ताप्लेजुङ: प्रतिनीधिसभा सदस्य निर्वाचनकाबेला तत्कालिन एमाले अध्यक्ष केपी ओलीले भनेका थिए–‘... मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको, जिताएर पठाउनुहोस, मन्त्रीको विल्ला भिराएर फर्काउँछु ।’ निर्वाचनकाबेला ओलीले दिएकाे त्यो बचन योगेश भट्टराईलाई प्रतिनीधिसभा सदस्यमा निर्वाचित गराउने ठुलो खुड्किलो बन्यो । जिल्लाबासीले त्यहि बचनलाई सम्झेर पनि भट्टराईलाई जिताएर पठाए । तर ओलीको मन्त्रीमण्डलमा योगेश नपरे पछि भने ओलीकै भाषण सामाजिक सञ्जालभर राखेर लामो समय सम्म आलोचना भयो ।
अन्ततः भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएर प्रधानमन्त्री ओलीले बचन पुरा गरे । योसंगै जिल्लाबासीमा खुसीयाली छाएको छ । अहिलेसम्म राजकीय पदमा नपुग्नुभएका भट्टराईलाई अप्ठ्यारो र समस्या आईपर्दा सम्झीरहने जिल्लाबासी, अब मन्त्री बनेपछि अझ जिल्लाको विकासले फड्को मार्ने विश्वासका साथ खुसीयाली बनेका हुन् ।
सर्वसाधरण नागरिक, विभिन्न पेशा व्यवसायीदेखि लिएर प्रतिनीधिसभा निर्वाचनमा उनकै प्रतिस्प्रधी नेपाली काँग्रेसका केशव प्रसाद दहालले समेत शुभकामना र बधाई व्यक्त गरेका छन् । ‘राजनीतिक बाटो फरक भए पनि चुनाबका बेला हामीले पहिचान गरेका समस्या र एजेण्डा उस्तै थिए, साझा थिए, जसले जिते पनि जिल्लालाई समृद्ध बनाउनुपर्ने थियो, उहाँले मलाई पराजित गरेर आज मन्त्री हुनुभएको छ, तमोर करिडोर, ओलाङचुङगोला लोकमार्ग, पाँचथरको थर्पु हुँदै कञ्चनजंघा जाने मोटरबाटो, मदन भण्डारी राजमार्ग, पाथीभरा जाने बाटो निर्माण हाम्रा साझा एजेण्डा थिए, जसलाई पुरा गर्ने तर्फ ध्यान दिन आवश्यक छ, जिल्ला भित्रको जलश्रोतको अधिकतम उपयोग गर्न र पाथीभरा, तिम्बुङ पोखरी, फुङफुङे झरना लगायतलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्दै जिल्लाको पर्यटन प्रर्वद्धन लगायत समग्र विकासमा ठुलो योगदान होस भन्ने चाहान्छु’
प्रतिनीधिसभा सदस्य निर्वाचनमा भट्टराईका प्रतिस्पर्धी काँग्रेसका केशव प्रसाद दहालले भने ।
प्रतिपक्षीलाई विश्वासमा ल्याएर अघि बढ्न उनल सुझाव दिएका छन् । दाहालले १६ हजार ८८८ मत ल्याउँदा भट्टराईले भने २९ हजार ४७९ मत ल्याएका थिए ।
चुनावी मैदानमा उत्रिएकाबेला भट्टराई र दहालका एजेण्डा उस्तै–उस्तै थिए । तमोर करिडोर, मदन भण्डारी राजमार्ग, ओलाङचुङगोला लोकमार्ग निर्माण साथै टिपताला नाका खोल्ने र अलैँची खेतीलाई प्रर्वद्धन गर्ने जस्ता एजेण्डालाई भट्टभराईले प्राथमिकता दिएका थिए ।
अब यि लगायतका विकासका कामले फड्को मार्ने यहाँका नागरिकको विश्वास छ । ‘जिल्लाले पर्यटन मन्त्री पाएको छ, अब ताप्लेजुङ समृद्धि तर्फ अघि बढ्छ भन्ने विस्वास छ, चीन संगको नाका खोलेर जिल्लालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न साथै विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गरि ति क्षेत्रमा भौतिक पुर्वाधारको विकास गरि जिल्लालाई पर्यटनमैत्री मात्रै बनाउन सके पनि ताप्लेजुङ समृद्ध हुन्छ’–पर्यटन व्यवसायी ओम प्रकाश राईले भने ।
यता जिल्लाको सिरिजंघा गाउँपालिका स्थित खेवाङ कि बच्छलीमाया भट्टराईलाई समेत योगेश मन्त्री हुँदा खसीको सिमा छैन । वृद्ध भएर पनि राजनीतिमा चासो राख्ने भट्टराईले भने–‘हामी त अस्ताउन लागेको घाम जस्तै भईसक्यौँ, अब अरुका लागि राम्रो होस, जिल्लाका नेताले राम्रो काम गरुँन् ।’
वि.स.२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिएका भट्टराईले २०३७ सालदेखि विद्यार्थी राजनीतिबाट आफुलाई शसक्त बनाउँदै राजनीतिमा आफुलाई स्थापित गरेका हुन् ।
राष्ट्रिय राजनीतिमा स्वच्छ छवि बनाउनुभएका भट्टराईले प्रतिनीधिसभाको निर्वाचनबाट प्रतिनीधिसभा सदस्य बने संगै ताप्लेजुङको विकासमा थप चासो राख्दै आएका छन् । शालिन स्वभावका भट्टराईबाट जिल्लाबासीले ठुलो भरोसा र विकासको अपेक्षा गर्दै आएकाछन् ।