इटहरीः उदयपुरकाे बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ति) ले नगरको विकासका लागि एग्रोटुरिज्म महत्त्वपूर्ण भएको भन्दै विविध योजना बनाएको बताएका छन् । प्रदेशपोर्टलसँग कुरा गर्दे थापाले एग्रिकल्चर सेक्टरको विकासका लागि आफुुले जग्गा दिने र ठुलो खेती गर्न चाहनेका लागि विशेष सुविधा दिने तयारी गरिरहेको बताए ।

प्रशस्तै सार्वजनिक जग्गा भएको बताएका थापाले अनुत्पादक भएर त्यसै खेर गइरहेको जमिनमा व्यवसायीक खेती गर्न चाहनेलाई सस्तो दरमा लिजमा दिने र मार्केट खोज्दिनका लागि समेत नगरपालिका तत्पर रहेको बताए । उनले नगरपालिकाले क्षेत्रमा कुनै उद्योग सञ्चालन गर्न आए विशेष सुविधा दिने तयारी रहेको बताए । कोसी किनारामा रहेको हजारौँ विगाहा जमिन त्यसै खेर गइरहेको भन्दै त्यहाँ अत्याधुनिक खेती गरिए एग्रोटूरिज्मको विकास हुनेमा शङ्का नभएको दाबी गरे । 

मेयर थापाले नगरले आर्थिक विकासका लागि कृषि र पशुपालनको विकास, पर्यटन विकास, उद्यागको विकास, सामाजिक विकास र पूर्वाधाको विकासलाई मुख्य लक्ष्य लिएको जानकारी दिए । पर्यटकीय क्षेत्रको विकासका लागि नगरले वेलका भित्रका २२ गन्तव्य पहिचान गरिसकेको र सोहिअनुसार पूर्वाधार विकासमा जोड दिइएको बताए ।

प्याराग्लाइडिङको सम्भावना पछिको व्यवसायीक उडानलाई आवश्यक पर्ने सडक निर्माण देखिहात्ति सफारी, अर्ना भिजिटिङ, विभिन्न स्थानमा पिकनिक स्पट र पार्क निर्माणलाई महत्त्वका साथ अघि बढाइएको जानकारी दिए । बेलका नगरपालिकाले वडा नम्बर ८ र ७ लाई पर्यटनको हबको रूपमा विकास गरिएको बताए । सप्तकोशी नदी नजिक भएको हुँदा त्यहाँको मुख्य आकर्षण र्याफ्टि र बोटिङले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगेको भन्दै पर्यटकीय गतिविधि बढेको उनको भनाइछ ।