पथरीः पथरीमा रहेको शान्ति सामुदायिक वनले शान्ति भुल्के सिमसार क्षेत्रमा सम्बन्धित निकायबाट अनुमति नलिई डोजर प्रयोग गरी पोखरी निर्माण गरिरहेको छ । वनको आम्दानीको स्रोत बढाउने नाममा गैरकानुनी ढङ्गले डोजर चलाई वन पैदावारको विनाश गरी पोखरी निर्माण भइरहेको हो ।

पर्यटनको विकासका लागि शान्ति भुल्के सिमसार क्षेत्रको विस्तार गर्न यसरी डोजर चलाइएको जनाइएको छ । सिमसारको गुरुयोजना निर्माण भएकाले सो गुरुयोजना अनुसार नै काम भइरहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहकी सचिव मेनुका राई बताउँछिन् । वनमा चलिरहेको डोजरका विषयमा राईले आफूहरूले डिभिजन वन लगायतका कुनै पनि निकायमा अनुमति लिनु नपर्ने बताइन् ।

सामुदायिक वनलाई असीमित अधिकार दिएको हुन्छ भन्दै राईले वनको विकासको कुनै पनि काममा कसैको अनुमति लिनु नपर्ने बताइन् । सामुदायिक वनलाई काम गर्ने थुप्रै अधिकार दिएको र त्यसै अनुसार डोजर चलाइएको राईको तर्क छ ।

यस विषयमा मोरङ वन डिभिजनल अधिकृत विशाल घिमिरेले वनमा डोजर चलाउनका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने बताए । घिमिरेले भने, ‘वनमा डोजर चलाउन अनिवार्य अनुमति लिनु पर्दछ । शान्ति सामुदायिकको पनि त्यो प्रक्रियामा रहेको छ । त्यहाँ मानिसले मात्रै सम्भव नहुने भएकाले मेसिन प्रयोग गर्नुभएको हो । अनुमति बिना वनमा कङ्क्रिटको भवन निर्माण गर्न पनि मिल्दैन ।’

sri santi bhulke simsar pathari  (1) sri santi bhulke simsar pathari  (2)