इटहरीः साताको पहिलो दिन पनि नेप्सेले ओरालो यात्रा तय गर्दा महिनाको छैटौं कारोबारको दिन पनि नेप्सेले लगानीकर्तालाई लाल झण्डा नै देखाएको छ ।
आइतबार नेप्से सूचक २.७८ अंकले घटेर ११७५.७२ अंकमा आइपुगेको छ । समग्रमा बजार ०.२४ प्रतिशतले घटेको हो । कुल १ सय ४६ कम्पनीको २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ रुपैयाँको ६ लाख ९ हजार २ सय ५७ कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम अघिल्लो दिनको भन्दा ७ करोड रुपैयाँले कम हो ।
कारोबार भएका १० समूहमध्ये उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । उत्पादनमूलक समूहमा ०.६६ प्रतिशतले बहार आएको थियो । सबैभन्दा धेरै लघुवित्त समूहको सूचकमा ०.६६ प्रतिशतले गिरावट आउँदा जीवन बीमा समूहको सूचक ०.०३ प्रतिशतले मात्रै ओरालो लागेको थियो ।
कारोबार बढी हुनेमा संस्थापक सेयर
आइतबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा २ बैंकको संस्थापक सेयर परेको छ । कारोबार रकममा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । सो कम्पनीको मात्रै ५ करोड ३२ लाख ५३ हजार ३ सय ११ रुपैयाँको सेयर किनबेच भएको थियो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंकको संस्थापक र एनएमबि बैंक परेका छन् । प्रभुको संस्थापक सेयर १ करोड २७ लाख ४ हजार १ सय १० रुपैयाँको कारोबार हुँदा एनएमबि बैंकको ७९ लाख ९९ हजार ३ सय ९१ रुपैयाँको सेयर किनबेच भएको थियो ।
सेयर सङ्ख्यामा पनि २ संस्थापक र एनएमबि बैंक नै
धेरै रकम कारोबार हुने कम्पनी नै धेरै कित्ता कारोबार हुने कम्पनीको क्रममा दोहोरिएका छन् । इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर ९४ हजार ७ सय ४३ कित्ता कारोबार भएको थियो । दोस्रो स्थानमा रहेको प्रभु बैंकको संस्थापक सेयर ८१ हजार ९ सय ६२ कित्ता कारोबार हुँदा एनएमबि बैंकको सेयर २५ हजार ९ सय ४३ कित्ता किनबेच भएको थियो ।
कारोबार सङ्ख्यामा एनएमबि अघि
कारोबार सङ्ख्यामा भने एनएमबि बैंकले अग्रता लिएको छ । सो कम्पनीको १ सय २० पटक कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ७५ पटक र स्ट्यान्डर्ड चार्टड बैंकको ७२ पटक कारोबार भएको थियो ।
कमाउनेमा ङादी, गुमाउनेमा कर्णाली
आइतबार ङादी पावरका लगानीकर्ताले सबैभन्दा धेरै ४.१९ प्रतिशतले कमाउँदा बैंक अफ काठमाण्डूका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । छ्याङ्दी हाइड्रोपावरले ३.४२ प्रतिशतले कमाउँदा कर्णाली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५.६६ प्रतिशतले गुमाए । कर्णालीको हालैमात्रै २ सय २३ प्रतिशत हकप्रद सूचीकृत भएकाले बजारमा बिक्री चाप बढेको छ । मूल्य घटेर सो कम्पनीको मूल्य आइपिओ सरह १ सय रुपैयाँ कायम भएको छ ।
आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ५.६६ प्रतिशतले ओरालो लाग्दा एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ५.३० प्रतिशतले तल झरेको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण १३ खर्ब ९८ अर्बमा सीमित भएको छ ।