धरानः ‘सहभागी बनौँ, अवलोकन गरौँ’ भन्ने नारासहित शनिवारबाट धरानमा तीन दिने इस्ट टुरिजम मार्ट हुने भएको छ । धरान ६ स्थित सिद्धिनेवाः परिषद्को भवनमा हुने मार्टको सबै तयारी पुरा भएको मार्टको आयोजक समितिले बताएको छ ।

नेपाल पर्यटन बोर्डको क्यालेन्डरमा रहेको र प्रदेश १ को पर्यटनको ‘कुम्भमेला’ भनिने मार्टमा तीन देशका साढे दुई सय पर्यटनकर्मीहरू सहभागी हुने मार्ट आयोजक समितिका अध्यक्ष भविश श्रेष्ठले बताए । मार्टमा नेपाल सहित भुटान, भारतका प्रतिनिधिहरू आउने भएका छन् । बङ्गलादेशका प्रतिनिधिहरू भने अन्तिम समयमा आएर आउन नसक्ने जानकारी दिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रदेश १ का चौध जिल्लाका सहित विभिन्न ६० स्टलहरू रहने आयोजकको भनाइ छ । भुटानका ११ जना र भारतका १ सय जना प्रतिनिधिहरू आउने टुङ्गो लागेको र नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूबाट पनि उत्तिकै सहभागी आउने अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘स्वदेशी तथा विदेशी गरेर जम्मा साढे दुई सय हाराहारी प्रतिनिधिहरू आउनु हुनेछ ।’ ४६ लाख हाराहारीको बजेटमा हुने मार्टमा उपस्थित पाहुनाहरूलाई धरान, इटहरी, भेडेटार र विराटनगरका विभिन्न होटलहरुमा राखिने आयोजकले बताएको छ ।

मार्टमा प्रदेश १ का पर्यटकीय खुराकहरूको बिक्री, बान्डिङ र विज्ञापन गरिने मार्टका अध्यक्ष भविश श्रेष्ठले बताए । उनले भने, ‘काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी आदिको तुलनामा पछि परेको प्रदेश १ को पर्यटनमा मार्टले धेरै भूमिका खेल्नेछ ।’ गत बर्षबाट धरानमा आयोजना हुन थालेको मार्टको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिवार दिउँसो २ बजे गर्ने आयोजकले बताएको छ । इस्ट टुरिजम मार्टको पहिलो संस्करण धरानमा गत वर्षको जेठ २४, २५ र २६ गते भएको थियो ।