
धेरै मूल्य बढ्ने कम्पनी आइपिओको दरमा
सोमबार वल्र्ड मर्चेन्ट बैंकको सबैभन्दा धेरै ५.२६ प्रतिशतले सेयर मूल्य बढेको छ । मूल्य बढेपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ सय रुपैयाँ कायम भएको छ । जानकी फाइनान्सको सेयर मूल्य ३.७५ प्रतिशतले बढ्दा महुली सामुदायिक लघुवित्तको सेयरमूल्य २.४९ प्रतिशतले बढेको छ ।
सोमबार सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.३७ प्रतिशतले झरेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य ७.५१ प्रतिशतले तल झर्दा हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.४१ प्रतिशतले ओरालो लागेको छ । आइतबार सबैभन्दा धेरै मूल्य बढेको खानीखोला हाइड्रोपावरको पनि ६.३१ प्रतिशतले सेयरमूल्यमा ह्रास आएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब १३ अर्ब कायम भएको छ ।