छिमेकी घरमा बासेको भालेको पहिलो डाकले ब्युँझिएँ । केटाकेटीझैं कोक्रोमा आदिम बिहान सुतिरहेको छ । चराहरू आ–आफ्ना गुँडमै छन् । घडीको घण्टे सुइ बिहानीको ३ बजेर ३० मिनेटमा अड्किएको छ । बजारको घर भएकाले घार्रघुर्र गाडीको आवाज सुनिन्छ । बिहानै सधैं मेरो छेउमा आएर ‘बिहान’ मलाई झक्झकाउँथ्यो । आज म बिहानलाई झक्झकाउने भएँ । जान्छुसम्म नभनी मेरो ओछ्यानबाटै निद्रा हराएको छ । बाहिर हेरें, बतास मन्दमन्द गतिमा चल्दैछ । मभित्र खुसी र उमङ्ग बटारिएर गाँठो परिसक्यो । त्यो गाँठो पनि फुकाएर बाँड्ने ठाउँसम्म भेटेको छुइनँ । फूर्ति सलबलाएर मनैभरी भएको छ । नुहाइधुवाइ सकेर नित्यकर्म गरिसक्दा पनि आँखाबाट उज्यालो खसेकै छैन ।
उठेदेखि नै यात्राको आनन्दले गदगद छु । बाटोमा देखिने दृश्यहरू बटुल्ने मज्जाले हराइरहेको छु ।
+ + + +

हो, आज यात्रामा रमाउनु छ । यात्रामा हराउनु छ । ४० वर्षपछिको पहिलो अविष्मरणीय यात्रा !
छकाल भइसक्ता पनि सतिश अझै आइपुगेन । घडीको सुइले मात्र होइन कलिलो बिहानले पनि कुरीकुरी भन्ला भन्ने डर भइसक्यो । बिहान ५ बजे नै हिँड्ने निधो गरेर बेलुका छुट्टिएका भए पनि पौने ७ बज्दासम्म ऊ नआइपुग्दा शङ्का सलबलाउँदो छ । ब्यागमा कपडाहरू हालेको छु ।
सम्झन्छु, लगभग ३ सय किलोमिटर लामो मोटरसाइकलको यात्रा ! त्यो पनि कतै घुमाउरो, कतै उकालो र ओरालो ! यति लामो यात्रामा के बोल्ने होला ? तराइको सम्म र फराकिलो सडकमा गफ गर्दै मोटरसाइकल चलाउन्जेल त ठीकै हो । त्यसपछि पहाडको सडकमा पक्कै असजिलो हुन्छ ।
गफ पनि के गर्ने ? २÷४ किलोमिटर होइन । कि घरव्यवहार र दुःखसुखका कुरा गरेर बिताउँ ? के बोल्ने ? साथीभाइको कुरा गर्ने ? जोरीपारीका कुरा गर्ने ? कि राजनीतिका कुरा गर्ने ? अथवा आफन्तका कुरा गर्ने ? के विकासका कुरा गर्ने ? यति लामो बाटो हिँडेरै मात्र सकिएला ? ऊ, व्यापारका कुरा गर्ला म बुझ्दिनँ । म साहित्यका विषय खोतलौँला । ऊ मन पराउँदैन । केही दिनदेखि एउटा अनावश्यक तर्कनाले चसक्क चस्का दिइरहेको छ ।
+ + +

