भडेटारः पूर्वको पर्यटकीय क्षेत्र भेडेटारका व्यवसायीले विद्युत्को प्रशारणलाइन विस्तारले पर्यटकीय सौन्दर्य गुुम्ने खतरा रहेको गुनासो गरेका छन् । आज भेडेटार पुगेका विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई व्यवसायीहरूले भेटेर समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
प्राधिकरणले ३२ हजार र ११ हजार केभी लाइन विस्तारका लागि टावर बनाउने क्रम जारी राखेको छ । यसले भेडेटार क्षेत्रको साहसिक पर्यटनको पाटो ओझेलमा पर्ने व्यवसायीको चिन्ता छ । प्रदेश एकका पर्यटन व्यवसायी एवं म भेडेटार होटेल एसोसिएनका अध्यक्ष जितेन्द्र रुम्दालीले साहसिक पर्यटन अतर्गतका हेलिकोप्टर राइडिङ, प्याराग्लाइडिङ र निर्माणाधीन अवस्थामा रहेको जिप फ्लाइङलाई असर पुग्ने बताए ।

अर्का पर्यटन व्यवसायी लिलाराज लावतीले पर्यटकीय क्षेत्रकाे सम्भावनालाइ अाेझेलमा पार्ने काम गर्न नहुने भन्दै सराेकारवालालाइ बेलैमा सचेत गराइएकाे जानकारी दिए ।
भेटमा घिसिङले सहज वातावरण बनाउन आफू सकारात्मक भएको भन्दै यस बारे सोचिने प्रतिक्रिया दिएका छन् । त्यस्तै मुख्यमन्त्री राई भने भेडेटारको समग्र पर्यटन क्षेत्रको विकास बारे आफैआफ चिन्तित भएको बताएका छन् ।