बेलबारीः पर्यटन वर्ष २०२० नजिकिदै जाँदा प्रचारप्रसारमा ध्यान दिन थालिएको छ । पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्ने तथा डकुमेन्ट्री निर्माण गर्ने तथा अन्य प्रविधि अपनाउन थालिएको छ । स्थानीय सरकारले आ–आफनो पर्यटकीय क्षेत्रको प्रचारका लागि काम गर्न थालेका छन् ।

निजी तथा सरकारी कार्यालयको लेटर प्याडमा नै भ्रमण वर्ष २०२०को लोगो राख्न थालिएको छ भने मायाको चिनो दिँदा समेत पर्यटकीय क्षेत्रको फोटो दिन थालिएको छ । भ्रमण वर्षको लोगोसमेत सामाजिक सञ्जालमा राख्न थालेका छन् ।

सामाजिक संस्थादेखि सरोकारवालाहरूले चासो दिइरहेका छन् । आफ्नो ठाउँको पर्यटकीय क्षेत्रको प्रचार गर्न थालिसकिएको लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले बताए । उनले पर्यटन वर्षलाई आय आर्जनको वर्षका रूपमा समेत हेरिने गरेको बताए ।

बेलबारी जेसीजले जेसीज सप्ताह कार्यक्रममा पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्दै सरसफाइ गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पर्यटकीय क्षेत्रमा कार्यक्रम गरिएको बेलबारी जेसीजका निवर्तमान अध्यक्ष राजन प्रसाईले बताए ।

पर्यटकलाई मौलिक प्रस्तुति दिने विषयमा ध्यान पु¥याउने हो भने सरकारले लिएको लक्ष्य भन्दा बढी बाह्य पर्यटक नेपाल भित्र्याउन सकिने स्थानीय बासिन्दाको भनाइ रहेको छ । गुन्द्रक, ढिँडोदेखि तोङवा र मोहीसम्मका खाने कुरा खुवाउने हो भने पर्यटकको लर्को नेपालमा लाग्ने स्थानीय माधवराज थापाको बुझाइ रहेको छ ।

आर्थिक विकासको मेरुदण्डकोरूपमा पर्यटनलाई लिएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले बताए । पर्यटन वर्र्षलाई मध्यनजर गर्दै नगरसभाबाटै होमस्टे खोल्नेलाई ५० प्रतिशत राजस्व छुट गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले प्रचारप्रसारका लागि डकुमेन्ट्रीसमेत निर्माण गर्ने बताए ।

मोरङमा मात्रै दर्जनौ पर्यटकीय क्षेत्र रहेका छन् । पर्यटकीय सम्भावना बोकेका धेरै सम्पदा ओझेलमा छन् । प्रचार प्रसार नहुँदा विराटराजाको दरबार, धनपाल गढी, राजारानी पोखरी, धनपाल थान, सुनवर्षी पोखरी, बाघझोडा पोखरी, सप्तकन्या गुफा ओझेलमा छन् । महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसिना सिमसार, मण्ठ पोखरी, ध्वजे डाँडा, बेतेनी ताल तथा मुख्य पर्यटकीय क्षेत्र बेतना सिमसार जेफाले र सिर्जना पार्क लगायतका पर्यटकीय क्षेत्र मोरङमा रहेका छन् ।