इटहरीः पूँजी बजारका लगानीकर्ताले सोमबार केही राहतको अनुभव गरेका छन् । नेप्से सूचक र कारोबार रकम दुवै बढेकाले लगानीकर्ता थोरै भए पनि बजारप्रति आशावादी बनेका हुन् ।
सोमबार बजारमा केही सकारात्मक खबर पनि आएका छन् । लगानीकर्ताहरुले बैंकर्स भेटेका छन् । ब्याजदर र ब्रोकर लाइसेन्सको कुरा बाहिर आएको छ भने राष्ट्र बैंकले तरलता सहजताको लागि बैंकहरूलाई मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।
सोमबार नेप्से सूचक १५.९८ अङ्कले बढेर १२०६.२६ अङ्कमा आइपुग्दा समग्रमा बजार १.३४ प्रतशितले बढेको हो । जम्मा १ सय ६९ कम्पनीको ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर ५ हजार ९ सय ७१ पटक किनबेच भएका थिए ।
सोमबार दिउँसो पौने २ बजेतिर बजार २३ अङ्कभन्दा बढीले बढेर १२१३ अङ्कको सूचक पनि पार गरेको थियो । त्यसपछि दु्रत गतिमा बजार ओरालो लागी साढे २ बजे १२०० अङ्कभन्दा तल झरेको थियो ।
सोमबार नेप्सेमा १० वटा समूहको सेयर कारोबार भएकामा २ वटाबाहेक बाँकी सबै समूहका सूचक माथि लागेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ४.३२ प्रतिशतले माथि चढ्दा सबैभन्दा कम लघुवित्त समूह ०.२२ प्रतिशतले मात्रै बढेको थियो । त्यस्तै, होटल समूह ०.१२ प्रतिशतले झर्दा अन्य समूहमा ०.०४ प्रतिशतले गिरावट आएको थियो ।

नेपाल लाइफको ११ करोडभन्दा बढीको कारोबार
सोमबार कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको ११ करोड २८ लाख ११ हजार ८ सय ७६ रुपैयाँको सेयर किनबेच हुँदा ९ वटा कम्पनीको कारोबार रकमले करोडको अङ्क नाघेको थियो । दशौं नम्बरमा रहेको प्राइम कमर्सियल बैंकको झण्डै ९२ लाख रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशियाको ३ करोड ३९ लाख ५५ हजार ८ सय ८८ रुपैयाँको सेयर कारोबार भएको थियो । एनएमबी बैंकको २ करोड ४७ लाख ६४ हजार १ सय ३७ रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेपाल बैंक, कुमारी बैंक, जनता बैंक, सानिमा बैंक, मेघा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंकको धेरै कारोबार भएको थियो ।

सेयर सङ्ख्यामा पनि नेपाल लाइफ
सोमबार नेपाल लाइफको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भयो । सो कम्पनीको १ लाख २७ हजार १ सय ८३ कित्ता सेयर कारोबार हुँदा एनआइसी एशियको ९७ हजार ३ सय ९४ कित्ता र एनआइसी एशियाको ९३ हजार ५ सय १५ कित्ता सेयर किनबेच भएको थियो । कुमारी, एनमबी, मेघा, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक र एनसीसी बैंक सेयर सङ्ख्याका आधारमा अग्र १० स्थानमा परे ।

कारोबार सङ्ख्यामा एनएमबी
कारोबार सङ्ख्यामा भने सोमबार एनएमबी बैंक परेको छ । सो बैंकको २ सय ४३ पटक सेयर कारोबार हुँदा मेघा बैंकको २ सय १७ र नेपाल लाइफ इन्स्योरेन्सको २ सय १५ पटक सेयर कारोबार भएको थियो । एनआइसी एशिया, कुमारी, जनता, सिटिजन, नेपाल इन्भेस्टमेन्ट, सिभिल र नेपाल बैंक कारोबार सङ्ख्याका आधारमा अग्र स्थानमा देखिए ।

२ बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए
बजार बढेसँगै आइतबारझैं सोमबार पनि बैंकिङ क्षेत्रका कम्पनीमा लगानीकर्ता झुम्मिए । २७ करोडभन्दा बढी रुपैयाँको सेयर किनबेच बैंकिङ क्षेत्रकै भएकोमा २ वटा बैंकका लगानीकर्ताले झण्डै १० प्रतिशतले सम्पत्ति कमाए ।
लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाउँदा काबेली विकास बैंकका लगानीकर्ताले ९.६४ प्रतिशतले सम्पत्ति कमाएका छन् । काबेली विकास बैंकले ३५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेकाले सो कम्पनीमा लगानीकर्ताको आकर्षण भए पनि बिक्रेता नआउँदा ५० कित्ता भन्दा बढी कारोबार हुन सकेन ।

ङादीका लगानीकर्ताले ८ प्रतिशत सम्पत्ति गुमाए
बजार बढे पनि ङादी पावरका लगानीकर्ताले ७.९५ र सिद्धार्थ ओरेन्टियड स्किमका लगानीकर्ताले ३.९९ प्रतिशतले सम्पत्ति गुमाउँदा जम्मा १८ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण भने १४ खर्ब ३६ अर्ब कायम भएको छ ।