विराटनगरः विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको सामुन्ने रहेका सय वर्ष बढी पुराना रुख काटिएका छन् । सो ठाउँमा रहेको वर र पीपलका सय वर्ष बढी पुराना रुख काटिएपछि त्यो क्षेत्र उजाड देखिएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक रूपमा हजारौं सेवाग्राही आउने गर्छन् । बढी भीडभाड हुने अवस्थामा त्यहाँ रहेका रुखमुनि सर्वसाधारणले थकाइ मार्ने र सुस्ताउने गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा आफ्नो कार्य सम्पादनको क्रममा लाग्ने समय कटाउन सर्वसाधारण रुखमुनि बनाइएका चौतारामा बसेर गफिने गरेका थिए । तर हठात् रुख काटिएपछि स्थानीयवासीले विरोध जनाएका छन् । प्रशासनको काम लिएर आउने त्यहाँ सुस्ताउने गरेकामा अहिले समस्या भएको सेवाग्राही अम्बिका चौधरीले बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले रुखहरू निकै पुराना भएका कारण हाँगाहरू झर्न थालेको र त्यसका कारण दुर्घटना हुने सम्भावना देखिएपछि काट्नुपरेको बताए । उनले रुख काटिएको ठाउँमा नयाँ रुख रोपिने जानकारीसमेत दिए ।

सडक र नाला निर्माणका लागि भन्दै नगरक्षेत्रको सन्सारीमाई स्थान पछाडि रहेका निकै पुराना वरपीपलका रुखसमेत काटिएको छ । यस्तै नगरक्षेत्र र आसपासका अन्य स्थानमा समेत सयौं रुख काटिएका छन् । जसका कारण वातावरणमा प्रतिकूल असर पर्ने जानकारहरू बताउँछन् ।