२ वर्ष पहिले ओखलढुङ्गा जान समालोचक राम्जी तिमलसिना र कवि सीमा आभाससँग सल्लाह गरेको थिएँ । गीतकार व्याकुल माइलाको संयोजनमा साहित्यिक र सांस्कृतिक टोली लिएर दशैं र तिहारको बीचमा जाने । यात्रालाई विशुद्ध यात्रामात्र बनाउने । खाँदै, खेल्दै, रमाउँदै यात्रा गर्ने । कतैकतै साहित्यिक कार्यक्रम गर्ने ।
कति राम्रो हुन्थ्यो होला साहित्यिक यात्रा गर्न पाएको भए ?
गम्भीर मात्र होइन । कहिलेकाहीँ त उटपट्याङ हाँसो पनि चाहिन्छ यात्रामा , त्यस्तो को होला साथी ?
हामी त २ जना मात्र छौं । उमेर र सोच दुवैको निकै अन्तर छ हामीमा । अझ फरक त हामी काका भतिज हुनु हो ।
यात्रा भन्नेबित्तिकै पहिलेको सम्झन्छु । जतिबेला सारा बोझहरू रित्याएर फगत यात्रा मात्र गरियो ।
दाङ जाँदा कवि मनु मन्जिल र रङ्गकर्मी सोनु जयन्ती पनि सँगै थिए । त्योबेलाको यात्रा उटपट्याङ मात्र होइन, रमाइलो पनि थियो । बाटोमा चकलेटी स्याउ र बिस्कुट बोकेको थिएँ । साथीहरूसँग स्प्राइटका बोतल थिए । मैले बसमा चढ्नेबित्तिकै चकलेट दिएँ, खाए । फेरि दिएँ त्यो पनि खाए ।
जब, पटकपटक चकलेट निकाल्न थालें, मनु मन्जिलले भने, दाइ ! के तपाइँले हामीलाई केटाकेटी नै सम्झिनुभएको छ ?’
‘केटाकेटी सम्झेको होइन के, बन्न खोजेको ! यात्रामा केटाकेटी हुनुको मजा नै बेग्लै ।’ अनि एक हलको मेलो हाँस्नुको आनन्द नै अर्कैै !
सँगैमा मेरो स्प्राइटको बोतल रित्तिँदा उनीहरूको त्यही बोतल जति पिए पनि रित्तिँदैनथ्यो ! चन्द्रनिगाहपुर पुगुञ्जेलसम्म बोतल नरित्तिएपछि उनीहरू बसेको सिटमा हेरें, स्प्राइटको बोतल भर्ने अर्का दुइटा बोतल रित्तिइसकेछन् !
म चाहिँ स्याउ र बिस्कुटले आनन्द बटुल्थेंं !
खानामा असमानता भए पनि समानताको यात्रा थियो हाम्रो । बाटैभरी ठट्टा रमाइलो गर्दै चलाएको त्यो बेलाको यात्रा आज फर्किएला त ?
एक मन त नजाउँ कि, जस्तो पनि लाग्छ ।
यात्रा केटाकेटी जस्तै फुर्तिलो भएन भने ? यात्रा बुढाबुढीजस्तै गह्रुङ्गो भयो भने ?
+ + + +

आजभन्दा ५ वर्ष अघि भारतको कालेबुङ जाँदाको जस्तो यात्रा त हुँदैन नै । कमसेकम त्यसको एक चौथाइ मात्रै भए पनि रमाइलो हुन्थ्योजस्तो लाग्छ । उमेरले अरुभन्दा पाको भए पनि युवाभन्दा कम भइनँ यात्रामा । गम्भीर ठट्टा पनि कम आनन्दायी हुँदैन ! पान पसलछेउमा अडिँदा कवि हेमन यात्री र कवि देवान किराती पसलबाट निकालेर मलाई सलाई र चुरोटको बट्टा समाउन दिन्थे र फोटो खिचेर मसँग रमाइलो सौदाबाजी गर्थे । कसैले खाँदै गरेको बियरको बोतल अघि राखेर फोटो खिच्थे ! म कालेबुङको शिरमा उभिएर कञ्चनजङ्घाको लोभलाग्दो दृश्य आँखामा राखेर रमाइरहेको थिएँ । पछाडिबाट पिसाब गर्न उभिएकै भावभङ्गिमाको फोटो खिचेर अर्का कवि सुदीप पाख्रीनले फेसबुकमा हालेर मलाई जिस्क्याइरहेको शर्माइलो दृश्य के आज पनि बटुल्न पाइएला ? सरल हिँड्नु र सिधा बोल्नु मात्र त यात्रा नै होइनजस्तो लाग्छ ।
मेरो ठम्याइमा, यात्रामा ठट्टा औषधि नै हुन्छ !
कालेबुङको रमाइलो यात्राले चिमोटिरहन्छ । आजको यात्रा के त्यस्तै हुन्छ ? के आजको यात्रामा कवि टीका भाइकै हाराहारीमैं कोही आएर सबैको नक्कल गर्दै आफू नहाँसी अरुलाई रातैभरी हँसाउलान् ? के कवि मनोज बोगटी र कवि राजा पुनियानीहरूले झैं रातलाई जाग्राम राख्न सक्ने ल्याकत कसैसँग छ ?
के अरुलाई मताउन भनेर आएका मदिराका भरी बोतलहरू आफैं मातेर कवि मित्रहरूकै वरिपरि भुइँमा रित्तिएर ढल्लान् त ? ओखलढुङ्गा जाँदा आउँदाको यात्रा आफ्नो नियन्त्रणमा रहला ?
पहाड जाने कुरा गरेदेखि नै सखी विमला खिन्न छिन् । भन्छिन्, ‘यति लामो बाटो मोटरसाइकलको पछाडि गारो हुन्छ । कसरी पो पुग्नुहुन्छ ? ढाड दुख्छ । यो पेटी लैजानू र कम्मरमा बाँध्नू । ....... पछि ऐया, आथ्थो गर्ने चै होइन नि !’ मोटरसाइकल हाँक्ने मान्छे हेर्दै रक्सी खानेजस्तो अनुहार छ... । साँच्ची, रक्सी पनि खान्छ ? हरेक पल्ट शङ्कालु प्रश्न मात्र गर्छिन् ।
लख काट्छु –अनुहार त्यस्तो देखिए पनि मदिरापान गर्दैन र अरुबेला पिइहाल्यो भने पनि यात्रामा पक्कै पिउँदैन । म ढुक्क छु । यति बाटो सहजै पुगेर आउँछु ।
+ + + +

