खाजाको पोको

  • श्रावण १८, २०७६
  • १८६ पटक पढिएको
  • दीपक शम्चू
alt

सडक किनारमा उभिएको छु । बस आइपुग्ने प्रतीक्षामा ।बहिनीले मेरो हात समाएर डोहो¥याउँदै यहाँसम्म ल्याइन् ।
मैले यसरी नै पहिलोदिन बहिनीलाई डोहो¥याउँदै स्कुल भर्ना गर्न लगेको थिएँ ।सरहरूसँग चिनाएको थिएँ ।कक्षाकोठा देखाएको थिएँ ।उसका नयाँ साथीहरूसँग मिलेर बस्न लगाएको थिएँ ।साँझ घर फर्किदा पनि हामी उसरी नै फर्किएका थियौँ ।
मैले गरेका यी सबै काम बेलुका आमाबुबालाई खुब फुर्कीफुर्की सुनाएको थिएँ ।मानौँ मैले ठूलै बहादुरीको काम गरेँ ।आज छोडिजाने बेलामा बहिनीले भावुक स्वरमा भनिन् ‘ल दादा राम्ररी जानू, आफ्नो राम्रो ख्याल गर्नू ।’
बहिनीको अनुहार नियालेँ ।सदाझैँ चञ्चलता हराएको थियो ।उसले मलाई नामबाट बोलाउँथी ।भात खान आइज समीर ।खेल्न हिँड् समीर ।पढ्न आइज समीर । कहिलेकाहीँ बिनाकारण मेरो किताब कोरकार पारिदिन्थी ।कापी च्यातिदिन्थी ।मसी छर्किदिन्थी र आमाको हातबाट कुटाइ खान्थी । अनि जोडजोडले रुँदै चिच्याउँथी,‘समिरे... धमिरे... म आज स्कुलै जान्नँ ।’
म पनि झोक्किँदै भन्थेँ,‘समीक्षा... खमीक्षा... ल हिँड स्कुल ।’
आज उसले मेरो नाम काढिन । पहिलोपटक उसले ‘दादा !’ भनेर सम्बोधन गरिन् । अब म सम्बोधन गर्न लायकको भइसकेको रहेँछु । बहिनीको असल दादा ।म जन्मेदेखि बुबाआमाले बुनेका सपनाहरूको साकार स्वरूप ।त्यसबाहेक, मेरा जीवनका अनेकौं रहरहरू थिए ।यी सबै काम गर्न गाउँमा बसेर सम्भव थिएन ।मैले उच्च शिक्षा पढ्नैपर्ने थियो । यसको लागि, मैले आफ्नो घर छोडेर शहर जानु थियो र उतै केही काम गर्दै पढ्नु थियो ।

 

