इटहरीः ताप्लेजुङका सांसद नेकपाका नेता योगेश भट्टराई मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आज दिउँसो ४ बजे शपथ ग्रहण हुने भनी ट्वीट गरेका छन् ।
भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
ताप्लेजुङमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए । अधिकारीको मृत्युको ५ महिनापछि मन्त्रालयले नयाँ मन्त्री पाउने भएको हो ।
०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी उनी विजयी भएका थिए ।