इटहरीः गत आर्थिक वर्षमा सुनसरीमा अभद्र व्यवहारसम्बन्धी धेरै उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अभद्र व्यवहारसम्बन्धी उजुरी धेरै दर्ता भएका छन् । ३ सय ४२ ओटा त्यस्ता उजुरी परेकामा ४ सय ४८ पुरुष र १९ जना महिला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधसम्बन्धी १ सय ८१ ओटा मुद्दा दर्ता भएका थिए । सो अपराधमा संलग्न २ सय ८९ जना पुरुष र ६ जना महिला पक्राउ परेका थिए । चोरी मुद्दामा १ सय ६५ उजुरी दर्ता हुँदा ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ सय २ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरेको थियो ।

यौन अपराध पनि उल्लेख्य
यौन अपराधमा पक्राउ पर्नेको सङ्ख्या पनि सुनसरीमा उल्लेख्य रहेको छ । १ वर्षको अवधिमा सुनसरीमा जबर्जस्ती करणी शीर्षकमा १ सय ५ ओटा मुद्दा दर्ता भएका थिए । सो मुद्दाअन्तर्गत प्रहरीले १ महिला र ८३ जना पुरुषलाई पक्राउ गरेको थियो ।

त्यस्तै, जबर्जस्ती करणी उद्योगअन्तर्गत २२ ओटा मुद्दा दर्ता हुँदा १५ जना पुरुष पक्राउ परेका थिए । बाल यौन दुराचारमा भएका ३ ओटा उजुरीका आधारमा प्रहरीले ५ जना पुरुषलाई पक्राउ गरेको थियो । सार्वजनिक स्थानलमा यौनजन्य क्रियाकलाप गर्ने ३ जना महिला र ३ जना पुरुष पक्राउ परेका थिए । सो शीर्षकमा एउटा मुद्दा दर्ता भएको थियो । अपहरण गरी जबर्जस्ती करणी शीर्षकमा दर्ता भएको एउटा मुद्दामा १ जना पुरुष पक्राउ परेका थिए ।

सवारी ज्यानसम्बन्धी ८७ उजुरीमा ७० पुरुष र सवारीबाट अङ्गभङ्ग शीर्षकका १० उजुरीमा ८ जना पुरुष पक्राउ परेका थिए । साइकलको ठक्करबाट मृत्यु भएको आरोपमा परेको उजुरीमा १ जना पुरुष पक्राउ परेका थिए ।

अपराधमा महिलाको सङ्ख्या पनि बढ्दै
आपराधिक क्रियाकलापमा संलग्न हुनेमा महिलाको पनि ठूलै सङ्ख्या रहने गरेको पाइएको छ । कर्तव्य ज्यान मुद्दाका २७ उजुरीमा ४ महिला र ३४ जना पुरुष पक्राउ परेका थिए ।

मानव बेचबिखनसम्बन्धी १९ ओटा मुद्दामा २८ जना पुरुष र ९ जना महिला पक्राउ परेका थिए । मानव अपहरण तथा शरीर बन्धक शीर्षकमा परेका ७ ओटा उजुरीमा ३ जना महिला र ७ जना पुरुष पक्राउ परेका थिए । केही सार्वजनिक अपराधसम्बन्धी ६६ उजुरीमा ५ महिला र ६१ पुरुष पक्राउ परेका थिए ।

नागरिकतासम्बन्धी १० उजुरीमा ४ जना महिला र ९ जना पुरुष पक्राउ परेका थिए ।

पुरुषमात्रै पक्राउ परेका मुद्दा
जिल्ला प्रहरी कार्यालयका अनुसार केही मुद्दामा पुरुष आरोपीमात्रै पक्राउ परेका छन् ।

डाका शीर्षकका ७ मुद्दामा २२ जना पुरुषमात्रै पक्राउ परेका छन् । मोटरसाइकल चोरी शीर्षकका ३ मुद्दामा ११ जना पुरुष पक्राउ परेका छन् ।

ठगी शीर्षकका ३९ मुद्दामा ४७ जना पुरुष र जुवा शीर्षकका ११ मुद्दामा ८१ जना पुरुष पक्राउ परेका छन् । कालो बजारी गरेको अभियोगमा परेको एउटा मुद्दामा २ जना पुरुष र सरकारी छाप दस्तखत कीर्ते शीर्षकका ७ मुद्दामा २१ जना पुरुष पक्राउ परेका छन् । नक्सा कीर्ते गरिएको भनी परेको एउटा मुद्दामा १ जना र लागूऔषध तथा हातहतियार खरखजाना शीर्षकको २ ओटा मुद्दामा ४ जना पुरुष पक्राउ परेका छन् ।

चन्दा सम्बन्धी एउटा उजुरीमा ९ जना पुरुष पक्राउ परेका छन् । बिस्फोटक पदार्थसम्बन्धी ५ ओटा मुद्दामा ६ जना पुरुष, कुटपिट अङ्गभङ्ग शीर्षकका ३ ओटा मुद्दामा ३ जना पुरुष र हातहतियार खरखजनासम्बन्धी ९ ओटा मुद्दामा १७ जना पुरुष पक्राउ परेका छन् । चौपाया चोरीसम्बन्धी ३ ओटा मुद्दामा ३ जना पुरुष पक्राउ परेका छन् ।

महिलामात्रै पक्राउ परेका मुद्दा
प्रहरीका अनुसार केही मुद्दामा भने महिलामात्रै पक्राउ परेका छन् । गर्भ संरक्षणविरुद्धको कसुर शीर्षकका २ ओटा मुद्दामा ३ जना महिला पक्राउ परेका छन् । जातीय भेदभाव तथा छुवाछुत मुद्दामा १ जना महिला पक्राउ परेकी छिन् ।

विवाहसम्बन्धी मुद्दा
बहुविवाहसम्बन्धी ३२ मुद्दामा २६ जना पुरुष र १९ जना महिला पक्राउ पर्दा बालविवाहसम्बन्धी मुद्दामा २ जना पुरुष पक्राउ परेका छन् ।

अन्य मुद्दा
सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा १ सय ७४ जना पुरुष र ७ जना महिला पक्राउ परेका छन् । पशुपंक्षीसम्बन्धी कसुरका ६ ओटा मुद्दामा १२ जना पुरुष र १ जना महिला पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्योग शीर्षकका ५५ ओटा मुद्दामा ७० जना पुरुष र १ जना महिला पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी ४६ मुद्दामा २१ जना पुरुष र ३ जना महिला पक्राउ परेका छन् ।

लिखत छाप कीर्तेविरुद्ध परेको उजुरीमा भने कोही पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।