आमा बिउँझनुभएको छ तर ओछ्यानबाट उठ्नुभएकै छैन ।
मैले भनें, ‘आमा, म माम्खा जाँदैछु त !’
‘हो र नानी ? होशले जानू है ! ...खबर गर्नू नि पुगेपछि’ भन्नुभो ।
बल्लबल्ल ७ बजे ऊ आयो । दिक्कलाग्दो पर्खाइले ऊसँग त्यति खुलेर बोल्न पनि सकेको छुइनँ । मैले लान ठिक्क पारेको ब्यागका लुगाहरू उसको ब्यागमा राख्यो । हामी लगत्तै हिँड्यौं ।
+ + + +

आज ४० वर्षपछि मेरो जन्मथलो जाँदैछु । जन्मघर जाँदैछु । यति मीठो खबर सुन्न परिवारबाहेक कोही छैनन् अगाडि । छिमेकीहरू पनि कोही आएका छैनन् । म जान लागेको खबर चराचुरुङ्गीहरूलाई समेत थाहा छैन । यही हावालाई मात्र थाहा छ । ऊ पनि रातिको धङधङीले लाटो भएको छ । शायद उठेकै छैन होला । हेर्छु यताउता हावाको कुनै चालचुल छैन । हुन त घरलाई पनि थाहा छ । तर घर कसैलाई भन्न जाँदैन । अरुले थाहा नपाएसम्म यात्रा । यात्राजस्तो पनि हुन्न । खल्लो हुन्छ ।
आऽऽ जेसुकै होस् ! मैले यही सोचेर यात्रा साइत गरें ।
बुलेट मोटरसाइकलमा छौं । हावाको वेग र बुलेटको गति समान छ ।
खुसीहरू बोकेर, उमङ्ग बोकेर, उत्साह बोकेर सवार भएका छौं । आफैं आफ्नो ‘सवारी’ चलाउँदैछौं ।
यात्रामा यतिविघ्न खुसी कहिल्यै भइनँ म ।
लौकहीमा रोकेर उसले चिया पिउने भन्यो । भित्रभित्रै त अगाडि जान पाए नि हुने जस्तो भो ! फेरि सम्झें, हिँडेपछि एकलकाँटे हुनुहँुदैन । मैले नाइँ भन्नै सकिनँ ।
सधैं हिडिरहेर होला महेन्द्र राजमार्गको यात्रा त यात्राजस्तै लागेन ।
बीचमा के कस्ता दृश्य थिए अथवा देखिए ? हरियाली थियो कि सुख्खा ? केही भेउ पाइनँ ।
मन माम्खामा पुगिसकेको थियो र आँखाहरूले सिधै उत्तरतर्फ निशाना लगाइरहेका थिए ।
थाहै नपाई हामी महेन्द्र राजमार्गको मिर्चैया बजारबाट उत्तर हान्नियौं । अब विश्वस्त भएँ– साँच्चै जन्मथलो जाँदैछु ! जन्मघर जाँदैछु !
मिर्चैया बजारबाट उत्तर हान्निएपछि शिरमा टोपी लगाएका जो कोही चिम्सा आँखा भएका मानिसका अनुहारमा पूर्व मन्त्री बलबहादुर राईलाई नै देख्छु र उनैलाई सम्झन्छु । उनकै प्रयासमा बनेको यो राजमार्गमा उनलाई बिर्सनु पनि ठीक लागेन मलाई ।
सतिश यता आएकै छैन । ४० वर्षपछि नै भए पनि यतिबेला बाटो देख्ने नाइके मैं हुँ ।
मानौँ म कृष्ण हुँ र ऊ अर्जुन । हामी महाभारतको युद्धमा छौं । जहाँ जित्नु छ सजिलै यात्रा । रोचक यात्रा । रोमाञ्चक यात्रा । रमणीय यात्रा ।
लागिरहन्छ, यो भीमकाय मोटरसाइकल । हाँक्ने नयाँ मानिस छ ! कुन बेला के कसो हुने हो ? घरिघरि उठ्ने शङ्काहरू रहरले थिचिएका छन् । बिग्रिएको बाटोमा हामी अघि बढ्दैछौं ।
गन्तव्य हामीलाई बोकेर हिँडिरहेको छ ।
+ + + +