अचानक मेरो हातको झोला स्वात्त तानेर लग्यो ।जुन झोलामा मेरो एक जोर नयाँ लुगा र जुत्ता थियो ।म शहर जाने निश्चित भएपछि आमाले मलाई नजिकैको हटियामा सँगै लगेर यी मूल्यवान चीजहरू किनिदिनुभएको थियो ।आमाले आफ्नो पोल्टामा बेरेर राखेको थैलीबाट बिस्तारै पैसा झिकी बडो होशियारीका साथ गनेर साहुजीलाई दिनुभएको थियो । त्यसबाहेक झोलामा मोजा, मञ्जन, ब्रस, साबुन, काइँयो, डायरी, कलम र भर्खरै पास गरेको एसएलसी प्रमाण–पत्रको साथ आमले पकाएर पोको पारिदिनुभएको खाजा थियो ।यी सबकुरा बिजुलीको करेन्ट शरीरमा चहारेजसरी एकै झड्कामा मेरो दिमाखमा सलबलायो ।
‘ए ! भाइ, छिटो चढन ।जाने होइन?’
कपाल रुमालले बाँधेको एउटा झ्याप्ले केटो बसको ढोकाबाट करायो ।म हावाको गतिमा बसको ढोकामा पुगेर सोधेँ, ‘मेरो झोला खै?’
‘राखिदिएको छु, हराउँदैन । पछाडि सिट खाली छ । गएर बस ।’
त्यो केटोले लगाएको कपडाको रङसमेत छुट्टिँदैन थियो धुलोले गर्दा ।देब्रे हातका चोरीऔँला, माझीआँैला र साहिलीआँैलाका कापमा यात्रुहरूबाट असुलेको भाडा च्यापिरहेको थियो ।ऊ बसबाट निस्कियो अरु यात्रुहरू हाल्न ।म उसले भनेजसरी बसभित्र पसेर खालीसिट खोज्न थालेँ ।पछाडि जाने बाटोमा मान्छे खचाखच भएर उभिइरहेका थिए । सिटमा बसिसकेकाहरू निर्धक्क थिए ।
म पछाडि जान खोज्दै थिएँ । ठीक पछाडि मेरो ढाडमा दुई नरम चिजले सँगै टुच्च–टुच्च छोयो ।पछाडि फर्किन खोजेँ ।यात्रुहरूको खचाखच भीडमा चेपिएकोले तुरुन्त फर्किन सकिनँ ।अलिकति अगाडि बढेँ पुनः उक्त नरम चीज रगडियो ।यसो फर्केर हेरेँ ।मोटीकेटी मेरो पातलो शरीरले भीड छिचोल्न नसक्नेझैँ गरेर जिउले ठेल्दै–ठेल्दै आइरहेकी थिई ।
म बसको सबैभन्दा पछाडिको भागमा पुगेँ ।दाहिने झ्यालको सिटमा आकाशे रङको पारदर्शी सर्ट र कालो पाइन्ट लगाएकी केटी थिई ।त्योसँगै बसेको केटो सेतो सर्ट र कालो कोटपाइन्टमा सजिएको थियो ।भर्खरै जुँगाको रेखी बस्न थालेको त्यो लिखुरे केटोको कुमले त्यो केटीको टाउकोको भार थामिरहेको थियो । दुवैले एउटा–एउटा इयरफोन कानमा ठोसेका थिए ।
म देब्रे झ्यालको सिटमा बसेँ । मिनेट भरमा पछाडिको सिट पनि भरियो । कोही सिटको छेउमा अडेसा लिएका थिए । कोही बसमाथिको डण्डी समातेर उभिएका थिए ।बसभित्र खुट्टोसमेत राख्ने ठाउँ थिएन ।ढ्याक...ढ्याकस ढ्याक...ढ्याकस आवाज आयो ।बस गुड्न थाल्यो ।

सानैहुँदा सुनेको थिएँ ।हाम्रो गाउँमा पनि मोटरबाटो बन्छ ।बाटो बनेपछि मोटरमा चढेर जहाँपनि जान सकिन्छ ।म आमालाई भन्थेँ,‘आमा मोटरबाटो बनेपछि हामी मोटर चढेर मावलो जानुपर्छ है ।’
आमा हाँस्दै भन्नुहुन्थ्यो, ‘गइस्, मोटर चढेर मावलो !’
हाम्रो घर र मावल एउटै गाउँमा थियो । बहिनी र म दिनहुँजसो मावलमा खेल्न पुग्थ्यौँ ।मावलका खानेकुरा हामीलाई असाध्य मीठो लाग्ने ।हामीलाई हजुरआमाले जहिले खानेकुरा राखिदिनुहुन्थ्यो ।बुबाचाहिँ सारै छुच्चो ।मावल जानै नहुने जसरी कराउनु हुन्थ्यो ।
एकछिनपछि आमा निराश हुँदै भन्नुहुन्थ्यो ।‘खै ! समीर, हामी तिमीहरूजस्तै हुँदादेखि सुनेको मोटरबाटो आउँछ भनेर ।अहिलेसम्म आएको छैन ।अब तिमीहरू त के?तिमीहरूका छोराछोरीले चाहिँ मोटर चढ्न पाउँछन् कि !’
आमाको त्यो बेलाको अनुमान फेल खायो ।म ९ कक्षा पढ्दापढ्दै गाउँमा मोटरबाटो बन्यो ।अहिले यसरी मोटर चल्न थाल्यो र म पहिलो पटक मोटर चढेर शहर जाँदैछु ।

