सोलुखुम्बुः सगरमाथाको काखमा पहिलो पटक गाडी पुगेको छ । सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु–१ खरीखोला सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
सोलुखुम्बुका माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडक खनिएको बताइएको छ । सो सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने पनि जनाए ।
लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्य दूधकोशी हुँदै करीब ३ दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएकाले आन्तरिक पर्यटकसमेत बढ्ने राईले बताए ।
बर्सेनी ५० औं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने पनि मुख्यमन्त्री राईले बताए । कार्यक्रममा सांसद हेमकुमार राई पनि उपस्थित थिए ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारसँग आग्रह गरेका थिए ।