इलामः नयाँ वर्षको पहिलो दिन इलाममा आन्तरिक पर्यटकको बाक्लो आगमन भएको छ । यहाँका चिया बगान र आसपासको मनोरम दृश्य हेर्न टाढाटाढादेखि आएका पाहुना यहाँको वातावरणसँग रमाएका छन् ।
श्रीअन्तु डाँडा सामुुदायिक होम स्टे, अन्तु पोखरी होम स्टे लगायतमा न्यानो आतिथ्यता पाएका पर्यटक आज दिनभर यस क्षेत्रमा घुमफिर गरेका छन् । यहाँको चिया बगान, पोखरीको बोटिङ आदिमा रमाएका पाहुना प्राकृतिक सौन्दर्यमा घुलमिल भएका हुन् ।
गत वर्ष भन्दा दोब्बर पर्यटक आएको बताएका सामुुदायिक होम स्टेका सहसचिव रुद्र घिमिरले भने, ‘हामी त असाध्य उत्साहित छौँ, अब भने अन्तुले मुहार फेर्नेमा ठूलो आशा पलाएको छ ।’ उनका अनुसार चैत मसान्तको रात यहाँ बसोबास गर्ने करिब १ हजार २ सय हाराहारीमा थिए । अघिल्लो साल यति धेरै मान्छे अटाउने ठाउँ नै थिएन । तर, यस पटक भने २ वटा सामुुदायिक होम स्टेद्वारा सञ्चालित करिव ५४ ओटा होमस्टे, ८ ओटा होटल र ६ ओटा कटेजले यी पाहुनालाई नयाँ वर्षसँगै स्वागत गर्न सक्षम भए ।
अघिल्लो साल भन्दा दोब्बर पर्यटक भित्रिने विभिन्न कारणमध्ये तीन कारण महत्वपुर्ण रहेको बताउँछन् घिमिरे । ‘पहिलो कुरा सडकलगायतका पूर्वाधारको निर्माण भयो, त्यसमा पनि प्रचारप्रसारमा पर्यटन बोर्ड, स्थानीय र सङ्घीय सरकारले विशेष जोड दिए र स्थानीयले पर्यटकमैत्री वातावरण निर्माण गर्न सघाउ पुर्याए ।’
अन्तुमा सुनसरी, झापा र मोरङका पर्यटक बढी आएका छन् ।