हाम्रो यात्रालाई स्वागत गर्न पनि राजमार्ग झन्झन् फराकिलो भएको छ । हामीलाई देख्नेबित्तिकै राजमार्ग किनारका रुखहरू हामीसँग हात मिलाउँदै दगुरिरहेछन् । बाइबाइ गर्दैछन् गाउँबस्तीहरू । बिस्तारै पछाडि सर्दैछ चुरे । भीड, हटाइरहनु पर्दैन । आफैं किनारा लाग्छ । हाम्रो मुस्कान हेरेर सबै हाँसिरहेझैं, सबै नाँचिरहेझैं मात्र लाग्छ । सवारीमा कुनै अवरोध छैन । हाम्रो बिन्दास यात्रालाई एकतमासले हेरिरहेछ आकाश ।
+ + + +

घडीले बिहानको १० बजाउँदा हामी कटारी बजारमा छौं । प्रश्न गर्छु, घडीको सुइ छिटो हो कि, बुलेटको गति ?
कटारी बजार, ओखलढुङ्गा, खोटाङ र सिन्धुली जिल्लाको नुनतेल बोक्न आउने पहाडको बजार । उहिल्यै त भरियाहरू ढाकरमा ढिके नुन लैजान्थे । टिन र चौथाइमा मट्टीतेल लैजान्थे ।
हो, त । ४० वर्ष अघि यो कटारी बजार केटाकेटीझैं लाग्थ्यो, एक्लै खेलिरहेझैं । हाटबजारको दिनबाहेक अरु दिन सुनसान हुने बजार अहिले खचाखच देख्छु ।
आज मजस्तै प्रौढ भएछ ।
त्योबेला मेरा पनि जुँघारेखी मात्र थिए । टुसाउन खोज्दै थिए दारी । उमेर छिप्पिँदै छिप्पिँदै गएपछि निख्रिदै जाँदो रहेछ आयु । अगाडि आएकालाई सम्हाल्न नसके पनि, हिँड्नेहरूलाई हेरिरहन्छ कटारी । हस्याङफस्याङ गर्छ । बेफुर्सदिलो छ । कटारीको बजारक्षेत्रबाट हामीले यात्रा चलाएका छौं । उसलाई नबोलाई हिँड्दैछौं । गम्छु पक्कै थाहा हुनुपर्छ उसलाई, यिनीहरूलाई ओखलढुङ्गा पुग्न हतार छ भनेर ।
बुलेटमा पछाडि बस्न सकस हुने, तर मैले नै रहर गरेकाले जतिसुकै अप्ठ्यारो भए पनि सजिलै बसेको छु । धन्न ! विमलाको फराकिलो कम्मरपेटी बाँधेको छु र मात्र ।

कटारी बजारभन्दा निकै माथि रोकिएको छ बुलेट । सतिशले घरबाटै ल्याएको २ पोका चाम्रे निकाल्यो । पोकामा अचार र आलुको तरकारी पनि छ । अघि कटारी बजारमा किनेको २ बोतल पानी लिएर हामी खान बस्यौं । सम्झें, ऊ बेला बेसार नुन हालेको चाम्रेलाई ठाडोपुवा भन्थे । नुन हालेको ठाडोपुवा । आज, उसले ठाडोपुवा अर्थात् चाम्रे ल्याएको छ, त्यो पनि यात्रामा ।
यात्रा बिन्दास हुनुपर्छ । वेपरवाह हुनुपर्छ । यात्रा त रमाइलोका लागि हुनुपर्छ । मैले यही सोचेर घरबाट खानेकुरा बोक्ने इच्छा नै देखाइनँ । जहाँ जे पाइन्छ त्यै खाने हो । जहाँ जस्तो पाइन्छ त्यसमैं रमाउने हो । भए अघाउने हो नभए भोकै पनि हिँड्ने हो । यात्राको म जोगी । मैले केही बोकेको छुइनँ । फगत म छु र लाउने लुगाहरू । तर यो उमेरमा पनि ऊ बन्दोबस्तका साथ आएको देखेर अनौठो लाग्यो ।
एक प्रकारले म खुसी भएँ । किनभने यात्रामा साँच्चैको केटाकेटी नै रहेछु !
+ + + +

 

