इटहरीः गतबर्षबाट धरानमा हुन थालेको प्रदेश १ को सबैभन्दा ठुलो पर्यटन मेला ‘इस्ट टुरिजम मार्ट’ आज उद्घाटन भएको छ । तीन दिनसम्म चल्ने र नेपाल सहित भारत तथा भुटानका सहभागी आएको मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे ।
पानसमा बत्ती बालेर आज साँझ पाँच बजे धरानको सिद्धिनेवा परिषद्को भवनमा मेला उद्घाटन भएको हो । मेलामा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैत, सभामुख प्रदीप भन्डारी, उपसभामुख सरस्वती पोखरेल, धरानकि कार्यवाहक मेयर मञ्जु भण्डारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत उपस्थित थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले प्रदेश १ सरकारले भ्रमण वर्षको लागी देखिने कामहरू गर्ने बताए । प्रदेश १ सरकारले पर्यटनका पूर्वाधारमा काम गर्ने पनि मुख्यमन्त्री राईले बताए ।
मार्टको माध्यमबाट अघिल्लो बर्षपनि धेरै स्वदेशी तथा विदेशी सहभागी भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले मार्टबाट प्रदेश १ चिनिएको बताए । प्रदेश १ का गन्तव्यहरुवको बजारीकरण र ब्रान्डिङलाइ मार्टले सहयोग गरेको मुख्यमन्त्री राईले बताए । प्रदेश सरकारले समृद्धिको आधार पर्यटनलाई पनि बनाएको भन्दै पर्यटन क्षेत्रमा प्रदेश सरकारले ध्यान दिने बताए ।
पर्यटनमन्त्री कुसियैतले प्रदेश १ मा नेपाल भ्रमण वर्ष २०२० को समितिको बैठक र सचिवालय तय गरेर पर्यटनका कामहरू अगाडि बढाउने बताए ।प्रदेश १ ले आफूसँग भएका धरोहरहरूलाई सजावट गर्न र प्रचार गर्न नसकेको पर्यटन मन्त्री कुसियेतले तर्क गरे ।
भ्रमण बर्षलाइ सफल बनाउन प्रत्येक जिल्लामा समिति बनाएर काम गर्ने बताउँदै कुसियेतले भ्रमण वर्ष २०२० लाई भव्यताकासाथ सफल बनाउने बताए ।
यस्तैगरि, सभामुख प्रदीप भण्डारी, कार्यवाहक मेयर मञ्जु भण्डारी र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले इस्ट टुरिजम मार्टले प्रदेश १ को पर्यटनमा फाइदा पुग्ने चर्चा गरे ।
कार्यक्रममा कोलकता भारतमा मुख्य कार्यालय रहेको गेनवेल लिजर होलिडेजका कार्यकारी अधिकृत मनोज सराफले पनि मन्तव्य राखेका थिए । सराफले प्रदेश १ ले पर्वतारोहण, पदयात्रा, धार्मिक तीर्थाटन र लिजर होलिडेका क्षेत्रहरूमा धेरै काम गर्न सक्ने बताए । तर, त्यसको लागी विश्व स्तरीय सडक, विमानस्थल, होटेल र पर्यटकीय सेवाहरू हुनुपर्ने सराफको भनाइ थियो ।
नेपाल, भारत र भुटानका साढे दुई सय पर्यटन व्यवसायीहरू सहभागी र ६० स्टल भएको मेलामा प्रदेश १ का पर्यटन क्षेत्रको विज्ञापन र ब्रान्डिङ गर्ने इस्ट टुरिजम मार्टका अध्यक्ष भविश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मार्टमा आएका विदेशी पाहुनाहरूलाई उनीहरूको रोजाइ अनुसार प्रदेश १ का हलेसी, कोसी टप्पु देखी गुराँसको राजधानी क्षेत्रसम्म भ्रमण गराउने जानकारी दिए ।