इटहरीः भारतको कोलकत्तामा जारी ट्राभल एण्ड टुरिजम फेयरबाट १ नम्बर प्रदेशले राम्रो लाभ लिन सक्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सिना बताउँछन् ।

‘एकै थलोमा बसेर भारतीय पर्यटकलाई नेपालको पर्यटन र संस्कृतिको बारेमा जानकारी दिने यो उपयुक्त अवसर हो,’ सो फेयरमै रहेका तिमल्सिनाले फोन सम्पर्कमा भने, ‘१ नम्बर प्रदेशको नजिकको प्रान्तमा पर्यटन मेला लागेको हुनाले भारतीय पर्यटकलाई नेपालको १ नम्बर प्रदेशमा रहेका पर्यटकीय स्थानको जानकारी दिन सहज हुन्छ ।’ १ नम्बर प्रदेशबाट १३ जना पर्यटनकर्मी सहभागी भएकाले र कोलकत्ताबाट नजिकै रहेकाले पनि मेलाले पूर्वका पर्यटनकर्मीलाई धेरै फाइदा पुग्ने उनको भनाइ थियो ।

शुक्रबार भन्दा शनिबार मेलामा उत्साह थपिएको र भारतमा सार्वजनिक बिदा हुने दिन आइतबार सर्वसाधारणको लागि मेला खुला हुने हुनाले भीड अझ बढ्न सक्ने उनले बताए । भारतीय पर्यटकलाई प्रदेश नम्बर १ का व्यवसायीसँग लिङ्क गराउने राम्रो अवसर जुरेको उनको भनाइ छ ।

नेपालको पूर्वी क्षेत्रको प्रचार गर्न तथा पर्यटनकर्मी र व्यवसायीबीचको बीटुबी (बिजनेस टु बिजनेस) नेटवर्क बढाउन टीटीएफ सहयोगी हुने उनले बताए । टीटीएफबाट प्रदेश नम्बर १ का साथै पूरै नेपालले ठूलो उपलब्धी लिन सक्ने उनको भनाइ छ । ठूलो सङ्ख्यामा भारतीय पर्यटक भित्र्याई नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो फेयरले ठूलो सहयोग गर्ने तिमल्सिना बताउँछन् ।