ताप्लेजुङ: विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतिय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारत पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको हो । अर्का एक जना सम्पर्क विहिन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ ।
८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपाली समेत ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविर भन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताईएको छ । आरोहण दलका सदस्यका अनुसार झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको बताईएको छ ।
यसैविच बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही भने सम्पर्कविहीन भएका छन् । अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ । कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ । त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकारहरू बताउँछन् ।