धनकुटाः हजारभन्दा बढी विदेशी पर्यटकलाई लक्षित गरी शक्ति पिक म्युजिक प्रालिले गुराँसको राजधानी तीनजुरे क्षेत्रमा क्याम्पिङको तयारी गरेको थियो ।
मादी नगरपालिकासँग कार्यक्रमको लागि स्वीकृति लिई सोही नगरपालिकाको वडा नम्बर १ मा कार्यक्रमको तय गरी पर्यटक झिकाइयो । तर पर्यटक नेपाल प्रवेश गरी कार्यक्रमस्थल जान लाग्दा सुरक्षाको कारण देखाउँदै उनीहरूलाई धनकुटा र तेह्रथुमको सिमानामा रहेको चित्रे बजारमै रोकियो ।
आयोजक र प्रशासनबीच तालमेल नहुँदा गुराँसको राजधानी तीनजुरे क्षेत्रमा क्याम्पिङका लागि आएका बाह्य पर्यटक अलपत्र परेका हुन् । गुराँसको अवलोकनसँगै योगा, मेडिट्रेसन, नेचर क्याम्पिङ, लाइभ म्युजिक लगायतको कार्यक्रम तय गरिए पनि प्रशासनले कार्यक्रमको गलत अर्थ लगाउँदै कार्यक्रम नै गर्न नदिएको शक्ति पिक म्युजिक प्रालिका सञ्चालक सुवास केसीले जनाए ।
अहिले ती पर्यटक धनकुटाको भेडेटार, हिले, सिँधुवा, वसन्तपुर लगायतका बजारमा अलपत्र परेका छन् । कतिपय पर्यटक टेन्ट टाँगेर खुला चौरमै बस्न बाध्य भएका छन् । अहिले १ सय २ देशका १ हजार २ सय भन्दा बढी पर्यटक सो क्षेत्रमा अलपत्र परेका छन् ।
जिल्ला प्रशासनले विज्ञप्ति नै निकाल्यो
यता, जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले भने लागू पदार्थको प्रयोग, अश्लील गतिविधि, खुला यौन व्यवहारजस्ता क्रियाकलाप हुन सक्ने भन्दै विज्ञप्ति नै निकालेर कार्यक्रम गर्न रोक लगाएको छ । सो संस्थाले गत वर्ष पनि सोही क्षेत्रमा कार्यक्रमको आयोजना गरेको थियो ।
यता, पर्यटक नेपाल भित्र्याएर निर्धारित स्थानसम्म पुग्न तथा निर्धारित कार्यक्रम गर्न नदिइँदा नेपालप्रति पर्यटकहरूको नकारात्मक सोच बढ्नेमा सो क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । मादी नगरपालिका बडा नम्बर ९ का वडाध्यक्ष पासाङ शेर्पा यसले पर्यटन भित्र्याउने चाहनालाई असर गरेको बताउँछन् ।