इटहरीः वि. सं. २०५६ सालदेखि इटहरीमा ग्रील व्यवसाय शुरु गरेका सुरज आङ्देम्बे (लिम्बू) अहिले उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावी मैदानमा छन् । नेपाली युवालाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य एजेण्डा बोकेर उनी इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा होमिएका छन् ।

शैलेश बिष्टको समूहबाट उद्योग तर्फका उम्मेद्वार रहेका उनी भारतीय कामदारको एकछत्र राज रहेको ग्रील व्यवसायमा नेपाली युवालाई रोजगारी दिने कार्यक्रम ल्याउने पक्षमा छन् । नेपाली युवाहरू रोजगारको खोजीमा खाडी मुलुक गइरहेको बेला नेपालमै दक्षता हासिल गरेर विदेशमा भन्दा राम्रो कमाउन सकिने उनको भनाइ छ ।

इटहरी–४ आर्मी क्याम्प छेउमा रहेको गोरखा मेटलका सञ्चालक उनी इटहरीका जुझारु युवा व्यवसायीको रूपमा परिचित छन् । उद्योग वाणिज्य सङ्घमा पहिलो पटक उम्मेद्वारी दिएका उनले घर बहाल कर र युवा जनशक्ति निर्माणको कामलाई प्राथमिकतामा राखेका छन् ।

ग्रील व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका उनी ग्रील व्यवसायमा ढुवानीको समस्या रहेको बताउँछन् । ट्राफिक प्रहरी, स्थानीय सरकार र उवा सङ्घ मिलेमा समस्याको हल हुने उनको बुझाइ छ । आफू निर्वाचित भए यस्ता समस्याको दीर्घकालीन समाधान गर्ने उनको योजना छ । त्यसका साथै कामदारको बीमाको व्यवस्था गरी सुरक्षित तरिकाले काम गर्ने वातावरण सिर्जना गरिने उनी बताउँछन् ।

‘अहिले सामान्य कामदार नै पाउन मुस्किल छ । त्यसमाथि दक्ष कामदारलाई त खोजीखोजी ल्याउनुपर्ने अवस्था छ’, आङ्देम्बेले भने, ‘कामदारको मासिक ज्याला १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म छ । यति हुँदा पनि नेपालमै कामदारको अभाव हुनु दुःखद हो । त्यसैले अबको मेरो योजना नेपाली युवालाई दक्ष बनाएर स्वरोजगार बनाउने हो ।’
ग्रील तथा स्टील व्यवसायमा देखिएको दक्ष जनशक्ति अभाव कम गर्न सीटीईभीटी लगायत स्थानीय सरकारहरूले सहकार्य गरी दक्ष जनशक्ति उत्पादनको लागि काम गर्नुपर्नेमा जोड दिनुपर्ने देखिएको उनको भनाइ छ ।
बैंकबाट लिएको ऋणको ब्याजमा भएको निरन्तरको वृद्धिले अहिले ग्रील व्यवसाय गर्ने अधिकांश व्यवसायीहरू थप समस्यामा परेको उनी बताउँछन् । व्यवसायी जिम्मेवार भई वातावरणमैत्री तरिकाले उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट सहज ऋण उपलब्ध नहुने र चर्को ब्याजदरले गर्दा उद्योगीहरूलाई ठूलो असर परिरहेको उनले बताए । यसको लागि सरकारसँगको समन्वयमा बैंकसँग सहज वातावरण निर्माण गर्न सकिने उनी बताउँछन् ।

देशभर ११ हजार ग्रील तथा स्टील उद्योगहरू रहेको उनले जानकारी दिए । ग्रील तथा स्टील व्यवसायी महासङ्घका अनुसार वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरी ग्रीलजन्य सामानहरूको आयातलाई प्रतिस्थापन गर्न सफल यो व्यवसायले १ लाख ६० हजार बेरोजगार युवाहरूलाई रोजगारी दिएको छ ।

इटहरी उवा सङ्घमा उद्योगको तर्फबाट उम्मेद्वार रहेका उनी सम्पूर्ण ग्रील उद्योगीहरूको लागि टेवा पुग्नेमा विश्वस्त छन् ।