बुलेट अगाडि बढ्दैछ हामीलाई बोकेर । मानौं बुलेट घोडा हो र सतिश करेली लगाएर घोडा कुदाइरहेको छ । म उसको पछाडि काठीमा छु । हाम्रो यात्रा यात्राजस्तै भएको छ अब ।
बनाएदेखि कहिल्यै मर्मत नभएकोजस्तो बाटोमा छौं । बाटोभरि धुलोको थाक छ । धुलोमाथि हामी । धुलैधुलो बोकेर हिँडेका छौं । जहाँ राम्रो होला भनेको बाटो त्यहीँ १ हात बराबर धुलो जमेको छ । मैले यात्रामा निस्केपछि कालोपत्रे सडकको यति बिजोग देखेकै थिइनँ । अलिअलि बिगँ्रदै बनाउँदा थोरै बजेटले पुग्थ्यो । अहिले त फेरि शुरु गर्नुपर्छ जगैबाट ।
हाम्रो भाग्य र भविष्य बनाउँछु भन्नेहरूको दृष्टि र दृष्टिकोण कहिले आउला ? कठै !
ठूला ठूला ट्रकगाडीहरू बुढो भरियाले ठसठसी कन्दै भारी बोकेर हिँडेझैं अगाडि बढ्दैछन् । तराइले पहाडलाई पठाइदिएको खुशी र आनन्द छ ट्रकमा ।
ट्रक नै स्याँस्याँ र फ्याँफ्याँ गर्दै, ठसठसी कन्दै हिँड्ने बाटोमा अँचेट्न खोज्दाखोज्दै पनि बुलेट अगाडि बढ्न सकेन । जङ्गलबीचको सडकमा बुलेट पल्टियो ।
लडाकुजस्तो देखिने सतिशको अनुहार पराजित सिपाहीको झैं हेर्न लायकको भयो । बुलेट पल्टिएको भन्दा पनि म समेत लडेकोमा चिन्तित छ ऊ । यो विकट ठाउँमा कथम् खुट्टा भाँच्चियो या गम्भीर चोटपटक लाग्यो भने घरबाट अपजस खानुपर्ला र बिजोग होला । यात्रा, यात्रा नभएर जात्रा होला भन्ने लागेछ क्यारे ! ऊ अत्तालियो । आत्तियो र करायो ! मलाई थाहा छ, उसको सम्पूर्ण ध्यान मैतिर छ ।
हामी बुलेटमुनि छौं । तर हामीलाई केही भएको छैन । बुलेटको लेगार्डले हामीलाई जोगाएको छ । हेर्छु, सतिशको हात खुट्टा र शरीर थरथरी काँप्तैछ । तर पनि केही नभएझैं भएर मलाई केही भएनभएको हेर्छ । म हाँस्छु मात्र । किनकिन मलाई डर त रत्ति पनि छैन । बाटोभरि कुनै दुर्घटना हुन्छ भन्ने नै छैन । कतै अप्ठेरो पर्ला कि भन्ने नै छैन र गन्तव्यमा नपुगिएला भन्ने नै छैन । अफिसबाट हिँड्ने बेलामा विनोद मण्डल र कृष्ण पोखरेलले एकमुख भएर भनेका थिए, मोटरसाइकलमा यति लामो यात्रा गर्दैहुनुहुन्छ, लड्नुहोला नि ! म निश्चिन्त छु । मलाई केही हुँदैन । यात्रामा यति धेरै विश्वास बोकेर शायदै हिँडे हुँला ।
वरिपरि हेरें । बाटोमा बिच्छ्याइएको गिटी समेत छैन । कुनै नामनिशाना छैन पानी बग्ने खोल्सीको । घुमाउरो धुलाम्मे बाटोमा छौं । ट्रकगाडीका चालक भन्छन्, बाटो निकै अप्ठेरो छ । कसरी पुग्नुहुन्छ घुर्मी ?

उकालो बाटोमा हिलोभन्दा पनि धुलोमा पो अप्ठ्यारो हुँदो रहेछ मोटरसाइकल चलाउन । सम्हाल्न खोज्दाखोज्दै पनि फेरि लड्यो बुलेट । त्यसैगरी जोतियौं धुलोमा । यसपल्ट पनि हामीलाई कुनै चोटपटक लागेन ।
यसरी लड्ने क्रम तीन चोटि चल्यो ।
+ + +

कताकता गफ गर्ने विषय नै सकिएजस्तो लाग्यो मलाई । के भनौं के भनौं भो । सतिशको अनुहार निन्याउरो छ । अझै कति ठाउँमा पर्लकपर्लक पल्टिने हो बुलेट ? मैले भनें,अघि हामी ३ पल्ट किन लड्यौं थाहा छ ? उसले कान ठाडा पा¥यो र प्रश्न खप्ट्यायो, किन ? हामीले जुन ठाउँमा खाना खायौं नि ! हो, त्यो ठाउँमा मन्दिर थियो ! मन्दिरको छेवैमा बसेर देउतालाई नचढाई खाएपछि देउता रिसाए, बुझ्यौ ?
उर्जा सकिएजस्तै भएको उसको अनुहार एकाएक चम्किलो भयो । भन्यो, हो । वास्तवमा तपाईँले ठीक भन्नुभो ! हामीले गल्ती गरेकै हो । फर्किदा मलाई सम्झाउनु है । म भेटी चढाउँछु ।
उसले मन्दिर सम्झियो र देउता । तर मनमनै मैले इटहरी सम्झें र माम्खा ।
हामीलाई झण्डै एक घण्टासम्म गफ गर्ने विषय देउता र देवीकै बन्यो र हाम्रो यात्रा रसिलो भयो ।
पर्लकपर्लक बुलेट लडेपछि कुनै सिकारु चालकले सवारी हाँकेझैं सुस्तरी बुलेट हाँकिरहेछ सतिश ।
मानौं, कुनै भङ्ज्याहा जँड्याहा हो यो बाटो । जो हरेक घुम्ती र भिरालोमा हामीसँग निहुँ मात्र खोज्छ ।
हामीले लगाएका पेण्ट र सर्टहरूभरी धुलो बोकेर अगाडि बढ्दैछौं । लाग्छ, कहिले बुलेटमाथि हामी हुन्छौ र कहिले हामीमाथि बुलेट ।
+ + +

