धरानः तीन दशकदेखि साउनको प्रत्येक सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन तीर्थालुहरूको भीड लाग्ने गरेको छ । यस वर्ष भने साउन १ गतेदेखि हरेक दिन जल चढाउने गरिएको छ ।

यसै क्रममा सप्तकोशी नदीबाट जल ल्याई धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउन धरान आसपासका मात्रै नभई पश्चिम नेपालदेखिका भक्तजन आएका छन् । पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार पश्चिमका बाँके, बर्दिया र पर्सा जिल्लाबाट पनि भक्तजन आएका थिए ।

तेस्रो सोमबार मन्दिरमा जल चढाउन आउनेको सङ्ख्या करिब १५ हजार पुगेको थियो । जसमा काठमाडौं, भक्तपुर र रुपन्देहीदेखिका भक्तजन पनि आएका थिए ।

भक्तजनको भीड बढ्दै गएकाले आइतबार रातिदेखि नै पूजाआजाका लागि मन्दिर खुला गर्न थालिएको छ । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीका अनुसार आइतबार रातिदेखि सोमबार साँझ ६ बजेसम्म भक्तजन लाइनमा बसेर जल चढाएका थिए । भारतको सिलीगुढी र दार्जिलिङबाट समेत भक्तजन आएका थिए ।