इटहरीः साताको पहिलो दिन नेप्से सूचक ८.५९ अङ्कले बढेर ११९०.२८ अङ्कमा पुगेको छ । समग्रमा बजार ०.७३ प्रतिशतले बढेको हो । कुल १ सय ६४ कम्पनीको ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैयाँको सेयर किनबेच भएको हो । जम्मा ९ लाख ६० हजार ७ सय १४ कित्ता सेयर ४ हजार २ सय ४२ पटक किनबेच भएका थिए ।
बजारमा कुल १० वटा समूहको सेयर कारोबार भएकामा ७ वटा समूहका सूचकमा हरियाली छाएको थियो । सबैभन्दा धेरै होटल समूहको सूचक १.७७ प्रतिशतले माथि चढ्दा फाइनान्स समूह ०.१५ प्रतशितले मात्रै बढेको छ ।
त्यस्तै, सबैभन्दा धेरै अन्य समूहको सूचक ०.२७ प्रतिशतले घट्दा जीवन बीमा समूहको सूचक ०.०२ र उत्पादनमूलक समूहको सूचक ०.०३ प्रतिशतले घटेका छन् ।
कारोबारमा एनआइसी अघि
कारोबार रकममा एनआइसी एसिया बैंकले अग्रता लिएको छ । सबैभन्दा धेरै मूल्य बढेको सो कम्पनीको ३ करोड २४ लाख ५० हजार ५ सय ४० रुपैयाँको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंक परेका छन् । नेपाल लाइफको २ करोड ९० लाख ५७ हजार ४ सय २५ रुपैयाँका सेयर किनबेच हुँदा एनएमबी बैंकको २ करोड ९ लाख ४६ हजार ९ सय २१ रुपैयाँको सेयर किनबेच भएको थियो । नेपाल बैंकको डेढ करोड रुपैयाँको सेयर किनबेच हुँदा अन्य कुनै पनि कम्पनीको कारोबारले करोडको अङ्क नाघ्न सकेन ।
मूल्य बढ्नेमा बैंकिङ समूह अघि
आइतबारको सेयरबजारमा बैंकिङ समूहको सेयरको मूल्य सबैभन्दा धेरै बढेको छ । कारोबारमा पनि बैंकिङ समूहको मात्रै १८ करोडभन्दा बढीको कारोबार भएको छ । एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ५.५९ प्रतिशतले मूल्य बढ्दा तिनाउ विकास बैंकको ५.४५ प्रतिशतले मूल्य बढेको छ । भार्गव विकास बैंकको सेयरमूल्य ५ प्रतिशतले बढेको छ । गण्डकी विकास बैंक, ग्लोबल आइएमइ लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, जनता बैंक, सनराइज बैंक, एनएलजी इन्स्योरेन्स, स्वरोजगार विकास बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।
गुमाउनेमा लघुवित्त कम्पनी
बजार बढे पनि बढी गुमाउने कम्पनीको सूचीमा लघुवित्तको बाहुल्यता रहेको छ । सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ३.३१ प्रतिशतले मूल्य बढ्दा आरम्भ माइक्रोफाइनान्सको २.४४ र कालिका माइक्रोक्रेडिटको २.०६ प्रतिशतले मूल्य घटेको छ । रैराङ हाइड्रोपावरको २.०५ प्रतिशतले मूल्य घट्दा सिद्धार्थ ओरियन्टेड स्किम, उन्नति माइक्रोफाइनान्स, जेबिल्स फाइनान्स, समता माइक्रोफाइनान्स र एनएमबी माइक्रोफाइनान्सको पनि मूल्य घटेको छ ।
सेयर सङ्ख्यामा पनि एनआइसी
कारोबार रकममा जस्तै सेयर सङ्ख्यामा पनि एनआइसी एशिया बैंक नै अघि देखिएको छ । सो बैंकको ९१ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा एनएमबी बैंकको ६५ हजार ५ सय ८ कित्ता र नेपाल बैंकको ५३ हजार ३ सय ५५ कित्ता सेयर बिक्री भएको छ । सेयर सङ्ख्या बढी कारोबार हुने १० कम्पनीमध्ये आठौं नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सबाहेका सबै बैंकिङ समूहका कम्पनी रहेका छन् ।
कारोबार सङ्ख्यामा पनि बैंकिङ समूह
आइतबार बढी पटक कारोबार हुने १० कम्पनीमध्ये दोस्रो नम्बरमा रहेको नेपाल लाइफबाहेक सबै बैंकिङ समूहका कम्पनी रहेका छन् । धेरै शीर्षकमा अघि आएको एनआइसी एशियाको सबैभन्दा धेरै ३ सय ५१ पटक कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ३ सय ३ पटक र एनएमबी बैंकको २ सय २२ पटक कारोबार भएको थियो । मेघा र नेपाल इन्भेस्टमेन्ट बैंकको समान १ सय १३ पटक कारोबार हुँदा प्राइम कमर्सियल बैंकको १ सय ५ पटक र स्ट्यान्डर्ड चार्टड बैंकको १ सय ३ पटक कारोबार भएको थियो । अन्य कम्पनीको कारोबार सङ्ख्याले १ सय नघाउन सकेनन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब १६ अर्ब कायम भएको छ ।