सङ्खुवासभाः सङ्खुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानीस्थित गुप्तेश्वर महादेव गुफा गुमनाम बनेको छ । आदिमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराएपछि खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको भन्ने किंवदन्ती पाइन्छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पूजा गरिन्छ ।

यहाँ माघे सङ्क्रान्ति र हरिबोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने गरेको छ । अन्य समयमा पनि यहाँ रुद्री लगाउने गरिन्छ । धार्मिक अस्तित्वको यो गुफा प्रचार अभावमा ओझेलमा परेको छ । यो गुफामा आउने श्रद्धालुको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । यो गुफामा पूजा गर्नाले सन्तान प्राप्ति तथा दीर्घायु र स्वास्थ्य लाभ हुने स्थानीय सीता श्रेष्ठले बताइन् ।

गुफामा पूजा गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमबाट पनि भक्तजन आउने गरेका छन् । तर बास बस्न नजिकै बस्ती नभएकाले समस्या हुने गरेको छ । गुफाभित्र स्थानीय बुद्धि श्रेष्ठ र सीता श्रेष्ठ दम्पत्तिले ५० हजार खर्च गरेर बिजुली बत्तीको व्यवस्था गरिदिएका छन् ।

साबिक वाना गाविसले गुफासम्म पुग्न सडकको ट्रयाक खोल्ने काम गर्नुका साथै रेलिङ र सिँढी निर्माण गरेको थियो । तर भीरको बाटो भएकाले अहिले नगरपालिकाको ३ लाख रुपैयाँको बजेटले थप रेलिङ तथा सिँढी निर्माणको काम भइरहेको छ । सडकको स्तरोन्नतिको काम भएको वडाध्यक्ष काजीबहादुर तामाङले बताए ।

सदरमुकामबाट नजिकै रहेको यो गुफाको जति चर्चा हुनुपर्ने हो त्यति हुन सकेको छैन । गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सडक सञ्चालन गर्नुपर्ने स्थानीय बताउँछन् ।
गुफाको महत्व प्रचार गरी धार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ ।