धरानः धरानको कला साहित्य प्रवद्र्धनका लागि दुई वर्ष अघिदेखि धरानमा क्रियाशील धरान प्रज्ञा प्रतिष्ठानले प्रज्ञा दृष्टि मुखपत्र विमोचन गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेका विभिन्न कार्यक्रमको दस्तावेजको रूपमा प्रज्ञादृष्टि मुखपत्र प्रकाशन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीसहित अन्य अतिथिबाट संयुक्त रूपमा पुस्तकको विमोचन भएको हो । धरान प्रज्ञा प्रतिष्ठानको वार्षिक मुखपत्रको रूपमा वर्षेनी सो मुखपत्र प्रकाशन गरिने जनाइएको छ ।

धरान उपमहानगरपालिकाले धरानको साहित्य कला, रङ्गमञ्च लगायतका विधाको प्रवद्र्धनका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको थियो । संस्थागत रूपमा भएका गतिविधि मुखपत्रमा समेटिएका छन् । ६० पेजको मुखपत्रमा स्वर्गीय मेयर तारा सुब्बाको सम्झनासहित दुई वर्षमा भएका नाटक प्रतियोगितामा सहभागी नाटक, चित्रकला प्रतियोगिताका तस्बिरलगायतका गतिविधि प्रकाशित भएका छन् ।