सङ्खुवासभाः जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा विरुद्ध उच्च अदालत धनकुटामा रिट निवेदन दर्ता भएको छ । शक्ति पिक म्युजिक फेस्टिबल प्रा.लि काठमाडौंले सङ्खुवासभाको मादी नगरपालिका क्षेत्रमा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्रमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सङगीत महोत्सव रोकेको भन्दै रिट दर्ता गराएको हो ।
आयोजकको तर्फबाट खोटाङको दिक्तेल नगरपालिका–७ का सुवास केसी र धनकुटा नगरपालिका वडा नं ६ का मानप्रकाश खड्काले रिट दर्ता गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा विदेशी पाहुना नेपाल आइसकेको र लाखौँ खर्च भइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले कार्यक्रम नगर्नको लागि गरेको आदेश नेपालको संविधानको धारा १८, २५, ३०, ३२ मुलुकी देवानी संहिता ऐन २०७४ को दफा १७, १८, २०(क) (ख) (घ) मा भएको कानुनी व्यवस्था विपरीत भएको भनिएको छ ।
रिटमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारीले कसैको बहकाउमा लागि यो संस्थाको गतिविधिको बारेमा गम्भीर आरोप लगाउनुभन्दा एक पटक सुनुवाइको मौका समेत नदिई लगाइएको आरोप गैरकानुनी, आधारहीन छ, यो संस्थाले लागू पदार्थको कारोबार गर्ने र अश्लील गतिविधि गर्नका लागि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको होइन ।”
यता प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले रिट दर्ता भए पनि जारी नहुँदासम्म आफूहरुलाई कुनै जानकारी नहुने र अहिलेसम्म कुनै जानकारी नआएको बताए । यदि रिट जारी भएर कुनै जानकरी आएको खण्डमा कानुनी जवाफ दिने उनले बताए ।