फाइल तस्बिर
ओखलढुङ्गाः ओखलढुङ्गा जिल्लाको एक मात्र विमानस्थल ३ वर्षपछि आजदेखि सुचारु भएको छ । अब हरेक शुक्रबार काठमाडौं–रुम्जाटार–विराटनगर हवाइ उडान हुने भएको हो ।
सो विमानस्थल ३ वर्षदेखि ठप्प रहेको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।
गत असोजदेखि नै उडान शुरु गर्ने तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुन सकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उडान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।
केही दिन पहिले मात्रै ओखलढुङ्गा आएका राष्ट्रपति, उपप्रधानमन्त्री, मुख्यमन्त्रीसहितका उच्च पदस्थ व्यक्तिले रुम्जाटार विमानस्थल सञ्चालन गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।