ताप्लेजुङः खानेपानी तथा बासस्थानको अभावले जङ्गली जनावर लोप हुन थालेपछि ताप्लेजुङका सामुदायिक बनमा कृत्रिम पोखरी निर्माण गर्न थालिएको छ । पछिल्लो पटक जिल्लाका ८ स्थानमा कृत्रिम पोखरी निर्माण भएका छन् । यहाँका क्रियाशील सामुदायिक बनसँगको साझेदारीमा हिमाली संरक्षण मञ्चले रेड पाण्डा नेटवर्क र तीनजुरे, मिल्के, जलजले क्षेत्र संरक्षण आयोजनासँग सहकार्य गरी पोखरी निर्माण गरेको हो ।

सो संस्थाले सिरिजंघा गाउँपालिकाको मामाङ्खे, सिकैचा र फुङलिङ नगरपालिका स्थित फावाखोलामा पोखरी निर्माण गरेको छ । यस्तै, मिक्वाखोला गाउँपालिकाको पापुङमा ४ ओटा र मैवाखोला गाउँपालिकाको साँघुमा समेत पोखरी निर्माण भएको छ । वन्यजन्तु विस्थापित हने मात्रै नभई मर्नेसम्मको समस्या देखिएपछि कृत्रिम पोखरी निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । उनका अनुसार सङ्खुवासभाको चैनपुरमा र तेह्रथुमको मेन्छ्यायेम नगरपालिकामा समेत पोखरी निर्माण भएको छ ।

यसअघि, ताप्लेजुङका २ स्थानमा पोखरी निर्माण भएको थियो । पोखरी निर्माणपछि ती क्षेत्रमा राम्रो परिणाम देखिएपछि थप पोखरी बनाइएको र आगामी दिनमा समेत पोखरी निर्माणका कार्यक्रमलाई लागू गरेर लैजाने योजना गरेको राईको भनाइ छ । पछिल्लो समयमा अवैज्ञानिक तवरले भइरहेको विकासे गतिविधिले पानीका मुहान सुक्दै जाँदा पशु प्राणीमा समेत पानीको अभाव देखिन थालेको वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ ।

भौगोलिक रूपले विकट ताप्लेजुङमा रेड पाण्डा, हिउँ चितुवा, बाघ, भालु, कस्तुरी, नाउर लगायतका वन्यजन्तु पाइन्छ । चोरी सिकारीको चपेटामा पर्दै आएका लोपोन्मुख वन्यजन्तु र अवैज्ञानिक तवरले भइरहेका विकास निर्माणका गतिविधिले समेत समस्यामा पर्दै आएको सरोकारवाला बताउँछन् ।