३ ठाउँमा लड्दै, १० ठाउँमा झर्दै र बुलेट डोहो¥याउँदै घुर्मी पुग्यौं ।
उसले लामो सास फे¥यो । फर्किदा त यो चिहाने बाटो नआउने है भन्यो । एउटा गाडी खोज्ने, बुलेट त्यही गाडीमा हाल्ने र यही बाटो भएर कटारीसम्म जाने प्रस्ताव गरें मैले ।
चिया पिउन्जेल गर्माइलो यात्राको धङधङाइलो लडाइँ सम्झेर हाँस्यौं ।
कहिलेकाहीँ स–सानो दुर्घटना पनि रमाइलो हुँदोरहेछ हकि ?
+ + +

धन्यवाद, बुङ्बुङ्ती धुलो उडाउँदै स्वागत–सत्कार गर्ने बाटोलाई ! धन्यवाद, गुणस्तरीय बाटो निर्माण गर्ने ठेकेदारहरूलाई ! धन्यवाद, योजना बनाउने र अनुगमन गर्ने नीतिनिर्माताहरूलाई ! धन्यवाद छ, देखेर पनि नदेखेझैं गर्ने देशका भाग्यविधाताहरूलाई !
+ + +

घुर्मी प्रहरी चौकीका असइ चन्द्र फुयँलसँग परिचय ग¥यौं । उनले भने, माम्खामा पनि पोखरेल थिए र ? माम्खाली पोखरेलका किंवदन्तीको भेउ नपाउने सोलुखुम्बुको नेचामा जन्मेका ती असइका व्यङ्ग्यात्मक प्रश्नहरू उनैलाई फिर्ता गर्दै अगाडि बढ्यौं हामी ।
३० सालमा ओखलढुङ्गा ‘हान्न’ काङ्ग्रेसी लडाकु हिँडेको बाटो हिँड्दैछौँ । तर हामी ‘हान्न’ नभएर ओखलढुङ्गालाई ‘मान्न’ जाँदैछौ ।
घुर्मी–ओखलढुङ्गाको सडकमा छौं । लाग्छ अघि हामी आएको घुर्मीसम्मको बाटोभन्दा फरक छ यो बाटो । धुले बाटाका पीडाहरू खुसीमा साटिएका छन् । त्यसो त धुले बाटोमा पनि उल्लेख गर्नै पर्ने पीडा थियो नै कहाँ र ? खुसीमा आउने आँसु जस्तै थिए पीडाहरू !
+ + +

हेर्छु, ४० वर्ष अघिको बाटो छैन । ती गोरेटाहरू छैनन् । ती घुम्तीहरू छैनन् । ती पानीका पँधेरा छैनन् । यिनै पाखापखेरा हुँदै त झरेको हुँ नि ! यिनै बुटाहरू समाउँदै ओर्लिएको त हुँ नि ! यी कान्लाहरूबाट हामफाल्दै दगुरेको त हुँ नि ओखलढुङबाट तराई ! बाटो नै नभएपछि अरु के पो होला खै ? के मेरो विगतको ओखलढुङ्गा छैन ? के मेरो स्मृतिको माम्खा छैन अब ? प्रश्नहरू मात्र छन् मनमा । यिनै प्रश्नहरूको उरुङ बोकेर हिँड्दैछु ओखलढुङ्गा ।
हो, अब पुरानो बाटो छैन । नयाँ मात्र छ । गोरेटो घोरेटो भएको छ । घोरेटो बाटो भएको छ र बाटो सडक भएको छ । यही सडक पनि सडक होइन, राजमार्ग भएको छ । हेर्छु राजमार्गले पाएको विशेषण पनि असजिलो भारीजस्तो !
कटारी– घुर्मीसम्मको यात्रामा गुम्दै गएको उमङ्ग धन्न ! यो राजमार्गले उकासिदिएको छ ।
हामी लगलगेमा छौं । सबै हरियैहरिया जस्तापाताले छाएका घर । राता माटो र सेतो कमेरोले पोतेका घर । यी घरहरू हेर्दा यतै बसूँबसूँ लाग्ने । हेरुँहेरुँ लाग्ने, घरहरूसँग बोलूँबोलूँ लाग्ने । कति सुन्दर गाउँ ! आज सँगसँगै टेलिभिजन पत्रकार हिमाल दाहाल र मिलन बिछोड भएका भए यो गाउँलाई हेरेर कति क्लिकक्लिक गर्थे होलान् ?
भन्छु, यी राता घरहरू कि त बाहुन क्षेत्रीका हुन्, कि त दमाइ, कामी र सार्कीका हुन् ।
ऊ भन्छ कसरी ?
‘मलाई थाहा छ । राई, मगर र गुरुङहरूले बिरलै माटो वा कमेरोले पोत्छन् । गाउँमा कुन कसको घर हो छुट्टिन्छ, बुझ्यौ ?’
थाहा छैन, उसले बुझ्यो बुझेन । तर मैले बुझें । हामी ओखलढुङ्गा बजार पुग्न अब धेरै छैन । अब, ओखलढुङ्गासम्मको हाम्रो यात्रा झन् सहज र सरल छ ।
लगलगे शान्त छ । समृद्ध छ र सुग्घर छ । हरिया फाँटहरूले यही भनिरहेका छन् ।
हो, मेरो प्यारो ओखलढुङ्गाको गाउँ । जहाँ सौन्दर्य फूलझैं फुलिरहेको छ ।
हरेक घुम्तीहरूमा, हरेक मोडहरूमा र हरेक भञ्ज्याङहरूमा जब पुग्छु । मेरो प्यारो जन्मथलो आँखामा चलचित्रको रिलझैं घुमिरहन्छ । स्मृतिको बगैंचामा नाचिरहन्छ । खुशीका आँगन –आँगनमा खेलिरहन्छ ।
+ + +