बसिरहेको सिटबाट म अचानक अगाडि हुत्तिएँ । मैले झ्वाट्ट अगाडिको सिटलाई समातेँ ।अघि मलाई ठेल्ने मोटीकेटी त्यही सिटको अडेसामा उभिएकी थिई ।मेरो हातको औँलाका टुप्पाले उसको शरीरलाई कोतर्न पुग्यो । उसले मलाई पुलुक्क हेरी ।मेरो जीउ सिरिङ्गै भयो ।मैले ठूलो अपराध गरेँझैँ हत्तपत्त सतर्क भएँ । ऊ हल्का मुस्कुराई । मिलेका सेता दाँतहरूदेखिए ।
बस रोकियो ।यात्रुहरू ओर्लने र चढ्ने क्रम दोहोरियो । मभन्दा अगाडि बुढीआमा बसेकी थिइन् ।ती बुढीआमाले मोटीकेटीलाई इशारा गर्दै उठिन् ‘आईया बाबै, ल नानी बस ।म यहीँ ओर्लन्छु ।’गन्तव्यमा आइपुग्नेहरू ओर्लिए । केही नयाँ यात्रुहरू चढे ।
मोटीकेटीले मसँगै बसेको बुढोमान्छेलाई भनी,‘तपाईं अगाडि बस्नुहोस् म यहाँ बस्छु ।हुन्छ?’
बुढोमान्छेले केही प्रतिक्रिया नजनाई जुरुक्क उठेर अगाडिको सिटमा बस्यो ।शायद, ऊ आरामदायी सिटमा बस्न लालयित थियो ।मोटीकेटीले यो अवसर दिएकोमा ऊ मनमनै कृतज्ञ थियो भन्ने कुरा उसको अनुहारमा देखिएको चमकले बताउँथ्यो ।
त्यो सिटको झ्यालपट्टि अन्दाजी मेरै उमेरकी अर्की केटी थिई । त्यसको मोबाइलमा बजेको धुनबाट प्रष्ट हुन्थ्योऊ क्याण्डीक्रस खेल्न व्यस्त छे ।आफूसँगैको सिटमा को आयो?को गयो भन्ने वास्तै थिएन ।
अब त्यो बुढोको बाह्रकरङे छाताले उसलाई डिस्टर्ब गर्ने छजसरी अघि मलाई गरेको थियो । छाता तेस्र्याएको बेला छाताको टुप्पोले मलाई घोच्थ्यो ।छाता ठाडोपारेर टेकेकोबेला छेड्थ्यो र पुर्लुक्क लड्दा मलाई लाग्थ्यो ।कमसेकम यो प्रक्रियाबाट म बचेँ ।मलाई आनन्द भयो ।
मोटीकेटी मसँगै टाँसिएर घ्याच्च बसी र दुवै हातलाई काखीले च्यापी ।म झ्यालबाहिर देखिने मनोरम दृश्यहरूलाई आँखामा कैदगर्न थालेँ ।


क्षितिजमा सन्ध्याकालीन लाली छरिएका लामबद्ध हिमालहरू ।पहाडलाई छपक्कै ढाकिरहेको जङ्गल ।यत्रतत्र छरिएर टल्किरहेका स–साना घरका छानाहरू ।सबै कुदिरहेझैँ देखिन्थे ।अघिको जस्तो बसले धुलो उडाएको थिएन । घल्च्याकघुल्चुक पनि गर्दैनथ्यो ।बस एकनाश कुदिरहेको थियो ।
होडिङ बोर्डमा टाँगिएका अर्धनग्न युवतीहरू सडक किनाराबाट दगुर्दै आउँथे र मुस्कान छरेर जान्थे । ठाउँठाउँमा राखिएका ट्राफिक चिह्नहरूले निर्देशनको हात हल्लाउँदै पछाडि सर्थे । पश्चिमी डाँडोमा रातो घामको डल्लो देखिएसँगै आकाशले रङ बदल्दै थियो ।
मेरो दाहिने पाखुरी र काखीको च्यापमा कुचुकुचु–कुचुकुचु केही वस्तु चलेजस्तो लाग्यो ।मोटीकेटी केही नभएजस्तो गरी अगाडि हेरिरहेकी थिई । उसको हातका औलाहरू, काखीको बीचबाट छिरेर मलाई कोट्याइरहेका थिए ।
‘म झ्यालतिर बसौँ?’उसले मलाई हेर्दै भनी ।
‘अहँ...। बसमा बोमिट हुन सक्छ रे !म बसमा पहिलोपटक चढेको ।’
उसले आफ्नो अनुहार नराम्ररी बिगार्दै भनी, ‘हो र, यो भन्दा अगाडि कहिल्यै बस चढेको छैनौ?’
शायद, उसले मेरो कुरा पत्याइन ।म चुपचाप रहेँ ।बसभित्र अघिको जस्तो खचाखच मान्छे थिएनन् ।सबै मान्छेहरू आ–आफ्ना सिटमा शान्तसँग बसिरहेका थिए ।कोही–कोही घ्वार्रर्रर्र–घ्वार्रर्रर्र घुर्दै थिए । बसभित्र ठूलो स्वरमा गीत घन्किरहेको थियो ।


