इटहरीः गत आर्थिक वर्षमा साधारण सेयर, हकप्रद र बोनस सेयरको बाढीका कारण सेयरबजारका लगानीकर्ताले १ वर्षको अवधिमा धितोपत्र बजारमा १ खर्ब ३१ अर्ब ५३ करोड बराबरको लगानी बढाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताहरूले विभिन्न सूचीकृत कम्पनीहरूको साधारण सेयर, हकप्रद, बोनस र सरकारी ऋणपत्रहरूमा गरी उक्त परिमाणको लगानी थपेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको तथ्याङ्कमा आधारित रहेर बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सो तथ्य प्रस्तुत गरिएको छ ।

सरकारी ऋणपत्रमा बढी लगानी
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लगानीकर्ताले सरकारी ऋणपत्रमा बढी रुपैयाँ लगानी गरेका छन् । ३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्रमा लगानी हुँदा ३६ अर्ब १४ करोड बराबरको हकप्रद सेयरमा लगानी भएको थियो । त्यस्तै, ३० अर्ब ८३ करोड बराबरको साधारण सेयर र २७ अर्ब ४७ करोड बराबरको बोनस सेयरमा लगानी भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार नेप्सेमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा २१.६ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा ३ सय ५२ अर्ब ९ करोड पुगेको छ ।

मर्जर र एक्वायरका कारण कम्पनीको सङ्ख्या कम
लगानी बढे पनि सूचीकृत कम्पनीको सङ्ख्या भने घटेको छ । त्यसो त गत आर्थिक वर्षमा विभिन्न कम्पनीले साधारण सेयर पनि जारी गरेका थिए । तर साधारण सेयर जारी गर्ने भन्दा मर्जमा जाने र एक्वायर हुने कम्पनीको सङ्ख्या बढेकाले सूचीकृत कम्पनीको सङ्ख्या कम भएको हो ।
अघिल्लो आर्थिक वर्षमा २ सय ८ वटा कम्पनीको सेयर सूचीकृत भएकामा गत आर्थिक वर्षमा त्यो सङ्ख्या १ सय ९६ मा झरेको थियो ।

सूचक र कारोबार दुवैमा गिरावट
समीक्षा अवधिमा नेप्से वार्षिक बिन्दुगत आधारमा २३.४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ०७५ असार मसान्तसम्म नेप्से १२१२.४ बिन्दुमा सीमित हुँदा २०७४ असार मसान्तमा भने नेप्से १५८२.७ बिन्दुमा थियो ।
कारोबार रकममा भने ४६.२ प्रतिशतले कमी आई ६ अर्ब ६३ करोड कायम भएको छ । कारोबार रकम २०७४ असारमा १२ अर्ब ३३ करोड रहेको थियो ।

बजार पूँंजीकरण २२ प्रतिशत तल

समीक्षा अवधिमा बजार पूँंजीकरण वार्षिक बिन्दु आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १४ खर्ब ३५ अर्ब १४ करोड कायम भएको छ । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७०.३ प्रतिशत रहेको तथ्य प्रस्तुत गरिएको छ ।
सबैभन्दा धेरै बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८०.५ प्रतिशत रहँदा जलविद्युत् क्षेत्रको ४.७ प्रतिशत रहेको उल्लेख गरिएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत, होटलको १.७ प्रतिशत र अन्यको १०.२ प्रतिशत रहेको बताइएको छ । सबैभन्दा कम भने व्यापारिक संस्थाको ०.१ प्रतिशत रहेको उल्लेख छ ।