इटहरीः अस्थिर रहँदै र क्रमश ओरालो लाग्दै गरेको सेयर बजारले बुधबार पनि लगानीकर्तालाई खुशी दिन सकेन । सूचक झण्डै ५ अङ्कले तल झर्दा कारोबार रकम भने १६ लाख रुपैयाँले बढेको छ ।
बुधबार बजार ४.७९ अङ्कले घटेर ११७२.३० अङ्कमा आइपुगेको छ । समग्रमा बजार ०.४१ प्रतिशतले झर्दा कारोबार भएका सबै १० वटै समूहका सूचकमा रातो पोतिएको छ । बजार बन्द हुनु केही अघिसम्म हरियो रहेको होटल समूहको सूचक सबैभन्दा कम ०.१२ प्रतिशतले झर्दा उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले तल झरेको छ ।
१९ करोडको कारोबार
सूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको भन्दा १६ लाख रुपैयाँले बढेको छ । बुधबार १ सय ६३ कम्पनीको १९ करोड २१ लाख ५६ हजार ३ सय २६ रुपैयाँको सेयर किनबेच भएको छ । ६ लाख ४ हजार ४ सय ३८ कित्ता सेयर ३ हजार २ सय ७४ पटक किनबेच भएका हुन् ।
इन्भेस्टमेन्टको कारोबारले मात्रै करोड कटायो
बुधबारको बजारमा सबैभन्दा धेरै कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको भएको छ । सो बैंकको १ करोड ३२ लाख २ हजार ८ सय ९० रुपैयाँको सेयर किनबेच हुँदा एनएमबीको ८७ लाख २८ हजार १ सय ५९ रुपैयाँ र मेगा बैंकको ८६ लाख १ हजार ५ सय २२ रुपैयाँको सेयर किनबेच भएको छ ।
उच्च कारोबार गर्ने ३ कम्पनीमध्ये एनएमबीको सेयर मूल्य घटेको छ भने अन्य २ कम्पनीको स्थिर रहेको छ ।
कमाउनेमा हाइड्रोपावर
बुधबार धेरै मूल्य बढ्ने ५ कम्पनीमा ३ वटा हाइड्रोपावर छन् भने लघुवित्त र बीमा कम्पनी १÷१ वटा छन् । १० प्रतिशत लाभांश सुरक्षित गर्न सेयरधनी बन्ने अन्तिम दिन भएको ङादी पावरको सेयर मूल्य सबैभन्दा धेरै ४.१४ प्रतिशतले बढ्दा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ प्रतिशत सेयर मूल्य बढेको छ । त्यस्तै, रिडी हाइड्रोपावरको सेयर मूल्य ३.६० प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य २.९१ प्रतिशतले बढेको छ ।
सम्पत्ति गुमाउनेमा लघुवित्त
बुधबार उच्च सेयर मूल्य झर्ने कम्पनीमा लघुवित्त कम्पनी परेका छन् । कालिका माइक्रोक्रेडिटको सेयर मूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले झर्दा नयाँ नेपाल लघुवित्त र किसान माइक्रोफाइनान्सको सेयर मूल्य ३.९० प्रतिशतले झरेको छ । समता माइक्रोफाइनान्सको सेयर मूल्य ३.८३ प्रतिशतले झरेको छ ।
सेयर सङ्ख्यामा मेघा बैंक अघि
बुधबार मेघा बैंकको सबैभन्दा धेरै ५३ हजार ४ सय ९१ कित्ता सेयर किनबेच भएको छ । एनएमबी बैंकको २८ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा जनता बैंकको २२ हजार ९ सय ९८ कित्ता सेयर किनबेच भएको छ । धेरै सेयर किनबेच हुने १० कम्पनीमा सबै बैंकिङ समूहका कम्पनी रहेका छन् ।
कारोबार सङ्ख्यामा पनि मेघा नै
कारोबार सङ्ख्यामा पनि मेघा बैंक नै अगाडि देखिएको छ । सो बैंकको १ सय ३२ पटक कारोबार हुँदा एनएमबीको १ सय २२ पटक कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १ सय १८ पटक सेयर किनबेच भएको छ । अन्य कम्पनीको १ सय पटकभन्दा कम कारोबार भएको थियो ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण फेरि १४ खर्ब भन्दा तल झरेको छ । बुधबार बजार पूँजीकरण १३ खर्ब ९४ अर्ब कायम भएको छ ।