घरबाट हिँड्ने बेला, आमाले भन्नुभएको थियो । ‘बसमा बान्ता हुनसक्छ, त्यसैले झ्यालतिर बस्नू ।बान्ता भइहालेमा झ्यालबाट गर्नू ।बसमा नानाथरीका मान्छे चढेका हुन्छन् ।सामान चोरिएला ।चनाखो हुनू ।आफ्नो सिटमा अरुलाई बस्न नदिनू ।’ आदि थुप्रैकुरा आमाले भन्नुभएको थियो ।
आमाले भनेजस्तो मेरो सामान चोरिने डर थिएन ।किनकि बसको झ्याप्ले केटाले मलाई ढुक्क हुने जवाफ दिएको थियो ।यी मोटीकेटीलाई पनि मैले आफ्नो सिटमा बस्न दिइनँ ।अब म निस्फिक्री भएर बस्न सक्थेँ ।
‘ह्या, बाजे के गरेको?’ मभन्दा अगाडिकी केटी अचानक पड्की । पिलिक्क बत्ती बल्यो ।बसभित्र अँध्यारो छाइसकेको रहेछ ।उज्यालो भयो ।‘के भो?’ भन्दै तुरुन्त कपाल रुमालले बाँधेको झ्याप्ले केटो आइपुग्यो ।धेरैजसो यात्रुहरूले त्यही केटीतिर नजर फ्याँक्न थाले ।
‘यो बाजेको छाता मिल्काइदिनू त?’ त्यो केटीले झ्याप्ले केटोलाई आदेश दिई ।
त्यो केटोले पनि हाँस्दै भन्यो,‘के गर्नु भो बाजे? उठ्नुहोस !’
बिचरो त्यो बुढोमान्छे केही बोल्नै सकेन ।अनुहार रातो पार्दै उठ्यो ।त्यसैको दाहिनेतिरको सिटमा १ जना महिला बच्चालाई दूध चुसाउँदै थिइन् ।तिनलाई उठाएर त्यो केटीसँगै राखिदियो र बुढोमान्छेलाई महिलाको सिटमा राख्यो ।
मोटीकेटीले यसो कर्के नजरलगाएर मलाई हेरी र दाहिने आँखा झिम्क्याउँदै मुसुमुसु हाँसी ।
मैले कराएर सोधेँ, ‘ए दाजु मेरो झोला कहाँ छ?’
त्यो झ्याप्लेले पुलुक्क हे¥यो अनि चोरी औँलाले इशारा गर्दै भन्यो,‘तिम्रो टाउकोमाथि छ ।’
यति भनेर ऊ सरासर अगाडि गयो ।म एकछिन त अलमल्ल परेँ ।उभिएर ढल्कँदै मेरो सिटमाथि हेरेँ ।मेरो झोला त्यहीँ खिस्रिक्क परिरहेको थियो ।झोलाबाट खाजाको पोको झिकेँ ।खाजाको पोको खोल्नासाथ हरर बास्ना आयो । घिउमा भुटेको पुवा ।
अब मैले लामो समयसम्म आमाको हातबाट बनेका खानेकुरा खानपाउने छैन ।हिँड्नेबेलामा आमाले मेरो हातमा झोला थमाएर केही नबोली फरक्क फर्केर घरभित्र पस्नुभएको थियो ।मैले सोचेको थिएँ, जसरी म पहिलोपटक बाबासँग चटक्क परेर स्कुल जाँदा आमालाई बिदाइको हात हल्लाएको थिएँ त्यसरीनै बाइ गर्नेछु ।आमाले पनि हँसिलो चेहरामा हात हल्लाउँदै, ‘बाइबाइ छोरा’ भन्नुहुने छ ।तर, यी सबकुरा हुने मौका दिनुभएन ।
खाजा एक फ्वाँक मुखमा हालेँ ।मेरी आमाले यति मीठो खाजा कहिले खानुभयो के?अचानक आमाको सम्झना तिख्खर भएर आयो ।मैले खाजा तुरुन्त पोको पारेँ ।
‘किन !लाज लाग्यो?खाजा सारै स्वादिलो छ ।खाऊ ।’ मोटीले टाउको हल्लाउँदै भनी ।
‘तपाईं पनि खानुहुन्छ?’ मैले एकाएक उनीतिर पोको बढाएँ ।
‘तिमीलाई अप्ठ्यारो लाग्यो भने खाइदिउँला नि !हामी दुवैजना मिलेर खाउँ ।जुठो खाँदा माया बस्छ ।’
‘नखरमाउली... कहीँ कि !’ मैले मनमनै दाह्रा किट्नबाहेक केही गर्न सकिनँ ।’
उसले खाजा खाँदै भनी, ‘आखिर एकरात भएपनि हामीसँगै गाडीमा हुन्छौँ ।के थाहा हाम्रो यात्रा यत्तिकै नटुङ्गिन पनि त सक्छ ।’
‘यो मेरी आमाले बनाइदिनुभएको खाजा हो ।’
‘आमाको माया लाग्यो?’
‘त्यो पनि सोध्ने कुरा हो र?’
उसले चपाइरहेको खाजा मुखमै च्यापेर गम्भीर मुद्राले मलाई हेरी । एकछिनपछि घुटुक्क निल्दै भनी,‘आमाको सम्झना जोगाइराख्नुपर्छ, राख ।’ मैले खाजा, पुनः पोको पारेर राखेँ ।

