बेलबारीः मोरङको बेलबारी २ दिनसम्म साहित्यमय बनेको छ । नेपालसहित छिमेकी देशबाट समेत साहित्यकार आएर साहित्यिक महोत्सवमा रमाएका थिए ।
कला तथा साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि शुरु भएको बेलबारी कला तथा साहित्य महोत्सवमा भारत तथा अन्य देशका कलाकार पनि आएका थिए । नेपालका साहित्यकार प्रा. डा. टङ्क न्यौपाने, प्राज्ञद्वय विवश पोख्रल र गंगा सुवेदी तथा साहित्यकार बद्री भिखारी, मनु मञ्जिललगायतका साहत्यिकारले आफ्ना रचना वाचन गरेका थिए ।
साहित्यकारले माटाको माया दर्शाउनुका साथै अङ्ग्रेजी माध्यममा हुने पठनपाठनप्रति व्यङ्ग्य प्रहार गरेका थिए । बेलबारी साहित्य विकास समितिको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गरेका थिए । महोत्सवको समापन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गरे ।
१ सय जनाभन्दा बढीका रचना वाचनले बेलबारीलाई साहित्यमय बनाएको आयोजक संस्थाकी अध्यक्ष रेखा सुवेदीले बताइन् । गुरुङ, तामाङलगायत अन्य जातिका स्रस्टाले मातृभाषामा रचना वाचन गरेका थिए ।
कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गङ्गा सुवेदी, डा. बद्रीविशाल पोखरेल, स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाई, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई, साहित्यकार देवी पन्थी, भारतबाट आएकी कवि जीविका अश्रूलगायतका दर्जनौँ साहित्यकारको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले लोप हुन लागेका भाषा र संस्कृतिको संरक्षणमा साहित्यकारको ठूलो भूमिका रहेको बताए ।
प्राज्ञ गंगा सुवेदीले साहित्य तथा कला मानव जीवनको अभिन्न अङ्ग भएकाले त्यसको जगेर्नामा सबैले लागि पर्नुपर्नेमा जोड दिइन् । प्राज्ञ सुवेदीले कला तथा संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोमा बेलबारी साहित्य विकास समितिले उल्लेखनीय काम गरेको बताइन् । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीले मौलिक संस्कृति हराउँदै गएकाले बालबालिकाहरूलाई मौलिक भाषा, कला र संस्कृतिको शिक्षा दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा २६ जना सहभागी भएकोमा कला, संस्कृतिमा आधारित कलाकृति बनाउने शृङ्खला धिमाल, निस्ता राई र सुमन तामाङलाई उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको थियो । प्रतियोगितामा रोहन धिमालले सान्त्वना पुुुरस्कार पाएका थिए ।