काँकरभिट्टाः पूर्वी नाका भएर पैदलमार्ग हुँदै नेपाल घुम्न आउने विदेशीको सङ्ख्या बढेसँगै राजस्वमा समेत उल्लेख्य वृद्घि भएको छ । अध्यागमन कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्षमा कुल १ करोड १९ लाख ५० हजार २ सय १२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिसा) जारी गरेबापत कार्यालयले सो राजस्व सङ्कलन गरेको हो । कार्यालय प्रमुख जनक कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ को तुलनमा गत वर्ष राजस्व २७ लाख ५१ हजार ९ सय ४२ रुपैयाँले वृद्घि भएको हो । गत आर्थिक वर्षमा कार्यालयले ९१ लाख ९८ हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले दिएको जानकारीअनुसार अध्यागमनले ३ प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरेबापत २५ अमेरिकी डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि १ सय डलर लिने गरेको जनाएको छ । अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्यारुन, सोमालिया, प्यालेस्टाइन, स्वीट्जरल्याण्डलगायतका ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको छ ।

६ महिनामा ६ हजार बढी विदेशी भित्रिए
सन् २०१९ को बितेको ६ महिनामा पूर्वी नाका भएर ६ हजार ६ सय ७८ पर्यटक नेपाल प्रवेश गरेका छन् । झापाको भद्रपुर विमानस्थलबाट रात्रीकालीन उडान शुरु भएपछि यो नाका भएर नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा समेत वृद्घि भएको कार्यालय प्रमुख कोइरालाले बताए । बाह्य पर्यटक काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायतका धार्मिक एवम् पर्यटकीय स्थल घुम्न रुचाउने कार्यालयले जनाएको छ ।