इटहरीः भारतको कोलकत्तामा भइरहेको टीटीएफ (ट्राभल एण्ड टुरिजम फेयर) मा भिजिट नेपाल २०२० को लागि पर्यटन प्रवद्र्धन गर्न नेपालले पनि स्टल राखेको छ ।

नेपालले राखेका स्टलमा १ नम्बर प्रदेशका १३ जना पर्यटनकर्मी र व्यवसायीले आफ्नो व्यवसायको साथै १ नम्बर प्रदेशकै पर्यटकीय गन्तव्यको प्रचार गरिरहेका छन् । टुरिजम बोर्डले १ नम्बर प्रदेशको पर्यटकीय प्रवद्र्धनको लागि निःशुल्क स्टल उपलब्ध गराएको व्यवसायी भविष श्रेष्ठले बताए

होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले पूर्वका पर्यटकीय गन्तव्यको ब्रोसरलगायतका सामग्री वितरण गर्नुका साथै आवश्यक जानकारी दिइरहेको बताए ।

होटल सेछका सञ्चालक वासुदेव बरालले पूर्वको धार्मिक पर्यटकीय क्षेत्रमा आफूले जोड दिएको बताए । शुक्रबार शुरु भएको ३ दिने मेलामा भारतका सबै प्रान्तका साथै नेपाल, बङ्गलादेश, श्रीलङ्का र थाइल्याण्डका पर्यटन व्यवसायी सहभागी छन् ।

व्यवसायी श्रेष्ठका अनुसार शुक्रबार पत्रकार र सहभागीबीच अन्तरक्रिया भएको थियो । आज शनिबार पत्रकार, सहभागी तथा भारतीय होटल सञ्चालकसँग अन्तरक्रिया हुनेछ । आज बेलुकादेखि भोलि दिनभर भने सर्वसाधारणका लागि मेलास्थल खुला गरिने आयोजकले जनाएको छ ।

१ दिनमा ३ लाखदेखि ४ लाख जनाले मेलाको अवलोकन गर्ने भनिएकोमा शुक्रबार पत्रकार र मेलामा स्टल राख्नेका साथमा अन्य अतिथि गरी १ लाख जनाले मेलाको अवलोकन गरेको र अन्तरक्रिया गरेको श्रेष्ठले बताए ।

‘पहिलो र दोस्रो दिन बीटुबी (बिजनेस टु बिजनेस) अन्तरक्रिया हुन्छ,’ फोन सम्पर्कमा श्रेष्ठले भने, ‘अन्तिम दिन मात्रै सर्वसाधारणसँग अन्तरक्रिया र जानकारी दिने काम हुनेछ ।’

व्यवसायी पराजुलीका अनुसार स्टलमा ७÷८ सय टेबल छन् । प्रदेश नम्बर १ बाट मेलामा सहभागी हुनेले पूर्वको पर्यटन व्यवसायको बारेमा जानकारी दिइरहेका छन् । जोगबनी र काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेपछि कुन ठाउँमा कसरी पुग्ने, त्यहाँको विशेषता के छ भन्ने लगायतका विषयमा जानकारी दिइरहेको उनले बताए ।

kalkatta  (1) kalkatta  (3) kalkatta tmt (2) tmt (1) tmt (3)