पथरीः सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरे भन्ने विषय आजकल सामान्यजस्तै बन्दैछ । भूमाफियाले प्रधानमन्त्री निवासको जग्गासमेत आफ्नो कब्जामा राख्दा पनि सम्बन्धित निकायलाई अत्तोपत्तोसम्म छैन । सरकारले अतिक्रमित जग्गा फिर्तासम्म गराउन सकेको छैन ।

तर, भूमाफियाले कब्जा गरेको २२ बिघा जग्गा मोरङको बेलबारी–१० का स्थानीयले माफियाको चङ्गुलबाट फिर्ता गराउन सफल भएका छन् । पूर्व–पश्चिम राजमार्गको भाउन्ने खण्डमा पर्ने जग्गा फिर्ता गराउन स्थानीयले करीब १० वर्ष अदालत धाउनुपरेको छ ।

बिक्रीको लागि सरकारी जमिन प्लटिङ गर्न थाल्दा स्थानीयबाट लखेटिएपछि भूमाफिया भने सो जग्गा भोगचलन गर्न पाऊँ भन्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । अदालतले गत असोज २ गते बनको जमिनमा हकदाबी नपुग्ने फैसला गरेपछि जग्गा फिर्ता भएको थियो । जहाँ अहिले १ नम्बर प्रदेशकै नमुना पार्क बन्दै आएको छ ।

जग्गा प्लटिङ गर्नेलाई लखेट्ने स्थानीयको नेतृत्व हिमप्रसाद मिश्रको समूहले गरेको थियो । त्यसबेला उनी माओवादीको स्थानीय इन्चार्ज रहेका थिए । सिर्जना सामुदायिक बनको मातहतमा रहेको सो जग्गा तत्कालीन डाँगीहाट गाविसका सचिवले कीर्ते सिफारिश गरी भूमाफियालाई हस्तान्तरण गरेका थिए । जसको प्रमाण फेला परे पछि २०६४ सालमा वारदात पेश गरी १० वर्षको संघर्ष पछि जग्गा बनकै मातहतमा ल्याउन सफल भएको मिश्र बताउँछन् ।

राजमार्गसँग जोडिएको २२ बिघा सरकारी जग्गा हत्याउन भूमाफियाले २०५३ सालमा विभिन्न व्यक्तिका नाममा दर्ता भएको कीर्ते कागजात बनाएका थिए । डाँगीहाटका नन्दकेशर राई, इन्द्रकुमारी राई, विष्णुमाया दाहाल, सङ्गीता सुब्बा, रत्नकुमारी तामाङ, आनन्दलाल सरदार, धनमाया विष्ट, मनकुमारी तामाङ, देवनारायण खतिवडा, भानुकुमार लिम्बू, भालोदेवी सरदार, कृष्णकुमारी बराल र नरबहादुर तामाङले जग्गा आफ्नो भएकोको दाबीसहित सर्वोच्चमा रिट दायर गरेपछि कीर्ते खुलेको हो । उनीहरूले १५ कठ्ठादेखि डेढ बिघासम्म जग्गा आफ्नो भएको दाबी गरेका थिए ।