फाइल तस्बिर
धनकुटाः काठमाडौंको शक्ति पिक म्युजिक प्रालिले गुराँसको राजधानी तीनजुरे क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी क्याम्पिङका आयोजनाको तयारी गरेको थियो । तर अवाञ्छित गतिविधि हुन सक्ने भन्दै स्थानीय प्रशासनले कार्यक्रमलाई रोक लगायो ।
कार्यक्रमको लागि नेपाल आएका १ सय २ देशका हजार भन्दा बढी पर्यटक त्यतिबेला समस्यामा परे जब गुराँसको राजधानी प्रवेश गर्नैलाग्दा चित्रेमा रहेको प्रहरीले उनीहरूलाई रोक्यो ।
स्थानीय मादी नगरपालिकासँग कार्यक्रमको लागि स्वीकृति लिई सोही गाउँपालिकाको वडा नम्बर १ मा कार्यक्रमको तय गरिएको थियो । कार्यक्रममा गुराँसको अवलोकनसँगै योगा, मेडिट्रेसन, नेचर क्याम्पिङ, लाइभ म्युजिक लगायतको कार्यक्रम गर्ने तय गरिएको आयोजकको भनाइ छ । तर, प्रशासनले कार्यक्रमको गलत अर्थ लगाउँदै कार्यक्रम नै गर्न नदिएको शक्ति पिक म्युजिक प्रालिका सञ्चालक सुवास केसीले जनाए ।
यता, जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले भने लागूपदार्थको प्रयोग, अश्लील गतिविधि, खुला यौन व्यवहार जस्ता क्रियाकलाप हुन सक्ने भन्दै विज्ञप्ति नै निकालेर कार्यक्रमलाई रोक लगायो । तैपनि कार्यक्रम हुन्छ भन्ने आशमै थिए सबै विदेशी पर्यटक । तर, आयोजक संस्थाका अध्यक्ष सुवास केसीलाई सङ्खुवासभा प्रहरीले हिरासतमा लियो । र एकाएक उनीहरूको सपनामा समेत तुषारापात भयो ।
निर्धारित कार्यक्रमको लागि आएका उनीहरू कार्यक्रम नै हुन नसक्दा खिन्न बने । पर्यटक धनकुटाको भेडेटार, हिले, सिँधुवा, वसन्तपुर लगायतका बजारमा अलपत्र परे । आकाशबाट पानी परिरहँदा समेत कतिपय पर्यटक टेन्ट टाँगेर खुला चौरमै बस्न बाध्य भए । अन्ततः कार्यक्रम नहुने भएपछि उनीहरू खल्लो महसुस गर्दै त्यहाँबाट फर्कन बाध्य भए । त्यसमा अझ आयोजक संस्था र प्रशासनको गैर जिम्मेवारपनले थप मर्माहत बनायो ।
पर्यटकलाई समस्या पर्दा त्यहाँ न त स्थानीय प्रशासनले नै सहजीकरण गर्यो न पर्यटनको क्षेत्रमा काम गर्ने संस्थाले । प्रदेश सरकारले पनि चासो दिएन । कसैको ध्यान पुग्न सकेन त्यहाँ ।
यता, पर्यटक नेपाल भित्र्याएर निर्धारित स्थानसम्म पुग्न तथा निर्धारित कार्यक्रम गर्न नदिँइदा नेपालप्रति पर्यटकको नकारात्मक सोच बढ्नेमा सो क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । यस्तो गैरजिम्मेवारपनले नेपालप्रति विदेशी पर्यटकको सोच नकारात्मक बन्ने हिलेका होटल व्यवसायी खगेन्द्र बिष्ट बताउँछन् ।