इटहरीः यही हप्ता स्विजरल्यान्डमा हुन गइरहेको विश्व पर्यटन मञ्चमा इटहरीका पर्यटन व्यवसायी सुनिल भुसाल सहभागी हुने भएका छन् । यही वैशाख १९ र २० गते स्विजरल्यान्डको मध्य मागमा पर्ने लुचेनर्् भन्ने सहरमा हुने विश्वको पर्यटनको कुम्भ मेला भनिने मञ्चमा भुसाल जान लागेका हुन ।
विश्वभरमा पाँच सय बढी पर्यटनकर्मी, उद्यमी, पर्यटन पत्रकार, कूटनीतिज्ञ लगायतको उपस्थिति हुने मञ्चमा भुसाल प्रदेश १ का सहभागी हुन । भुसालसँगै निजी क्षेत्रबाट सहभागी हुने धरानका शिक्षासेवी लोकेन्द्र श्रेष्ठ र ग्रोवेल उद्योगका संयोजक अरुण शाह रहेका छन् ।
पर्यटन विषयमै भारतबाट स्नातकोत्तर गरेका भुसाल इटहरीमा होटल प्रीमियर स्कुल, प्रीमियर होटल तथा इटहरी बैंक्वेट जस्ता पर्यटन उद्यममा सक्रिय छन् । आज इटहरीबाट औपचारिक बिदा भएका भुसाल आइतबार स्विजरल्यान्ड प्रस्थान गर्ने छन् । एसिया, युरोप, अफ्रिका देखी अमेरिका महादेश सबै क्षेत्रमा पर्यटन उद्यमीसँग कुराकानी गर्ने बताएका भुसालले प्रदेश १ को पर्यटनको बारेमा सम्भावित लगानीकर्ताहरूसँग कुरा गर्ने बताए ।
‘पहिलोपटक सहभागी भएकाले त्यहाँ आएका र नजिकबाट कुरा गर्न पाएका पर्यटनकर्मी र उद्यमीहरूलाई नेपालका ओझेलमा परेको प्रदेश १ को भर्जिन पर्यटन क्षेत्रको बारेमा कुराकानी गर्नेछु’, प्रदेशपोर्टलसँग बोल्दै भुसालले भने, ‘उद्यमीलाई नेपाल आएर पनि फलोअप गरेर व्यापारिक र लगानीका कुराहरू गर्ने मेरो पहल हुनेछ ।’ नेपाल भ्रमण वर्ष २०२० को बारेमा पनि विश्वभरका सम्भव भएसम्मका प्रतिनिधिहरूसँग कुरा गर्ने उनले बताए ।