अब, आइपुग्यौं भन्दा पनि हुन्छ बजार । सोध्छु – कति लाग्छ ऊ, त्यहाँ.. बजार पुग्न ?
आहा ! आधा घण्टा पनि लाग्दैन रे ! यो आधा घण्टा कत्ति पनि होइन । पसलमा बसेर एक कप चिया पिएजति । उभिएर बटुवाहरूलाई बाटो सोधेजति । एक जुम खैनी मोलुन्जेलजति । चौतारीमा उभिएर पसिना पुछुन्जेलजति । देउरालीमा पुगेर धुर्सुलपाती चढाए जति । यो आधा घण्टा ! आधा घण्टाभन्दा पनि कम ! ममा हर्षको सीमा नै छैन ।
चिल्ला सडकमा एकै छिन भए पनि हरिया फाँट र घना जङ्गलको आनन्द बटुल्दै, बत्तिँदै पुग्यौ ओखलढुङ्गा बजार ।
कस्तो सुन्दर छ हाम्रो देश ? बिहान तराइको तेर्साे र सम्म बाटोमा हिँडेका हामी अहिले चुरेको सुख्खा फाँट हुँदै पहाडको यो चिसो ठाउँमा आइपुगेका छौं । आजको आजै गर्मी छिचोलेर जाडोमा छौं । १÷२ घण्टामै फेरिन्छ मौसम । संसारमा बिरलै छन् यति सुन्दर ठाउँ जुन हामीले पाएका छौं ।
यो समय, भू–स्वर्गमा छौं र रसपान गरिहेका छौं ओखलढुङको ।
+ + +
बुलेट रोक्न लगाएँ वरै र ओखलढुङ्गा बजारलाई निकैबेर हेरिरहें । जसरी म सानो छँदा परदेशबाट आउनुभएको बुबाले मलाई हेर्नुभएको थियो एकटकले ।
म सानो थिएँ । अलिअलि थाहा पाउँछु । बुबा पछाडिपटि एउटा गह्राँै कुम्लो र हातमा झोला बोकेर आउनुभो आँगनमा । दलानमा खेलिरहेको थिएँ । आमाले ऊ बुबा ....भनेर देखाउनुभो । बुबालाई मैले हेरें , केही भन्न र बोल्न सकिनँ । लाज, घुर्की र खुसी एकैचोटि भुमरी परेर आए । घरिघरि त आँखा भुइँमा खसाल्थें । बुबाले मलाई निकैबेर हेर्नुभो र मुस्कुराउँदै कुम्लो बिसाएर २ हात फैलाउँदै बोक्नुभो ! बुबाको त्यस्तो खुसी २÷३ पल्टमात्र देखेको छु जीवनमा ।
सोच्छु, ओखलढुङ्गा बजारलाई बुबालेझैं च्याप्प पारेर कुन भागबाट हेरौं ? पूर्वबाट हेरौं कि, दक्षिणबाट हेरौं ? हेरेको हे¥यै गरुँ कि, बिसाउँदै हेरौं ? कि अघाउन्जेल हेरौं ? खुसीले प्रश्नहरू आफैं प्रेमिल बनेका छन् । थकान र भोक हराएर गएको छ । सारा उमङ्ग र आनन्द मात्र छ मनमा ।
उसलाई भन्छु, यहाँबाट पूर्व यता । ऊ, त्यो पर... देखिने अग्लो डाँडा हो माम्खा । यताको समतल फाँट रुम्जाटार ।
+ + +

रुम्जाटार, सुन्नुहुन्छ त मैले सुनेको कथा ?

