इटहरीः यस साताको सेयर कारोबारमा बैंकिङ समूहका कम्पनीका बहार आएकाले नेप्से बढ्छ र राहत हुन्छ भनी लगानीकर्तामा आत्मविश्वास बढेको छ ।
सूचक झिनो अङ्कले बढे पनि कारोबार रकममा गिरावट नआएको, उच्च कारोबार गर्ने १० कम्पनीमा एउटा बीमा र अरु बैंक हुनु तथा सेयर सङ्ख्या र कारोबार सङ्ख्यामा पनि बैंकहरू नै अघि देखिएकाले लगानीकर्ता बजारप्रति विश्वस्त बनेका हुन् । यद्यपि ३÷४ दिनको कारोबारबाट नेप्सेको गति पत्ता नलाग्ने विश्लेषकहरू बताउँछन् ।
नेप्से सूचक मङ्गलबार ३.९८ अङ्कले बढेर १२१०.२४ अङ्कमा रोकिएको छ । समग्रमा बजार ०.३३ प्रतिशतले बढेकोे हो । कुल १ सय ७२ कम्पनीको ५२ करोड ७५ लाख ३३ हजार ८ सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ । मङ्गलबार १७ लाख ७५ हजार २२ कित्ता सेयर ५ हजार ८ सय ७ पटक किनबेच भएका थिए ।
६ समूहको सूचकमा हरियाली
१० वटा समूहको सेयर कारोबार भएकोमा ६ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै होटल समूहको सूचक ०.८७ प्रतिशतले बढ्दा फाइनान्स समूह ०.०३ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै, जलविद्युत समूह सबैभन्दा धेरै ०.७० प्रतिशतले तल झर्दा जीवन बीमा कम्पनी ०.०१ प्रतिशते मात्रै झरेको छ ।
इन्भेस्टमेन्टको संस्थापकको बढी रकमको कारोबार
कारोबार रकममा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । सो कम्पनीको १० करोड १८ लाख ८९ हजार ८ सय ६० रुपैयाँको सेयर किनबेच भएको थियो । एनआइसी एशियाको ३ करोड ३४ लाख ९९ हजार ४ सय रुपैयाँको र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ६८ हजार १ सय ९६ रुपैयाँको सेयर किनबेच भएको थियो ।
सेयर सङ्ख्यामा पनि इन्भेस्टमेन्टकै संस्थापक
मङ्गलबार नेपाल इन्भेस्टमेन्टको संस्थापक सेयरको सबैभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । सो कम्पनीको १ लाख ७५ हजार ६ सय ७२ कित्ता सेयर किनबेच भएका थिए । कुमारी बैंकको १ लाख १४ हजार ४ सय ६ कित्ता र लक्ष्मी बैंकको १ लाख ९ हजार ४ सय ५१ कित्ता सेयर किनबेच भएका थिए । अन्य कुनै पनि कम्पनीको सेयर सङ्ख्याले लाखको अङ्क टेकेन ।
कारोबार सङ्ख्यामा लक्ष्मी
एभरेष्ट बैंकसँग मर्ज हुने हल्लाका कारण लक्ष्मी बैंकको धेरै पटक सेयर कारोबार भयो । लक्ष्मीको ४ सय ५ पटक कारोबार हुँदा एनआइसी एशियाको २ सय ७६ पटक र कुमारी बैंकको २ सय ५७ पटक कारोबार भयो ।
काबेलीको मूल्य धेरै बढ्यो
काबेलीको सेयरमूल्य ९.२६ प्रतिशतले बढ्दा एभरेष्ट बैंकको प्रिफेरन्स सेयरको मूल्य ७.९३ प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकको सेयरमूल्य ५.३७ प्रतिशतले बढेको छ ।
गुमाउनेमा फाइनान्स बढी
बजार बढे पनि बढी सम्पत्ति गुमाउनेमा फाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् । अरुण काबेली हाइड्रोको सबैभन्दा धेरै ३.१९ प्रतिशतले मूल्य घट्दा गोर्खाज् फाइनान्सको २.६१, सेन्ट्रल फाइनान्सको २.४८ र हाथवे फाइनान्सको २.४२ प्रतिशतका दरले मूल्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण भने १४ खर्ब ४० अर्ब कायम भएको छ ।