रातको१० बजेतिर बस रोकियो । पुनः झ्याप्ले केटो कराउँदै आइपुग्यो, ‘ल खानाखाने ठाउँ आइपुग्यो खाना खानेजति सबै ओर्लिनू ।’
मोटीले मेरो हात समाउँदै भन्यो ।‘ल हिँड खाना खान ।’
‘होइन, मलाई खान मन छैन ।’
‘ल..., हिँडन ।मैले तिम्रो ममीले बनाइदिनुभएको खाजा खाएँ ।अब तिमीले पनि मेरोतर्फबाट खाना खानुपर्छ ।’ यति भनेर मोटीले मेरो हात समातेर तानी ।म मोटीको पछिपछि डोरिन थालेँ ।

मुन्नि बदनाम हुई डार्लिङ तेरे लिए...

होटलमा गीत घन्किरहेको थियो ।हामी कुनाको टेबलतिर गयौँ र एकएक कुर्सीमा बस्यौँ । दालभात, हरियो साग, मुलाको अचार, आइपुग्यो । मोटीले सोधी । ‘के को मासु छ?’
खाना ल्याउने फुच्चे केटोले आफ्नो सेन्डो सुर्काउँदै मासुको परिकार सुनाउन थाल्यो । ‘खसीको...,कुखुराको...,बङ्गुरको...।’
‘तेरो सेन्डोचाहिँ किन सुर्काको?’ मोटीले हपारी ।
त्यो केटाले ङिच्च परेर, पहेँला दाँत देखाउँदै सेन्डो तल झा¥यो । सेन्डो तल झार्दाझार्दै आफ्नो चिसो हात कट्टुमा पुछ्यो ।त्यसको कट्टु पनि एकापट्टी सुर्किएको थियो ।
‘बङ्गुरको मासु र एकबोतल वाइन पनि ल्या ।’ मोटीको अडर सुन्नासाथ केटो हिँड्यो ।
‘वाइन खान्छौ नि होइन भाइ?’ मोटीले मलाई सोधी ।
‘वाइन भनेको के हो?मलाई थाहै छैन ।’
मोटी जोडले हाँसी ।सबैजनाले हामीतिर हेरे ।मेरो शरीरमा तातो रगत सल्बलायो ।
‘ल ठीक छ आज मलाई खान सघाऊ ।मलाईमात्र १ बोतल धेरै हुन्छ ।’
मैले यताउता पल्याकपुलुक हेरेँ ।सबैजना यथावत खाना खान थालेका थिए ।फुच्चेले अडरको सामान ल्यायो ।हामी पनि खाना खान थाल्यौँ ।मोटीले दुवै गिलासमा वाइन सारी र एउटा गिलास उठाउँदै भनी, ‘ल चियर्स ।’
म अलमल्लमा परेँ । म अल्मलिएको देखेर मोटी फेरि हाँस्दै भनी,‘गिलास उठाऊ र मेरो गिलाससँग जुधाऊ, भनेको क्या !’
‘गिलास चाहिँ जुधाउँला तर, वाइन चाहिँ खान्न ल ।’ मैले यसो भन्दै गिलास उठाएर उसको गिलासमा जुधाएँ ।मोटी मरीमरी हाँस्न थाली ।
करिब आधा घण्टापछि, प्वाँ... प्वाँ... गर्दै हर्न बज्यो ।सबैजना बसमा चढ्न थाले ।मोटीले पनि अन्तिम गिलास स्वाट्ट पारी। ‘ल हिँड जाम् ।’ पुनःमेरो हात समाती । यो पटक मोटीले मलाई होइन, मैले मोटीलाई डोहो¥याउँदै ल्याएँ ।
शुरुमा बस चढ्दा देखिएका दाहिने झ्यालतिरका जोडी मस्त निदाइरहेका थिए ।अहिले त्यो लिखुरेले केटीको टाउकोलाई आफ्नो फिलामा राखेको थियो ।केटो चाहिँ अगाडिको सिटमा हात सिरानी पारेर घोप्टो परी निदाएको थियो । त्यस केटोको कोटको गोजीबाट इयरफोनले बाहिर चियाइ रहेको थियो ।त्यसले मलाई गिज्याएझैं लाग्यो ।हामी याथावत ठाउँमा बस्यौँ ।
