इटहरीः गत वर्षदेखि ९ वा जीवन बीमा कम्पनी सञ्चालनमा आएका छन् । सञ्चालनमा आउनासाथ आक्रामक रूपमा बजार बिस्तार गर्न कस्सिएका ती कम्पनीमध्ये कतिपयले सञ्चालनको पहिलो वर्षमा नै ८ वर्षभन्दा अघिदेखि सञ्चालित पुराना जीवन बीमा कम्पनीलाई पनि टक्कर दिएका छन् । पुराना बैंकको भन्दा धेरै पूँजी जुटाएर व्यवसाय शुरु गरेकाले धेरैजसो कम्पनीले व्यवसायबाट भन्दा पनि बैंक ब्याजबाट कमाइ गरेको विवरण प्रस्तुत गरेका छन् । यद्यपि केही कम्पनीले व्यवसाय बिस्तार पनि उत्साहजनक रूपमा गरेका छन् । खुद नाफा आर्जन र बीमा शुल्क सङ्कलनका आधारमा हेर्दा यस्तो छ नयाँ जीवन बीमा कम्पनीको प्रगति विवरणः
खुद नाफाका आधारमा रिलायबल अब्बल
खुद नाफाको आधारमा सबैभन्दा धेरै नाफा गर्नेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायबलले गत आर्थिक वर्षमा १२ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै ज्योति लाइफले १० करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले १० करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।
आइएमई लाइफले ९ करोड ८६ लाख खुद नाफा गर्दा युनियन लाइफले ९ करोड ३५ लाख, सन नेपाल लाइफले ८ करोड १६ लाख, रिलायन्स लाइफले ७ करोड ९९ लाख र सानिमा लाइफले ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५ करोड ३५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ ।
बीमा शुल्कका आधारमा युनियन तगडा
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको युनियन लाइफले सबैभन्दा धेरै बीमा शुल्क सङ्कलन गरेको छ । युनियन लाइफले ७६ करोड २२ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको हो । आइएमइ लाइफले ४९ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क सङ्कलन गर्दा सिटिजन लाइफले ३६ करोड १० लाख सङ्कलन गरेको छ । रिलायबल नेपाल लाइफले ३४ करोड ४९ लाख, सन नेपाल लाइफले २९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
ज्योति लाइफले २८ करोड ५० लाख, प्रभु लाइफले ११ करोड ३३ लाख र सानिमा लाइफले ९ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
सबैभन्दा कम बीमा शुल्क सङ्कलन गर्ने रिलायन्स लाइफ इन्स्योरेन्सले ८ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।