विराटनगरः कवि लक्ष्मी पोखरेलद्वारा लिखित ‘पत्रैपत्रमा तिमी’ कविता सङ्ग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको कविता सङ्ग्रह विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि विष्णुविभू घिमिरे, डा. विमल कोइरालालगायतले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले समीक्षा गरेका थिए । समालोचक ढुङ्गेलले पोखरेलको कविता सङ्ग्रहले समसामयिक विषयमा सशक्त रूपमा आवाज उठाएको बताए ।

देशको वर्तमान अवस्थालाई बुझ्न कवि पोखरेलको ‘पत्रैपत्रमा तिमी’ पढ्नैपर्ने उनको भनाइ थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि विष्णुविभू घिमिरे, डा. विमल कोइराला, समालोचक दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, सनातन धर्म सेवा समितिका अध्यक्ष शिवदत्त भट्टराई, राजनीतिज्ञ महेश रेग्मी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले विमोचित कृतिका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कवि भरत गुरागाईंले सङ्ग्रहभित्रको कविता वाचन गरे । सङ्ग्रहमा विभिन्न शीर्षकका ४३ ओटा कविता छन् । प्रतिष्ठानले ७६ औं कृतिका रूपमा पोखरेलको कविता सङ्ग्रह प्रकाशित गरेको हो । यसअघि प्रतिष्ठानले ७५ ओटा विभिन्न विधाका कृतिहरू प्रकाशित गरिसकेको छ । प्रतिष्ठानले प्रकाशित गरेको कृतिले मदन पुरस्कार, प्रतिभा पुरस्कारलगायतका विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।