अब बस एकसुरले गुड्न थाल्यो ।बसमा गीत पनि बजेको थिएन ।यात्रुहरूको कल्याङबल्याङ थिएन । शायद सबैजना एकाएक थाकेर चुपचाप छन् ।क्षणक्षणमा बजिरहने पट्यारलाग्दो हर्न पनि अहिले बजेको छैन ।मात्र बस गुडेको एकसुरको आवाज छ ।बसभित्र मधुरो प्रकाश छ । टाढा–टाढा जुनकिरीजस्ता बत्तीहरू बलेको देखिन्छ ।
म सँगैकी मोटी निदाएजस्तो गरिरहेकी थिई । त्यसले मेरो कुममा टाउको अड्याई ।मैले अर्को छेउको जोडीलाई झल्यास्स सम्झेँ । ‘शुरुमा टाउको थामिदिनुपर्ने त्यसपछि काखमा सुताउनुपर्ने ।हैट् !यत्री मोटीलाई रातभर म कहाँ सुताउनु सक्छु ।’यति सोचेर मैले आफ्नो कुम हटाएँ ।
‘अप्ठ्यारो भयो भाइ?’ मोटी लरबर स्वरमा बोली र अगाडिको सिटमा ढल्किई ।
‘मोरी भाइ पनि भन्छे अनेक हर्कत पनि गर्छे,’ मनमनै मुर्मुरिँदै थिएँ ।
‘ए भाइ, निद्रा पुगेन?उठ !’
आँखा खोलेर हेरेँ ।बसमा कोही पनि यात्रु थिएनन् ।त्यो झ्याप्ले केटो बस सफा गर्दै थियो ।उज्यालो भएकै थिएन ।यसो हातको घडी हेरेँ ।भर्खर ४ बजेको थियो ।टाउको दुखिरहेको थियो ।आँखा पोलिरहेको थियो ।म सपनाको बिस्कुन फिँजाइएको शहरमा आइपुगेको थिएँ ।
हो, अब मैले उठ्नुपर्छ । सपनाको बिस्कुन उठाउन ।मैले राखेको ठाउँबाट झोला झिक्न खोजेँ ।भेटिनँ ।झसङ्गै भएर सिटबाहिर निस्कँदा पो देखेँ ।मोटीकेटीको ठाउँमा मेरो झोला खिस्रिक्क परिरहेको थियो ।झोला खोलेर हेरेँ ।झोलाभित्रको सबै सामान सुरक्षित थियो, तर खाजाको पोको थिएन ।

 

 

 

प्रतिक्रिया दिनुहोस

मोरङको निगुरो काठमाड ...

बेलबारी: मोरङको पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फको बनमा पाइने निगुराको माग काठमाडौँमा समेत बढ्न ...

शिवधारा–दुधपोखरी ...

  श्रावण लागे पछि देवताहरु पनि हिमाल तिर लाग्छन् भनिन्छ । विशेषता श्रावण महिनामा भगवान शिवको प ...

नयाँ वृन्दावन गाैसला ...

माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गाैसलामा गङ्गा अारतीकाे ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक ब्युरोः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन ब्युरोः कृष्ण बहाब भट्टराई
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved