धरानः असारे झरीको पर्वाह नगरी शनिबार पूर्वका स्रष्टाहरू धरानमा भेला भए । सन्दर्भ थियो, २ सय ६ औँ भानुजयन्ती ।

त्यस क्रममा स्रष्टाहरूले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गरे । कालकूट साहित्यिक मञ्चको आयोजनामा भएको सो कार्यक्रममा अविराम क्रान्ति, सुदीप पाख्रिन, प्रदीप मेन्याङ्बो, दीपक पराजुली, प्रकाश दिप्साली, इन्दु योञ्जन, उत्तम लिम्बू, मणि राई गोठाले, नवराज मैनाली, प्रगति राई उदगारले कविता वाचन गरेका थिए ।

‘स्रष्टा र सिर्जना मन्थन’ शीर्षकमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप भण्डारीले समाजलाई समुन्नत बनाउन स्थानीय तहले कलासाहित्यको विकासमा पर्याप्त ध्यान पुर्याउनुपर्ने धारणा राखे । यसैगरी, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले सङ्घीयताका कारण अहिले गाउँ गाउँमा साहित्यिक गतिविधि हुनु सकारात्मक अवस्था भएको बताए ।

सोही कार्यक्रममा प्रा.डा. भीम खतिवडाको नियात्रा सङ्ग्रह ‘आस्थाको अम्मल’ विमोचन गरिएको थियो । स्रष्टा एकु घिमिरेले सो कृतिबारे बोलेका थिए । कला, साहित्य संस्कृति प्रतिष्ठान र धरान–१३ को संयोजनमा सम्पन्न सो कार्यक्रम गोपाल प्रयासले सञ्चालन गरेका थिए । प्रदीप योङहाङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टाहरूको उल्लेख्य उपस्थिति थियो ।

aasthako ammal bimochan  (1) aasthako ammal bimochan  (3)