‘नेपाल घुम्न आएका दुइजना खैरेहरू रुम्जाटार पुगेछन् । गुरुङको घर । बाहिर उभिए । हेरे, दलानमा गुन्द्री ओछ्याइएको छ र गुन्द्रीमाथि राडी । राडीपाखीको खानी रुम्जाटारमा राडी ओछ्याइनु अनौठो भएन ।
बसे राडीमा । नजिकै आम्खोरामा पानी छ र छेउमै, थालमा अकबरे खोर्सानी छ ।
हुन सक्छ, यो पानी गुरुङसेनी आमाले पिउनका लागि ल्याएकी हुन्, अथवा हातखुट्टा धुन ल्याएकी हुन् । हुन सक्छ बारीबाट भरखरै टिपेर भित्र हुल्नका लागि राखेको होस् अकबरे ।

सम्झे नेपालीहरूको स्वागत सत्कार गर्ने गजबको परम्परा ! र मनमनै धन्यवाद दिए घरबेटीलाई । यति विघ्न श्रद्धा गरेकोमा !
यति ह्ृष्टपुष्ट हरियो रातो फल ! पक्कै मीठो र स्वादिलो हुनुपर्छ । पहिलो खैरेले हातमा खोर्सानी लियो र क्वाप्प मुखमा हाल्यो ! मुखमा हालेको खानेकुरा कसले नचबाउला र ? उसले चबायो !
आँखाभरी टिलपिल भएर आँसुु छचल्किए र साउनको मूल फुटेझैं झरे गालाबाट !
दोस्रो खैरेले ठान्योे, साथीलाई पक्कै ठूलै पीर प¥यो । सोध्यो, के भो तँलाई ? किन रोएको ?
रिस र पीरोले खपिसक्नुभएको छैन । जवाफ दिऊँ कि नदिऊँ ? उसले सोच्यो, आफू त यो घानमा परेंपरें, यो बजियालाई किन छोड्नु ?
राल सिंगान पुछ्तै भन्यो, ‘५० वर्ष पहिले मेरा हजुरबा मरेका थिए रे ! आज उनै हजुरबालाई सम्झेर रोएको !
दोस्रो खैरे केही भावुक भयो । शायद यो फल खाएपछि पितृ पुर्खाहरूको याद आउँछ कि कसो ? हातमा लिएको अकबरेलाई ओर्काइफर्काइ ग¥यो र मर¥याङम¥याङ ! मर्कायो । उसका आँखा पहिलो खैरेकाजस्तै राता र रसिला भए । रोक्न खोज्दाखोज्दै पनि आँसुको बाँध फुट्यो । केही राहत मिलेझैं गरी दोस्रो खैरेलाई पहिलोले सोध्यो, तँ चैँ किन रोएको नि ?
भन्न त उसलाई ‘झ्याक्ने ! अघि किन भनिनस् पीरो छ भनेर ? ...... तेरो बाउ ....ईऽऽऽ ... भनेर को नि केजाति देखाइदिएर दुबै हातले लाऽऽ भन्न मन थियो , तर आफूलाई केही नभएको भान पार्दै भन्यो, ‘१ सय वर्ष पहिले मरेका मेरा जिजुबाजेलाई सम्झेर रोएको !’
+ + +

बाटामा हामीले सल्लाह गरिसकेका छौँ । बुलेट एक्लै यतै बजारमा बस्नेछ र हामी दुइ जनामात्र जानेछौं माम्खा ।
‘बाटो हिँड्ने बटुवा थाकेर, उत्तानो परेर सुतेझैं देखिने रातो पाटो हो रुम्जाटार । यो दायाँतर्फको तलुवा निसङ्खे हो । त्यतैतिरका हुन् रुक्माङ्गद कटुवाल । ’ ऊ, हेरिरहन्छ मैले औँलो देखाएतिर ।
भन्छु, यो लामीसोती । पहिले त दाहालहरू बस्थे । माम्खाबाट ओखलढुङ्गा बजार आउने जाने बाटो ऊ त्यो तलको हो ।
वास्तवमै यतिबेला ऊ लाटो भएको छ । उसका लागि यो सबै गाउँ ठाउँ नै नयाँ । जता जता मेरो औंलो र आँखा फर्किन्छ उतैउतै ऊ फर्किन्छ र हेर्छ ।
ओखलढुङ्गा बजार र मेरो पुरानै चिनजान हो । दुवै परिचित छौँ । तर यहाँका मानिसहरू मसँग बिलकुल अपरिचित छन् र मानिसहरूका लागि म पनि ।
हामी अपरिचित अनुहारमा मिसिएर घुम्दैछौँ बजार ।