धनकुटाः पर्यटकीय नगरी धनकुटाको भडेटारमा निजी क्षेत्रले स्काइ वाक निर्माण गर्न चासो देखाएको छ ।
काठमाडांैको कमलादीस्थित वन्डर नेपालले सिसाको पुल अर्थात स्काइ वाक निर्माण गर्न चासो देखाएको हो । होटल एसोसिएसन भेडेटारसँगको सहकार्यमा वन्डर नेपालले स्काइ वाक निर्माण गर्न चासो देखाएको हो । स्काइ वाक निर्माणको लागि सो समूहले चाल्र्स प्वाइन्टसहित अन्य ३ स्थान हेरेको छ । गाउँपालिकाले अध्ययनको अनुमति दिए उपयुक्त स्थान छनोट गरी डीपीआर तयार गर्ने तथा प्रदेश सरकारले निर्माणको अनुमति दिए भेडेटार आसपास निर्माण गरिने कम्पनीका इञ्जिनियर आकर्षण पोख्रेलले बताए ।
भेडेटारमा पर्यटक बढी आउने भएकाले नयाँ गन्तव्य निर्माणको लागि चासो देखाएको पोख्रेलको भनाइ छ । यता, भेडेटारका पर्यटन व्यवसायी पनि स्काइ वाक निर्माणको लागि सहयोग गर्न आफूहरू तत्पर रहेको बताउँछन् ।
होटल एसोसिएसन भेडेटारले बुधबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्काइ वाक निर्माणमा सहयोग गर्न आग्रह गरेको भेडेटारका होटल व्यवसायी लीलाराज लावतीले बताए ।
यता, साँगुरीगढी गाउँपालिकाले भने आवश्यक छलफल गरी निर्णय लिने वताएको छ । चीनमा प्रख्यात रहेको स्काइ वाक नेपालको लागि भने नयाँ हो । यो कम्पनीले काठमाडांैको कमलादीमा नेपालकै पहिलो स्काइवाक टावर निर्माण शुरु गरेको जनाएको छ ।